Monday, September 23, 2024

जसको दुर्लभ चरा खोज्दै दिन बित्छ

जाजरकोट: बारेकोट गाउँपालिका–५ तोलखानका ४९ वर्षीय गोविन्दबहादुर सिंह पेसाले पशु प्राविधिक हुन् । ३१ वर्षदेखि पशु प्राविधिकको रूपमा सरकारी सेवामा कार्यरत उनी गत ५ वर्षदेखि जाजरकोटका जंगलमा दुर्लभ चराहरुको बासस्थान खोज्दै हिँडिरहेका छन् ।
विश्वमा दुर्लभ र लोपोन्मुख मानिएका चरा र जनावरको खोजीमा रातदिन सक्रिय गोविन्दलाई आफ्नो जीवन र जागिरभन्दा पंक्षी सरंक्षणमा मात्र चिन्ता छ ।

विसं २०६९ फागुनमा काठमाडौँमा सेवारत रहँदादेखिदेखि चरा प्रतिको उनको मोह बढेको हो । त्यत्तिबेला गिद्ध र अन्य चराबारे छलफलमाएक कार्यक्रममा उनले यी चरा हाम्रो जाजरकोटमा पाइन्छन् भन्दा अन्य सहभागीले जाजरकोटमा त दुर्लभ चरा होइन झाडापखाला मात्र पाइन्छ होला भनेर जिस्काएको पिडा उनी भुल्दैनन् । उनी त्यत्तिबेलाको सुनाउँदै त्यसैबेलादेखि आफूले चरा खोजीको काम शुरु गरेको बताए । उनले पाँच वर्षको अवधिमा विश्वमा लोपोन्मुख तथा दुर्लभ मानिएका आधा दर्जन चरा र अन्य केही जनावरसमेत भेटिएको बताउछन् ।

उनले फेला पारेका चरा र जनावरलाई पंक्षी विज्ञ र अन्य सरोकारवालाले प्रमाणित समेत गरिसकेका छन् । जाजरकोटका जंगलमा चार थरीका दुर्लभ एवं लोपोन्मुख अबस्थाका सुनगिद्ध, सेतो गिद्ध, हाडफोर गिद्ध र हिमाली गिद्ध पाइन्छ । विश्वकै दुर्लभ चरा चिरकालिज, जलेवा चराको गुड, लाटो कोसेरोको प्रजाति हप्सीलो हुचिल, मलाहा, हुचिल, विश्वकै दुर्लभ जनावर हाइना, हिँउचिुतुवा, वनकुकुर, ब्वाँसो र कस्तुरी रहेको उनले बताए ।

जाजरकोटमा भेटिएका चार जातका गिद्ध, अन्य दुर्लभ चरा र जनावर पंक्षी तथा पशु विशेषज्ञले नै प्रमाणित गरिसकेको सिंह बताउछन् । पाँच वर्षको अवधिमा साविकका १६ गाविसका जंगलमा डुलेको र सो क्रममा ३३ वटा हिमाली गिद्धका गुँड, तीन वटा हाडफोर गिद्धका गुँड, दुई वटा सेतो गिद्धका गुँड र एउटा सुनगिद्धको गँुड फेला परेको पनि गोविन्दले जानकारी दिए ।

रात दिन चरा भेटिने समय मिलाएर दुर्लभ चराको वासस्थानको खोजीमा जंगलको यात्रामा हिँडनुभएका सिंह आफूलाई अहिलेसम्म कसैले सहयोग नगरेको र कोही सरोकारवाला निकायले समेत सहानुभूति समेत नराखेकोमा गुनासो गर्छन् ।

अहिलेसम्म क्यामेरा तथा अन्य सामग्रीको लागि व्यक्तिगत रु पाँच लाख बढी खर्च गरिसकेका गोविन्द जाजरकोटलाई दुर्लभ चरा र जनावरको वासस्थान हो भनेर स्वदेश र विदेशमा चिनाउनका लागि आफूले रातदिन दुःख गरेर जंगल डुल्ने गरेको दुखेसो सुनाउँछन् ।

उनका अनुसार नेपालमै पहिलो पटक भेटिएको जलेवाको गँुड नलगाड नगरपालिकाको रग्दाको चौखामा पाइन्छ भने वारेकोटको–९ काप्तीको जंगलमा लाटोकोसेरो प्रजातिका चरा भेटिएका छन् । यस्तै भेरी नगरपालिकाको कुदु र कुसेको पैंकमा हाइना भेटिएको उनी बताउछन् ,।

आफूले बारेकोट र भेरी नगरपालिकामा भेटाएका दुर्लभ एवं लोपोन्मुख गिद्धका गुँड, दुर्लभ चरा र अन्य पक्षीको अध्ययन गर्न पक्षी विज्ञ डा हेमसागर बराल, जीवविज्ञ डा करण शाह पनि जाजरकोट पुगेका थिए । त्यसक्रममा उनीहरुले जाजरकोट विश्वका दुर्लभ चराको सुरक्षित वासस्थान भएको प्रतिक्रिया दिएको जानकारी दिए ।
बारेकोट गाउँपालिका गाउँपालिकाका अध्यक्ष महेन्द्रबहादुर शाह आफूहरुले पनि रेडपाण्डा लगायतका विश्वकै दुर्लभ चराको संरक्षणका लागि केही बजेट छुट्याउनुका साथै कार्यक्रम बनाउने गरेको र आगामी वर्षदेखि यस विषयमा विशेष पहल गर्न सोचिरहेको बताउछन् ।
(रासस)

ताजा समाचार

सम्बन्धित समाचार