Monday, September 23, 2024

असारे झरीसँगै उपत्यकाका नदी र चक्रपथ सफाइ

 

काठमाडौ :असारे झरीसँगै उपत्यकाका नदी र चक्रपथ सफाइ गरी २४ मेट्रिक टन फोहर व्यवस्थापन गरिएको छ ।
वाग्मती सफाइ महाअभियानको २६७ औं हप्तामा कोटेश्वर महादेव मन्दिर अघिको नदी क्षेत्रमा सफाइ गरी चार मेट्रिक टन फोहर व्यवस्थापन भयो ।

सफाइमा अधिकार सम्पन्न वाग्मती सभ्यता एकीकृत विकास समिति, नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी, न्यानो स्पर्श, मुक्तिनाथ विकास बैंक, रेयुकाई, ठकुरी समाजलगायत १८ संस्थाका गरी ३५० भन्दा बढी अभियन्ताको सहभागिता रहेको अभियानकर्मी किशोरसिंह शाहीले जानकारी दिए ।।

वाग्मती सफाइमा ब्लु क्रस अस्पतालले एम्बुलेन्ससहित स्वास्थ्यकर्मीको समूह पनि परिचालन गर्दै आएको छ । सफाइका क्रममा जन्मदिन र वैवाहिक उत्सव पर्ने अभियन्ताको उत्सव यसरी मनाउन शुरु गरिएको अधिकार सम्पन्न वाग्मती समिति सञ्चालक सदस्य माला खरेलले बताइन् ।

सफाइमा सहरी विकासमन्त्री मोहम्मद इश्तियाक राई, सचिव दीपेन्द्रनाथ शर्मा, अधिकार सम्पन्न वाग्मती समितिका अध्यक्ष नरेन्द्रराज बस्नेत र आयोजना प्रमुख आशिष घिमिरे पनि सहभागी थिए । मन्त्री राईले सफाइ महाअभियानमा सरकार साथमै रहने प्रतिबद्धता जनाए । सचिव शर्माले उपत्यकाका नदी र चक्रपथ सफाइले जनचेतना जगाउने काम गरेकामा प्रशंशा गरे ।

वाग्मती सफाइ २६८ औँ हप्ताको कार्यक्रम असार १६ गते शनिबार जोरपाटीस्थित नारायणटार पुल क्षेत्रमा गरिने सफाइ महाअभियानले जनाएको छ । आलोकनगर क्षेत्रमा सफाइ गर्दै आएको मातृशक्ति समूह मीनभवन क्षेत्रबाट सफाइ गर्दै कोटेश्वर महादेव मन्दिर अघि पुगी वाग्मती सफाइ महाअभियानमै समाहित भएको संयोजक प्रमिला पौडेलले जानकारी दिइन । सफाइ अभियानले एक मेट्रिक टन फोहर व्यवस्थापन गरेको छ ।

गुह्येश्वरीमाथिको वाग्मती सफाइ अभियानको २२८ औं हप्ताको कार्यक्रम गोकर्णेश्वर नगरपालिका–७ र ८ को सीमास्थित माकालबारी क्षेत्रको नदी किनारमा सफाइ गरियो । सफाइमा गोकर्णेश्वर नगरपालिकाकी उपप्रमुख शान्ति नेपाल वडा नं– ७ का अध्यक्ष केशव गुरुङ, वडा नं– ८ का अध्यक्ष मनोजकुमार ढुंगाना, महिला समूह, विभिन्न विद्यालयका विद्यार्थी लगायत ७५० भन्दा बढी अभियन्ताको उपस्थिति थियो ।

सफाइबाट दुई मेट्रिक टन फोहर व्यवस्थापन गरिएको अभियन्ता उत्तम पुडासैनीले जानकारी दिए । सफाइसँगै जनचेतनामूलक नारा नदी र किनारमा फोहर फाल्नेलाई कानूनी कारबाहीको दायरमा ल्याइने जानकारी गराइयो । नकुहिने फोहर गोकर्णेश्वर नगरपालिकाको महिला जागरण समूहले व्यवस्थापन ग¥यो । कुहिने फोहर खाडल खनेर पुरियो ।

गोठाटार पुल क्षेत्रमा पनि सफाइ गरी जापानिज स्कुल एशोसियसन नेपालको सहभागितामा साकुरा बगैँचा पनि गोडमेल गरियो । सफाइमा वाग्मती सुन्दरता सरोकारमञ्च, पुडासैनी मैत्री समाज, राम्रो जोरपाटी, हाम्रो जोरपाटी, लगायत स्थानीयवासी गरेर २०० भन्दा बढीको सहभागिता थियो ।
रुद्रमती सफाइको २२२ औं हप्तामा रातोपुल–कालोपुल–ज्ञानेश्वर–सम्मको क्षेत्रमा सफाइ गरी एक मेट्रिक टन फोहर व्यवस्थापन गरियो । रुद्रमती सरोकार समाजको नेतृत्वमा भएको सफाइमा नेपाल प्रहरी, सशस्त्र प्रहरी, वातावरण संरक्षण अभियान, प्रसिद्धि कला समूह, महानगरपालिका वडा नं ३० का अध्यक्ष दलबहादुर कार्कीलगायत २०० भन्दा बढी अभियन्ताको सक्रियता रहेको अभियन्ता रोहित गिरीले जानकारी दिए ।

विष्णुमती सफाइ अभियानको १९४ औं हप्तामा टोखा नगरपालिका– ११ स्थित नदी क्षेत्रमा सफाइ गरियो । सफाइमा नेपाली सेना, नेपाल प्रहरी विद्यार्थी र अभियन्ता गरी २५० भन्दा बढी व्यक्तिको सहभागिता थियो ।

सफाइबाट तीन मेट्रिक टन फोहर व्यवस्थापन गरिएको अभियानकर्मी बिजेन लामाले जानकारी दिए । सफाइमा वडा नं ११ का अध्यक्ष उत्तम अधिकारी लगायतको सहभागिता थियो ।

वाग्मतीको तिलगंगा क्षेत्र सफाइ अभियानको १६९ औँ हप्तामा तिलगंगा आँखा अस्पताल अघिको नदी किनारमा जनचेतनामूलक सफाइ गरियो । सफाइमा वाग्मती सरोकार मञ्च, काठमाडौँ महानगरपालिका– ८ र ९ का सदस्यको पनि सहभागिता थियो । सफाइका क्रममा एक मेट्रिक टन फोहर व्यवस्थापन गरियो ।

चक्रपथ सफाइको ६३ औं हप्तामा बालाजुचोकबाट वनस्थलीसम्म सफाइ गरियो । सफाइमा नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी, न्यानो स्पर्श, लगायत संस्थाका गरी ३५० भन्दा बढी अभियन्ताको सहभागिता रहेको सफाइ संयोजक लोकबहादुर टण्डनले बताए ।

शनिबारको सफाइबाट १२ मेट्रिक टन फोहर व्यवस्थापन गरियो । बुटवलको तिनाउ नदी सफाइ अभियान पनि आजैदेखि शुरु भएको छ । विसं २०७० जेठ ५ गतेदेखि शुरु भएको वाग्मती सफाइ महाअभियानबाट प्रभावित भई हालसम्म देशका ९५ स्थानमा सफाइ शुरु भएको छ ।

देशभर भएका सफाइ अभियानबाट २० हजार मेट्रिक टनभन्दा बढी फोहर व्यवस्थापन भएको छ । फोहरको परिमाण उपत्यकामा काठमाडौँ, ललितपुर महानगरपालिका एवं अन्य नगरपालिकाका सवारीले उठाउदा मापन गरिएका आधारमा तथ्यांक सार्वजनिक गर्ने गरिएको सफाइ महाअभियानले जनाएको छ ।

अहिलेसम्म पाँच लाखभन्दा बढी मानिस सफाइमा सहभागी भएका छन् । सफाइ महाअभियानको अनुरोधमा सरकारले विसं २०७५ लाई राष्ट्रिय सरसफाइ वर्ष समेत घोषणा गरेको छ ।

वाग्मती सफाइ महाअभियानले २०० वर्ष प्रवेश गरेका अवसरमा सरकारले सरसफाइ घोषणा पत्र नै जारी गरेको थियो । सफाइ अभियानलाई स्वयंसेवी कामका रुपमा देशभर विस्तार गर्ने सन्दर्भमा छलफल भइरहेको जनाइएको छ । (रासस)

ताजा समाचार

सम्बन्धित समाचार