Monday, September 23, 2024

फेवाताल संरक्षणमा पोखरा महानगरको १५ करोड बजेट

काठमाडौं– पोखरा महानगरपालिकाले फेवाताल संरक्षणका लागि १५ करोड बजेट विनियोजन गरेको छ।

मेयर मानबहादुर जिसीले आगामी आर्थिक वर्ष २०७५-०७६ का लागि प्रस्तुत गरेको बजेटमा फेवाताल संरक्षणको विषय पनि समेटिएको छ। महानगरकाे ६ अर्ब ५३ करोड ६५ लाख रुपैयाँको बजेट आइतबार सार्वजनिक गरिएको हो।

महानगरका सहायक प्रमुख प्रशासकीय अधिकृत यामलाल अधिकारीले महानगरले आगामी आर्थिक वर्षका लागि १२ वटा गौरव योजना घोषणा गरिएको जानकारी दिए। फेवाताल संरक्षणमा १५ करोड बजेट छुट्याइएकाे  उनले बताए।

महानगरले फेवा तथा बेगनासलगायतको ताल संरक्षण, फेवाताल ढल डाइभर्सन, फेवा (बेगनास मोनो रेल सम्भाव्यता अध्ययन, विद्युतीय तारलाई जमिनमुनि व्यवस्थापन तथा रेलिङ निर्माण, किमी सडक कोर सिटीमा स्तरोन्नतिका लागि बजेट विनियोजन गरेको छ।

यसैगरी, पर्यटकीय बसपार्क निर्माण, तालचोक–खुदीको मुहानसम्म चार लेन सडक, सात स्थानमा आधुनिक कृषि पकेट क्षेत्र निर्माण, महानगरपालिका भवन निर्माण, ३० वटा कनेक्टिङ सिटी सडक, फिर्के करिडोर चक्रपथको गुरूयोजना र सिसी टिभी जडान गरी महानगरका १२ वटा गौरव योजना पनि समेटिएका छन्।

महानगरकोे नीति, कार्यक्रम तथा बजेटमा वातावरण, पूर्वाधार र सामाजिक विकासलाई प्राथमिकतामा राखेको छ। महानगरले वातावरण तथा विपद् व्यवस्थापनमा ३५ करोड ५१ लाख विनियोजन गरेको छ।

यसअघि सर्वाेच्च अदालतले फेवाताल अतिक्रमण गरी बनाइएका संरचना हटाउन सरकारका नाममा आदेश जारी गरेको थियो। सर्वाेच्चका न्यायाधीशद्वय ओमप्रकाश मिश्र र सपना मल्ल प्रधानको संयुक्त इजलासले फेवाताल अतिक्रमण गरी निर्माण भएका घर टहरा गैरकानुनी भएको ठहर गर्दै भत्काउन फैसला गरेको थियो।

यसअघि सरकारले गठन गरेको छानबिन समितिले तयार पारेको प्रतिवेदन अनुसार पछिल्लो ४६ वर्षमा फेवाताल क्षेत्रमा ५ दशमलव ८० वर्गकिलोमिटर क्षेत्रफल जमिन अतिक्रमणको चपेटामा परेको छ। २०१८ सालमा फेवाताल १० वर्गकिलोमिटरमा फैलिएको थियो। तर २०६४ सालमा केन्द्रीय नापी विभागले गरेको सर्भे अनुसार फेवाताल क्षेत्र ४.२० वर्गकिलोमिटरमा खुम्चिएको देखिएको थियो।

ताजा समाचार

सम्बन्धित समाचार