Sunday, September 22, 2024

असुरक्षित बन्दै पर्यटक, प्रहरीमा ५ सय ७३ उजुरी

काठमाडौं– १ महिना अघि पोखरामा १ जना विदेशी पर्यटकले आफू बलात्कृत भएको भन्दै पर्यटक प्रहरी भुकुटीमण्डप काठमाडौंमा उजुरी दिइन् ।

पर्यटक प्रहरीको समन्वयमा टेकु प्रहरीले पोखरा प्रहरीको सहयोेगमा बलात्कारको आरोपमा एक जनालाई पक्राउ गर्यो। पक्राउ गरेका ती व्यक्तिमाथि थप अनुसन्धान भैरहेको पर्यटक प्रहरीले जनाएको छ।

त्यस्तै, पदयात्रामा गोरखा हिँडेका कोरिएन नागरिक सम्पर्कविहीन भए। परिवारसँग कुनै सम्पर्क नभएपछि उनका परिवारले अनलाइनमार्फत् आफ्नो आफन्त हराएको उजुरी पर्यटक प्रहरीमा गरे। उजुरीपछि पर्यटक प्रहरीले उनको खोजी गर्यो। नेट तथा फोन नभएका कारण सम्पर्कविहीन भएका कोरिएन नागरिक दुईदिनपछि फेला परेको पर्यटक प्रहरी निरीक्षक रुपा थापाले बताइन्।

नेपालमा भित्रिने पर्यटकले भोगेका यी केही समस्या मात्र हुन्। सुन्दर देश नेपाल घुम्न आउने पर्यटकको संख्या वृद्धि भएपनि उनीहरु असुरक्षित बन्दै गएका छन्। पछिल्लो समय समस्या परेको भन्दै उजुरी दिएको संख्या पनि बढ्न थालेको छ।

चालु आर्थिक वर्षमा बलात्कार, ठगी, चोरी, पर्यटक हराएको र सरसामान हराएको भनेर ५ सय ७३ उजुरी परेको पर्यटक प्रहरीले जनाएको छ।

सबैभन्दा धेरै समान हराएको भन्दै ४ सय १९ जना पर्यटकले उजुरी गरेका छन्। सामान चोरी भएको १ सय १८ र ठगीमा परेको भन्दै १७ जनाले उजुरी दिएका छन्। त्यस्तै गत वर्ष ६ सय ८७ जना पर्यटकले उजुरी दिएका थिए।

ट्याक्सीमा बढी सामान हराउने गरेको पर्यटकले बताउने गरेको प्रहरी निरीक्षक थापा बताउँछिन्। पर्यटकले दिएका उजुरीमध्ये ९० प्रतिशत समस्या समाधान भएको उनी बताउँछिन्।

नेपालमा २ सय २७ पर्यटक प्रहरी रहेका छन्। उपत्यकासहित देशभरका १२ जिल्लामा मात्र पर्यटक प्रहरीको शाखा छ। सबै जिल्लामा पर्यटक प्रहरीको आवश्यकता भएको भन्दै पर्यटक प्रहरीको माग समेत हुन थालेको छ।

ताजा समाचार

सम्बन्धित समाचार