काठमाडौं– त्रिभुवन विश्वविद्यालय जल तथा मौसम विज्ञान केन्द्रीय विभाग र जल तथा मौसम विभागको संयुक्त प्रयासमा मौसमी बेलुन (रेडियोसोण्ड) बुधबारदेखि उडाइने भएको छ।
त्रिविमा आज आयोजित छलफल कार्यक्रममा रजिष्ट्रार डिल्लीराम उप्रेतीले माथिल्लो वायुमण्डलका विभिन्न उचाइ र तह, वायुमण्डलीय सूचक चाप, तापक्रम, सापेक्षित आद्र्रता, वायुको दिशा, गतिलगायत मौसमी तथ्याङ्क संकलन गरी रेडियो उपकरणमार्फत जमीनमा पठाउन मौसमी बेलुन उडाइने तयारी गरिएकोे जानकारी दिए।
‘अहिले हाम्रो मौसमको पूर्वानुमान लखनौको केन्द्रविन्दु मानेर गरिन्छ,’ उनले भने, ‘त्यसले नेपालको मौसमको पूर्वानुमानलाई सत्यता दिन सकेको छैन । अब हामीले हाम्रो देशबाट उडाइने बेलुनबाट मौसमसम्बन्धी सही सूचना पाउने छौं।’
मौसमी बेलुनले नेपालको मौसम पूर्वानुमानको अवस्थालाई थप वैज्ञानिक एवं तथ्यगत बनाउने र जल तथा मौसम विज्ञानको उच्चशिक्षामा हुने अनुसन्धानलाई थप मद्दत पुग्ने उनले बताए।
जल तथा मौसम विभागका महादिर्शेशक डा ऋषिराम शर्माले मौसम पूर्वानुमानलाई थप व्यवस्थित बनाउन सरकारले जर्मनेली प्रविधिको सहयोगमा मौसमी बेलुन उडाउन थालेको बताए। उनले यसअघि पनि मौसमी बेलुन उडाएर प्रयास गरिए पनि प्रविधि खर्चिलो भएकाले अहिले पुनः कार्यान्वयनमा अघि बढेको जानकारी दिए।
अहिले त्रिवि जल तथा मौसम विज्ञान केन्द्रीय विभागबाट बिहान ५ः३० बजे बेलुन उडाइनेछ र क्रमशः नेपालगञ्ज र विराटनगरबाट पनि सञ्चालन गरिने योजना रहेको विभागका प्रमुख प्रा डा दीपक अर्यालले बताए।
बेलुन ३०–४० किमी माथिसम्म पुगी तल रहेको सूचना संकलन गर्ने यन्त्रलाई तथ्याङ्क पठाउनेछ र सोही तथ्याङ्कबाट नै मौसमको पूर्वानुमान गर्न सकिनेछ । उक्त बेलुन उडाउँदा दैनिक २०० अमेरिकी डलर खर्च हुने बताइएको छ ।