Monday, September 23, 2024

प्रधानमन्त्रीद्वारा संसदमा चीन भ्रमणको ब्रिफिङ : दीर्घकालीन खाका तयार

काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो चीन भ्रमणका बारेमा मंगलबार संघीय संसदलाई जानकारी गराएका छन्।

प्रम ओलीले चीन भ्रमणका क्रममा भएका रेलमार्ग, जलस्रोत, ऊर्जा, भौतिक पूर्वाधार, पर्यटन लगायतका सम्झौता समझदारीले दीर्घकालीन खाका तयार भएको बताए।

प्रम ओलीले भने, ‘केरुङ–काठमाडौं रेलमार्गका लागि चिनियाँ अनुदानमा पूर्वसम्भाव्यता अध्ययन गर्ने सहमति भएको छ, जुन इतिहासमा सबैभन्दा महत्वपूर्ण र उचाइँको समझदारी हो।’ रेलमार्गले सीमावारपारका लागि मार्ग प्रसस्त गरेको उल्लेख गर्दै ओलीले काठमाडौं–पोखरा–लुम्बिनी रेलमार्गको आधार तयार भएको बताए।

प्रम ओलीले ९ वटा नदीको बाढी कटान नियन्त्रणका लागि समझदारी पत्रमा हस्ताक्षर भएको जानकारी दिए। सरकारीस्तरमा १३ र निजी तहमा ९ गरेर २२ सहमति भएको उनले संसदलाई जानकारी गराएका थिए।

प्रम ओलीले नेपालले सन् २०२० लाई ‘नेपाल भ्रमण वर्ष’ घोषणा गरिसकेको अवस्थामा पर्यटन प्रवद्र्धनमा सहयोग गर्न चीन सकारात्मक रहेको बताए। उनले चीनको उच्चस्तरबाट चाँडै नै नेपाल भ्रमण हुने अपेक्षा पनि व्यक्त गरे।

विदेश भ्रमणबाट फर्केलगत्तै भ्रमण र सन्धि सम्झौताबारे संसदलाई जानकारी गराउने परम्परा अनुसार प्रम ओलीले संसदमा ब्रिफिङ गरेका हुन्। यसअघि चीन जानुअघि पनि उनले भ्रमण एजेन्डाबारे संसदलाई जानकारी गराएका थिए।

ताजा समाचार

सम्बन्धित समाचार