Monday, October 28, 2024

राप्ती नदीका माछा लोपोन्मुख अवस्थामा

दाङ– दाङको गढवा गाउँपालिका–७ सेम्रीकी श्यामपति चौधरी माछा मार्न राप्ती नदीमा जान थालेको वर्षौं भइसक्यो । तर, पहिलेको जस्तो नदीमा माछा पाइन छाडेको उनको अनुभव छ । ‘राप्तामा पहिले पाइने माछा अहिले भेटिदैनन्, त्यहि भएर खेतीमा बढी समय दिन थालेको छु,’ उनले भनिन्, ‘नदीमा गोला हान्छन्, विष हालेर माछा मार्छन् । अहिले माछा भेटिन छाडे।’

कुनै बेला राप्तीको चञ्चल पानीमा भेटिने कतिपय माछा अहिले पाइँदैनन् । माछा लोप हुन थालेको स्थानीय बासिन्दाको बुझाइ छ ।

पानी परियोजनाका जलाधार व्यवस्थापन विशेषज्ञ भाष्करदेव चौधरीका अनुसार राप्तीमा पाइने आधा दर्जन प्रजातीका माछा लोपोन्मुख अवस्थामा पुगेका छन् । पहाडमा रिम नामले चिनिने रैनी नाम गरेको माछा अहिले लोपोन्मुख अवस्थामा पुगेको छ । यो माछा समुन्द्रबाट खेल्दै राप्ती नदीमा आउने गर्छ । अहिले यो माछा देखिन छाडेको छ ।

यस्तै, डिरा, सहर, तीते, कत्ले लगायतका माछा लोपोन्मुख अवस्थामा पुगेको उनले बताए । माछाको वासस्थान नासिँदै जानु, पानीमा विषादीको प्रयोग बढ्नुले माछा लोप हुने अवस्थामा पुगेको बताइन्छ । ‘राप्ती नदीमा पानीको मात्रै घट्दै गएको छ । माछा बस्ने गहिरो रह, सिक्टा पुरिदै गएका छन् । जसले गर्दा माछाको वासस्थान उपयुक्त छैन,’ चौधरीले भने, ‘पानी, माछा र जलचर जीवको संरक्षणको खाँचो छ।’

राप्ती नदीमा तिलोरी, मंगुर, बाम, पढ्नी, टेंगार, चरींगा, बोर्ना, बमघिउली, ठेंड, चिप, सेढरी, सेफखैनी, रैनी, कबला, बैखा, धोंग, मुरला, अंधइ, गिरै, खेक्सी, घेत्ता, बाघे घेत्ता, जिल्फुलवा घेत्ता, धिकरहवा, घेत्ता, झिंगा, ग्रहन, रेंटी, पहरु, साँध, कुकुर झिगा लयताका माछा पाइने गरेका छन् ।

माछा संरक्षण गर्न समूह
पानी परियोजनाले माछाको संरक्षणका लागि राप्ती नदी किनारमा बसोबास गर्ने मछुवाराको समूह गठन गरेको छ । गढवा गाउँपालिकासँग समन्वय गरेर मानव कल्याण तथा बातावरण संरक्षण केन्द्र दाङले गढवामा मंगलबार आयोजना गरेको राप्ती नदीको जलिय जैविक विविधता संरक्षणको माध्यमले दीगो आर्थिक विकास कार्यक्रम परियोजना परिचयात्मक तथा मछुवारा समूह गठन कार्यक्रमको आयोजना गरेको हो ।

गढवा गाउँपालिकाका अध्यक्ष शहजराम यादवको अध्यक्षता एवम् जिल्ला समन्वय समितिका सदस्य देविलाल थारु कुमालको प्रमुख आतिथ्यमा सम्पन्न भेलाले खीमबहादुर वोटेको अध्यक्षतामा १७ सदस्यीय रावा माछा संरक्षण सम्वद्र्धन समूह गठन गरेको छ । उपाध्यक्षमा धनकुमारी चौधरी, सचिवमा श्यामसुन्दर कुमाल, कोषाध्यक्षमा शिउकुमारी चौधरी र अन्य सदस्यमा रहेका छन् । गाउँपालिकाका अध्यक्ष शहजराम यादवले आफ्नो गाउँपालिकाको क्षेत्रमा पर्ने राप्ती नदी र अन्य खोलाहरुमा गोला र विष हालेर माछा मार्नेकार्यलाई नीतिगत रुपमै निषेध गर्ने प्रतिवद्धता जनाए।

कार्यक्रममा पानी परियोजनाका जलाधार ब्यवस्थापन विज्ञ भाष्करदेव चौधरी, गढवा वन तथा वातावरण संरक्षण समन्वय समितिका अध्यक्ष उमाकान्त पन्त लगायतले मन्तव्य व्यक्त गरेका थिए।

मानव कल्याण तथा बातावरण संरक्षण केन्द्र दाङका पानी परियोजना कार्यक्रम प्रवन्ध प्रदीप मज्गैयाँले परियोजनाबारे जानकारी गराएका थिए, भने कार्यक्रमको सहजीकरण फिल्ड संयोजक राममोती चौधरीले गरेका थिए।

ताजा समाचार

सम्बन्धित समाचार