Monday, September 23, 2024

गोदावरी नगरपालिकाको प्राथमिकतामा परेन वन, वातावरण

काठमाडाैं–ललितपुरको गोदावरी नगरपालिकाले आगामी आर्थिक वर्ष २०७५-०७६ का लागि विनियोजन गरेको बजेटमा वन तथा वातावरण क्षेत्रलाई निकै कम महत्व दिइएको छ।

नगरपालिकाले आगामी आर्थिक वर्षका लागि ७८ करोड २२ लाख १५ हजार रुपैयाँको बजेट विनियोजन गरेकोमा वन तथा वातावरणमा ५० लाख रहेको छ।

नगरपालिकाका प्रमुख प्रशाशकीय अधिकृत विश्वराज मरासैनीका अनुसार ढल तथा फोहोर व्यवस्थापनका लागि ५० लाख, सार्वजनिक शौचालयमा २५ लाख, राजकुलो मर्मत तथा सम्भारमा २० लाख, नगरभित्रका पोखरी संरक्षण र नगर उद्यान पार्क निर्माणका लागि ३५ लाख रुपैयाँ विनियोजन गरिएको छ।

गोदावरी नगरपालिका क्षेत्रमा हरियाली प्रवद्र्धन गर्न र वातावरण संरक्षण गर्न सरोकारवाला निकायसँग आवश्यक समन्वय गरी कार्यक्रम सञ्चालन गर्ने योजना अगाडि सारिएको छ।
नगरपालिकाको कुल भू–भागको ४९.२९ प्रतिशत कृषि योग्यजमिन र ३९.०८ प्रतिशत जमिन वनक्षेत्रले ओगटेको छ।

प्राथमिकताका विषय यी हुन्
आगामी आर्थिक वर्ष गोदावरी नगरपालिकाका ढुङ्गा, गिट्टी, स्लेट, मार्बल, बालुवा खानी तथा क्रसर र फिरफिरे उद्योग सञ्चालन क्षेत्रको सम्भाव्यता अध्ययन गरिने मेयर गजेन्द्र मर्हजनले जानकारी दिए। गैरकानूनी रूपमा सञ्चालनमा रहेका खानी, क्रसर, फिरफिरे उद्योग व्यवसाय बन्द गरिने उनले जनाए।

खुल्ला दिसामुक्त घोषणा भएको गोदावरीले ‘गोदावरी वर्ष सरसफाइ अभियान’ सञ्चालन गर्ने भएको छ। यसैगरी, गोदावरी, कोड्कु, कर्मनाशा र नख्खुखोलामा नियमित सरसफाइ कार्यक्रम सञ्चालन गरिने भएको छ।

भू–कम्पबाट क्षतिग्रस्त सार्वजनिक सम्पत्ति, सम्पदा, मठ–मन्दिर मूर्तिलाई व्यवस्थित गरी गोदावरी सङ्ग्रहालय निर्माण गर्न सम्भाव्यता अध्ययन र स्थानको खोजी कार्य शुरु भएको छ। नगरपालिकालाई स्मार्ट सिटीका रूपमा विकास गर्ने लक्ष्यका साथ कार्यक्रम तथा योजना कार्यान्वयन गरिने नगरपालिकाले बताएको छ।

ताजा समाचार

सम्बन्धित समाचार