Tuesday, September 24, 2024

‘भद्र’ र ‘रुपासा’ असार २८ मा चीन जाने

काठमाडौं– नेपालले आगामी असार २८ गते एक जोडी एकसिंगे गैंडा चीनलाई उपहार स्वरुप हस्तान्तरण गर्ने भएको छ।

राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका अनुसार ‘भद्र’ र ‘रुपासा’ नाम गरेका ती गैंडालाई विशेष प्रकारको खोरमा राखेर चिनियाँ विमानमार्फत् चीनतर्फ पठाइने छ।

दुर्लभ वन्यजन्तु तथा वनस्पतिको व्यापार महासन्धि (साइटिस) को चिनियाँ टोली बुधबार नै नेपाल आइसकेको छ। ‘उक्त टोली र भेटरिनरीको टोलीले गैंडाको जाँच गरिसकेपछि असार २८ गते चीन पठाइने छ,’ विभागका उपमहानिर्देशक गोपाल भट्टराइले भने।

नेपालले चीनलाई दुई जोडी गैंडा उपहार दिन लागेको हो। एउटा जोडी असार २८ गते पठाइने भएपनि अर्काे जोडी गैंडा साउन पहिलो साता हस्तान्तरण गर्ने तयारी रहेको उनले बताए।साइटिसको टोलीले गैंडाको स्वास्थ्य लगायत अन्य अवस्था बुझ्ने काम गरिरहेको विभागले जनाएको छ।

यसैगरी, दुई जनाको भेटरिनरीको टोली बिहीबार नेपाल आइपुगेको छ। दुबै जोडी गैंडा एकै आर्थिक वर्षमा दिने प्रावधान नभएकाले दुई फरक –फरक आर्थिक वर्षमा चीन पठाउन लागिएको उनले बताए। टोलीले दुई देशको सीमा, भन्सार लगायतमा पनि ध्यान दिएर अवस्था बुझ्ने उपमहानिर्देशक भट्राइले बताए।

उपहार दिएको नेपाली गैंडा चीनको चिमे लाङ पार्क र सांघाई वाइल्ड एनिमल पार्कमा राखीने तयारी भएको अधिकारीहरु बताउँछन् ।

साइटिस टोलीले के –के कुरामा ध्यान दिन्छन्?

– चीन पठाइने गैंडाको उत्पत्तिबारे निक्र्यौल गर्ने

–नेपालले गैंडाका विषयमा तयार पारेको सिर्टिफिकेट जाँच गर्ने

–नेपालको गैंडा हो भनेर प्रत्याभूति गन सक्ने प्रमाण खोज्ने

–चीन र नेपाल साइटिसमा अनुबन्धित देश हो, साइटिसले आफ्नो कुनै पनि वन्यजन्तु आदान प्रदान गर्दा प्रावधान बनाएको हुन्छ, त्यो पुरा भए–नभएको हेर्ने ।

–आदान प्रदानका समयमा स्वास्थ्य स्थिति हेर्ने, ठीक छैन भनेर सजक हुने र अन्तर्राष्ट्रिय मान्यता अनुसार स्वास्थ्य परीक्षण र सूचना जाँच गर्ने।

–आदान–प्रदान गर्दा खोरमा बनाइएका काठबाट बनेका क्रेटहरु परीक्षण गर्ने र ती काठमा पनि कुनै रोग छ, कि छैन परीक्षण गर्ने । काठमा रोगब्याधी भए चीनमा रहेका बोटविरुवामा असर पर्न सक्ने सम्भावना हुन जान्छ।

–नेपालको भन्सार प्रणालीमा के प्रावधान छ, कसरी क्लियरेन्स हुन्छ लगायतका विषयमा पनि व्यवस्था मिलाएर सूचना संकलन गर्ने

ताजा समाचार

सम्बन्धित समाचार