Sunday, September 22, 2024

काठमाडौंका सडक : पानी पर्दा हिलाम्मे, घाम लाग्दा धुलाम्मे

काठमाडौं– काठमाडौंका प्रायः सडक बर्खाको समयमा पानी पर्नासाथ हिलाम्य हुन्छन्। खाल्डाखुल्डी र हिलाम्मे सडकमा सवारीसाधनसँगै पैदलयात्रुले सास्ती खप्नुपर्छ। गाडीले छ्यापेको हिलाेपानीले पैदल यात्रु हैरान हुन्छन्।

वनस्थलीकी टीका थापा स्कुटरमै बौद्धस्थित कार्यालय पुग्छिन। टीकालाई बौद्धसम्मको दैनिक यात्रा निकै कष्टकर लाग्ने गर्छ। धुलो र धुँवा खानुपर्ने कष्टकर यात्रा नसकिँदै बर्खाले अर्को कष्टकर यात्रा थपिदिन्छ। ‘दैनिक धुँवा र धुलो खाँदै कार्यालय जानुपर्छ,’ उनले भनिन्, ‘त्यसमाथि बर्खाको समयमा अझ बढी कष्टकर बन्छ। पानी पर्नासाथ हिलाम्मे हुने सडकका कारण अझ बढी दुःख पाइएको छ।’

शनिबार परेको पानीले हिलाम्मे बनेको सडकमा टीकाको स्कुटर हिलोमा फस्यो। उनले ट्राफिक प्रहरीलाई स्कुटर हिलोबाट निकाल्न हारगुहार गर्नुपर्यो। ‘पानी परेको दिन त स्कुटरमा जानै हुँदैन,’ उनले भनिन्, ‘१ घण्टा लाग्ने ठाउँमा २ घण्टामा पनि कार्यालय पुगिदैंन्। त्यसमाथि यो बर्खायाममा यहाँको सडकमा गाडी चलाउनु मेरोलाई चुनौती हो।’ टीका बर्खायामभरी सार्वजनिक यातायातको प्रयोग गर्ने बताउँछिन्।

ललितपुर नक्खुको भित्री सडकमा एक विदेशी नागरिकले चलाएको मोटरसाइकल हिलोमा फस्यो। ढल निकासका लागि ह्यामपाइप हाल्न खनेको बाटोमा पानी परेपछि उनको मोटरसाइकल त्यहाँ फसेको थियाे। उनले हिलोमा फसेको माेटरसाइकल निकाल्न निकै प्रयास गरे तर, सकेनन्। उनले आफ्नो दुई जना साथीको सहयोगमा हिलोमा फसेको मोटरसाइकल निकाल्न सफल भए।

काठमाडौंको हिलाम्मे सडकको सास्ती सवारीसाधन चलाउनेले मात्र भोगिराखेका छैनन् यसबाट धेरै पीडित पैदलयात्रु हुनेगरेको गुसानो गर्छिन्, बानेश्वरकी गीता भट्टराई। भन्छिन्, ‘यो हिलाम्मे सडकमा हामी पैदलयात्रु सबैभन्दा पीडित छौं। हिँडेर जानुपर्ने त्यसमाथि सवारीसाधनले हिलो छ्याप्दा बीचबाटोबाटै घर फर्किनु पर्ने हुन्छ।’

सरकारले सडक खन्ने तर, कालोपत्रे गर्नतर्फ ध्यान नदिदा बर्खायाममा सर्वसाधरणले सास्ती खेप्नुपर्ने ललितपुर वडा नम्बर १९ का डम्बर श्रेष्ठ बताउँछन्।

सडक विभागले सार्वजनिक सूचना जारी गरी असारदेखि भदौसम्म खानेपानीको पाइप विस्तार, विद्युत लाइन, ढल तथा टेलिफोनका लागि सडक खन्न रोक लगाएको छ। विभागले कालोपत्रे गरेको सडकमा मात्र वर्षायाममा धारा, ढल, बिजुली, टेलिफोन आदि प्रयोजनको लागि सडक नखन्न भनेको हो।

सडक निर्माणको विस्तारसँगै मेलम्ची खानेपानी तथा ढल निकासका लागि खनेका काठमाडौं, ललितपुरका सडकहरु बर्खायाममा हिलाम्मे हुँदा सडक प्रयोगकर्ताले सास्ती भोग्नु परेको छ।

कालोपत्रे नगरिएको सडकहरुमा अहिले पनि ढल निकासका लागि सडक खनिरहेका छन्। वर्षौदेखि उपत्यकाबासीले भोग्दै आएका एकमात्र समस्या पानी पर्दा हिलाम्मे र घाम लाग्दा धुलाम्मे हुने अवस्थाको अन्त्य कहिले हुन्छ खैं?

ताजा समाचार

सम्बन्धित समाचार