Sunday, September 22, 2024

बर्खायाममा देशभरका सडक खन्न रोक

काठमाडौं– वर्षायाम सुरु भएसँगै सरकारले देशभर ३ महिना सडक खन्न रोक लगाएको छ।

सडक विभागले सार्वजनिक सूचना जारी गरी असारदेखि भदौसम्म खानेपानीको पाइप विस्तार, विद्युत लाइन, ढल तथा टेलिफोनका लागि सडक नखन्न भनेको हो।

शान्तिनगरामा मेलम्ची विस्तारको क्रमम खनिएको बाटो भएर हिँड्दै सर्वसाधरण । तस्वीर : अमिष रेग्मी

‘वर्षायाममा धारा, ढल, बिजुली, टेलिफोन आदि प्रयोजनको लागि सडक खन्दा तत्कालै मर्मत सम्भार गरी यथास्थितिमा ल्याउन नसकिने र सडक पनि थप बिग्रदै जाने भएकोले यही २०७५ साल असार १ देखि भदौ समान्तसम्म यस क्षेत्र अन्तर्गतका सडक कार्यालयहरू मातहतमा रहेका कुनै पनि सडक खन्ने स्वीकृति नदिइने,’ विभागद्वारा जारी सूचनामा भनिएको छ ।

साथै विभागले कसैले सडक खनेको पाएमा सार्जनिक सडक ऐन २०३१ अनुसार कडा कारवाही गर्ने चेतावनी दिएको छ।
सडक विभागका प्रवक्ता मुक्ति गौतमले वर्षायाममा सडक खन्दा हिलाम्मे हुने, सडक झ्न बिग्रदै जाने, तत्काल मर्मत सम्भार गर्न पनि नसकिने, पहिरो जाने, खनेको जमिन भासिन, यातायात अवरोध हुने समस्या आउने भएकाले ३ महिना सडक खन्न रोक लगाएको बताउँछन्। ‘देशभर सडक खन्न रोक लगाएका छौं। मेलम्चीको पाइप विस्तारका लागि पनि अहिले सडक नखन्न भनेका छौं,’ उनले भने।

विभागको भू–वातावरण तथा सामाजिक इकाईका प्रमुख शिवराज अधिकारी नयाँ बनिरहेका सडकको मर्मतमा उक्त नियम लागू नहुने बताउँछन् । ‘जहाँ कालोपत्रे सडकहरू छन् त्यस्ता सडकमा धारा, बिजुली, ढल तथा टेलिफोन प्रयोजनका लागि सडक खन्न रोक लगाइएको हो,’ उनले भने।

देशभर निर्माण भैरहेका नयाँ सडकमा पहिला नै ठेकेदार तथा कम्पनीसँग वर्षायामको ४ महिना असार, साउन, भदौ र असोजमा सडक नबनाउने सम्झौता हुने गरेको उनी बताउँछन् ।

अधिकारीका अनुसार निर्माण भएका नयाँ सडकको मर्मत तथा संरक्षण बर्खायाममा पनि जारी रहन्छ। तर, सडक विस्तारको काम हुुँदैन ।

वर्षायाम लागे लगतै सडक मर्मत सम्भार, सडक खन्ने काम हुँदा हिलोको कारण सर्वसाधरणले सास्ती खेप्नुपरेका बेला विभागले यस्तो सूचना जारी गरेको हो ।

ताजा समाचार

सम्बन्धित समाचार