Tuesday, September 24, 2024

राजधानीका विद्यालय : कक्षाकोठा फोहोर, शौचालय दुर्गन्धित

काठमाडौं– ज्ञान आजर्न गर्ने थलो विद्यालयमा सफा, सुन्दर अनि हरियाली वातावरण हुनुपर्ने हो। तर, राजधानी काठमाडौंकै कतिपय सामुदायिक विद्यालयको वातावरण त्यसको ठीक उल्टो छ।

काठमाडौं महानगरपालिकाभित्र सञ्चालित ८९ सामुदायिक विद्यालयको अनुगमन गर्दा ८० विद्यालयले कक्षाकोठाको सरसफाइमा ध्यान दिइएको पाइएन भने शुद्ध खानेपानीको पनि उपलब्धता थिएन् । शौचालय दुर्गन्धित छन्, अनि बगैचासहितको हरियाली पनि छैन।

काठमाडौं महानगरपालिकाको वातावरण व्यवस्थापन विभागका अनुसार ती विद्यालयले फोहोर व्यवस्थापन नगरेकोे, जथाभावीफोहोर फालेको, सरसरफाइ नभएको, शौचालय फोहोर भएको, छात्राका लागि विद्यालयमा स्यानिटरी प्याडको व्यवस्था नभएको र हरियाली नभएको पाइएको छ।

८९ विद्यालयमध्ये धुम्रबाराह माद्यमिक विद्यालय, पञ्चकन्या आधारभूत विद्यालय, विश्वनिकेतन माद्यमिक विद्यालयल, महेन्द्रबौद्ध माद्यमिक विद्यालय, प्रभात माद्यमिक विद्यालय, रत्नराज्य माद्यमिक विद्यालय, नन्दीरात्री माद्यमिक विद्यालय र कन्यामन्दिर माद्यमिक विद्यालयले भने फोहोरमैला व्यवस्थापन तथा सरसफाइमा ध्यान दिएको पाइएको थियो ।

यी विद्यालयले विद्यार्थीलाई हरियाली वातावरणमा अध्यापन गराइरहेको पाइएका वातावरण विभागका प्रमुख हरिबहादुर कुँवरले बताए। विभागले विद्यालयको वातावरणीय अवस्थालाई ग्रेडिङ प्रणालीमा छुट्याएको छ। जसअनुसार ‘ए’ पाउने विद्यालय ९, ‘बी प्लस’ पाउने ३६, ‘बी’ पाउने ३० र ‘सी’ पाउने १४ विद्यालय छन्।

राष्ट्रिय आधारभूत विद्यालयकी प्रधानाध्यापक नमिताराज भण्डारीले विद्यालयको पर्याप्त जमिन नहुनु, आर्थिक अभाव जस्ता कारणले विद्यालयलाई वातावरणमैत्री बनाउन नसकिएको गुनासो गरिन्। ‘जमिन छैन, शौचालयको ढल निकास हुँदैन, हामीसँग स्रोतसाधनको कमी छ,’ उनले भनिन्, ‘जसले गर्दा चाहेर पनि विद्यालयलाई वातावरणमैत्री बनाउन सकेका छैनौं।’

काठमाडौं महानगर मेयर विद्यासुन्दर शाक्यले सामुदायिक विद्यालय व्यवस्थापनको जिम्मेवारी स्थानीय तहको पनि भएकाले उत्कृष्ट बनाउन महानगरले प्रयास गर्ने बताए। ‘हामी सामुदायिक विद्यालयलाई सफा सुन्दर र हरियाली बनाउन कुनै कसर बाँकी राख्ने छैनौं,’ उनले भने, ‘निजी विद्यायलयलाई छाडेर सामुदायिक विद्यालयमा पढ्न जाउँजाउँ लाग्ने खालको बनाउनुपर्छ ।’ विद्यालयको फोहोरमैला व्यवस्थापन गर्न तथा विद्यालयलाई हरियाली बनाउन महानगरले सहयोग गर्ने उनले बताए।

ताजा समाचार

सम्बन्धित समाचार