Sunday, October 27, 2024

सगरमाथामा बढ्दैछ फोहोर, व्यवस्थापनमा गएन कसैको ध्यान

काठमाडौँ – पछिल्लो दशकहरूमा धेरैले सगरमाथाको आरोहरण गरेका छन् । जसले गर्दा विश्वको सर्वाेच्च शिखर सगरमाथामा यतिबेला फोहोरको थुप्रो लागेको छ । आरोहीले लैजाने टेन्ट, अन्य उपकरण, खाली अक्सिजनका सिलिण्डरहरू तथा अन्य सामाग्रीहरू सगरमाथाको आधार शिविरदेखि शिखरसम्म नै थुप्रिएको छ ।

‘यो अत्यन्तै उदेकलाग्दो कुरा हो, अठार पटक सगरमाथाको आरोहण गरेका पेम्बा दोर्जे शेर्पाले भने,‘यतिबेला सगरमाथाले धेरै टन फोहोरहरूको बोकिरहेको छ ।’ यस वर्ष मात्र अहिलेसम्म ६०० ले सगरमाथाको आरोहण गरिसकेका छन् र फोहोरको समस्या झन बढ्दै गएको छ ।

फोहोर केही वर्ष यता मात्र बढेको होइन । पहिलेदेखि नै थियो । जलवायु परिवतर्नको असरका कारण हिउँहरू पग्लन थालेपछि हिमालमा जम्मा भएका फोहोरहरू बढी देखिन थालेका हुन्। ६५ वर्ष अगाडि एडमण्ड हिलारी र तेन्जिङ नोर्गे शेर्पाले सगरमाथा आरोहण गरेदेखिका फोहोरहरू हिउँ पग्लिन थालेपछि झन देखिन थालेका छन् ।

सगरमाथाबाट फोहार हटाउने प्रयास नभएका भने होइनन् । सरकारी, निजी तथा सामुदायिक पहलमा बेला बेलामा सरसफाइको काम हुने गर्दछ । पाँच वर्ष अगाडि फोहोरसँगै फिर्ता आउने आरोहीलाई केही रकम छुट दिने निर्णय गरियो तर प्रभावकारी रुपमा कार्यान्वयन भने हुन सकेको छैन् । उता तिब्बतकाे भागमा भने अलि कडा नियम ल्याइएको छ । सन् २०१७ मा क्लाइम्वर्स नामक संस्थाले ४० टन फोहोर संकलन गरेर काठमार्डौ ल्यायो । अहिले पनि बेला बेलामा फोहोर ल्याउने काम भइरहेको छ ।

उसो त, सरसफाइको सम्बन्धमा सरकारले ल्याएको नीति समेत कार्यान्वयन हुन सकेको छैन् । पेम्बाका अनुसार सरकारी अधिकारीहरूले घुस लिएर फोहोरको सम्बन्धमा लागू गर्नुपर्ने नियम उल्लंघन गर्नेलाई कारवाही गरेका छैनन् । उनका अनुसार प्रभावकारी मूल्याङ्कनको अभावमा यस्तो भइरहेको छ ।

वातावरणविदहरूका अनुसार सगरमाथाको माथिल्लो भागमा बढेको प्रदूषणको कारणले तलको उपत्यकाको पानीको स्रोतलाई समेत असर गरिरहेको छ । विशेषत मान्छेको मल मुत्र व्यवस्थापन निकै कठिन देखिएको छ ।

यसलाई जम्मा पारेर व्यवस्थान गर्ने गरिएको छ तर वर्षातको समयमा खोलाले बगाएर खानेपानीको मुहानलाई नै प्रदुषित बनाउने गरेको छ । त्यसैले यसको उपयुक्त व्यवस्थापनको लागि वायोग्याँस प्लान्ट स्थापनाको तयारी भइरहेको छ ।

फोहोरलाई जथाभावी फाल्ने कार्यले गर्दा खोला तथा पानीको मुहानहरू प्रदूषित बन्ने गरेको छ । विशेषत सरसफाईको कार्यमा संलग्न व्यक्ति तथा समूहलाई सरकारले प्रोत्साहित गर्नुपर्ने सरोकारवालहरुको भनाई छ । क्याचन्यूजमा प्रकाशित समाचारको भाव अनुवाद ।

ताजा समाचार

सम्बन्धित समाचार