Thursday, September 19, 2024

२५ प्रतिशत जमीनमा आकाशे पानीकै भरमा खेती

काठमाडौं – मनसुन सुरु भएसँगै देशका विभिन्न स्थानमा रोपाइँ पनि सुरु भएको छ। देशको जम्मा क्षेत्रफलमध्ये १४ देखि १५ लाख हेक्टरमा वर्षेनी धान खेती हुने गरेको छ।

विशेषगरी नेपालको तराई क्षेत्रमा बढी धान खेती हुने गर्दछ । देशको धान खेती हुनेमध्ये ५० प्रतिशत भूभाग तराईमा पर्दछ। बाँकी ५० प्रतिशत पहाडी क्षेत्र रहेको छ। तराईका क्षेत्रमा सिँचाइको खासै समस्या नभए पनि पहाडी क्षेत्रमा भने सिँचाइमा निकै नै समस्या देखिँदै आएको छ ।

तस्वीर : अमिष रेग्मी

तराईका भूभागमा नदीको पानी तथा बोरिङ लगायतका विभिन्न विकल्पहरू रहेका छन् । तर, पहाडी क्षेत्रमा नदीको पानी तथा आकाशे पानीकै भर पर्नुपर्ने बाध्यता रहेको कृषि मन्त्रालयका सूचना अधिकारी मणिरत्न अर्याल बताउँछन् । उनी भन्छन्, ‘देशको खेतीयोग्य जमिनमध्ये ५० प्रतिशतमा सिँचाइको कुनै पनि समस्या छैन्, बाँकी मध्ये २५ प्रतिशतमा खोलाको पानीमार्फत खेती हुने गरेको छ । तर २५ प्रतिशतमा भने अझै पनि आकाशे पानीको भरपर्नु परेको अवस्था छ ।’

यसरी सिँचाइको अभाव भएको खेतियोग्य जमिनका लागि पानीको व्यवस्था गर्न सिँचाइ मन्त्रालयलाई अनुरोध गरिएको अर्याल बताउँछन् ।

तर, देशका हरेक क्षेत्रमा सिँचाइको व्यवस्था मिलाइएको सिँचाइ मन्त्रालयको दाबी छ। सिँचाइ मन्त्रालयका सूचना अधिकारी रमेशप्रसाद पौडलका अनुसार नेपालको १७ लाख हेक्टरमा सिँचाइ पुर्याउने क्षमता छ। र, त्यही अनुसार सिँचाइ भएको छ । उनी भन्छन्, ‘हामीले देशका सबै भूभागमा सिँचाइको व्यवस्था मिलाउने कार्य गरिरहेका छौँ, तराई क्षेत्रमा पानी नभएको स्थानमा बोरिङ गरेर पानीको व्यवस्था मिलाएका छौं पहाडी क्षेत्रमा खोला फर्काएर भएपनि सिँचाइको व्यवस्था गरिएको छ ।’ भेरी र बबइको उदाहरण दिँदै उनले भने, ‘बबइको पानीले मात्र नपुगेर हामीले भेरीलाई डाइभर्सन गरेर बबइमा लगेका छौँ र बबइ क्षेत्रको सिँचाइको समस्या समाधान गरेका छौँ ।’

पहाडी क्षेत्रमा सिँचाइका पूर्वाधार सबै भएपनि खहरे खोलाहरूमा सधैँभरी पानी नहुनाले समस्या निम्त्याएको उनको भनाइ छ। त्यस्ता स्थानमा सधैँ बगिरहने खोलाबाट पानी लिफ्टिङ गरी सिँचाइको व्यवस्था गरिएको बताउँछन्, उनी । ‘पहाडी क्षेत्रमा खहरे खोला बढी हुनाले सधैँभरी पानी हुँदैन त्यस्तो स्थानमा बेशीबाट सधैँ बगिरहने खोलाका पानीलाई लिफ्टिङ गरी सिँचाइ गराएका छौँ,’ उनले भने, ‘विद्युत भएको ठाउँमा विद्युत र नभएको ठाउँमा सोलार प्रविधिको प्रयोग गरी लिफ्टिङ गरिरहेका छौं ।’

सामान्यतया असारको १५ देखि ३० सम्म ६० प्रतिशत वर्षा भयो भने मात्र सबै ठाउँमा रोपाइँ गर्न सम्भव हुन्छ । यदि ६० प्रतिशतभन्दा कम वर्षा भएमा २५ प्रतिशत भूभागमा खेती नहुने कृषि मन्त्रलायका सूचना अधिकारी अर्यालको भनाइ छ । ‘यसपाली पनि अबको १५ दिनपछि थाहा हुन्छ कति भूभागमा रोपाइ हुन्छ अनि कति बाँझै रहन्छ, तर यसपाली प्रि–मनसुन देखि नै राम्रो वर्षा भइरहेको छ खडेरी लाग्ने कुरा लगभग असम्भव जस्तै नै छ,’ उनले भने ।

अघिल्लो वर्ष ६५ प्रतिशतमा रोपाइँ भएको थियो, यो अन्य वर्षभन्दा २० प्रतिशतले घटी हो । मनसुनमा राम्ररी पानी नपर्नाले खडेरी लागेको सूचना अधिकारी अर्यालको दाबी छ। उनले भने, ‘पोहोर साल मनसुनको मध्यतिर पानी नपर्नाले २० प्रतिशत जमिन बाँझै रह्यो तर पछी फेरि बाढी आउनाले तहसनहस नै बनाइदियो।’

ताजा समाचार

सम्बन्धित समाचार