Sunday, September 22, 2024

भारतलाई फिर्ता गरिन लागिएको ‘रंगिला’ भालुको भित्री कथा

काठमाडौं– मन्त्रिपरिषद्को ३१ जेठको बैठकले सदर चिडियाखाना जावलाखेलमा रहेको एउटा भाले भालु भारतलाई फिर्ता दिने निर्णय गर्यो। सरकारले चीनलाई गैंडा उपहार दिइरहेका बेला भालुका विषयमा भएको निर्णयलाई कतिपयले ‘उपहार’ को रुपमा बुझेका छन्।

तर, नेपाल सरकारले भारतलाई भालु उपहार दिन लागेको नभइ फिर्ता गर्न लागेको हो। मन्त्रिपरिषद्को बैठकपछि सरकारका प्रवक्ता गोकुलप्रसाद बास्कोटाले भने, ‘सदर चिडियाखाना जावलाखेलमा रहेको एउटा भाले जो साइटी सन्धिअनुसार भारतको रहेछ, त्यो भारत सरकारलाई फिर्ता गर्ने निर्णय भएको हो ।’

रंगीला भालुको कथा भालु नचाउने पेशासँग जोडिन्छ। रंगिला र उसको जोडी श्रीदेवीलाई गत मंसिरमा रौतहटबाट जफत गरिएको थियो, भालु नचाउनेहरूको साथबाट।

कानूनविपरीत भालु नचाएको भन्दै त्यतिखेर पशु अधिकारकर्मीले प्रहरीमा उजुरी दिएपछि प्रहरीले जफत गरेर जिल्ला वन कार्यालय रौतहटलाई बुझायो। वनले पर्सा राष्ट्रिय निकुञ्जलाई बझाएपनि व्यवस्थापनमा समस्या भएपछि राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागको निर्देशनमा सदर चिडियाखानामा ल्याइयो।

हाल रंगीला नामक २० वर्षीय भालु जावलाखेलस्थित सदर चिडियाखानामा छ, भने श्रीदेवीको चिडियाखानामै मृत्यु भइसकेको छ।  सो क्रममा भालु भारतको रहेको दाबी गरिएपछि राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका नारायण रुपाखेती, पर्सा राष्ट्रिय निकुञ्ज चिफ वार्डेन हरिभद्र आचार्य र जिल्ला वन कार्यालय रौतहट डिएफओको नेतृत्वमा गठन भएको अध्ययन समितिले १२, १३ र १४ वैशाखमा रौतहटमा अध्ययन गर्यो।

सो समितिले साइटी–वान गरेको दुर्लभ प्रजाती रंगिला नामक भालु भारतको रहेको निस्कर्षसहित विभागलाई प्रतिवेदन पेश गरेपछि विभागले मन्त्रालयमा फाइल पठायो।

यस्ता वन्यजन्तु अर्काे देशलाई कसरी हस्तान्तरण गर्ने भन्ने कानूनी प्रावधान नहुँदा मन्त्रिपरिषद्बाटै निर्णय गरिएको हो।

ताजा समाचार

सम्बन्धित समाचार