Sunday, September 22, 2024

भारतमा इतिहासकै सर्वाधिक पानी संकट

काठमाडौं–भारतले यतिवेला इतिहासकै सर्वाधिक पानीको संकट खेपिरहेको  छ ।  एक अध्ययनले झण्डै ६० करोड जनसंख्याले चरम पानीको समस्या भोगिरहेको देखाएको छ ।

भारतको नीति आयोगले सार्वजनिक गरेको एक रिपोर्ट अनुसार भारतमा वर्षेनी झण्डै दुई लाख मानिसको पर्याप्त सुरक्षित खानेपानीमा पहुँच नभएका कारण मृत्यु हुने गरेको छ ।

भारतका पानी स्रोतमन्त्री नितिन गड्कारीले सार्वजनिक गरेको एक प्रतिवेदन अनुसार पानीको संकट झन् –झन् बढ्दै गइरहेको छ । ‘आगामी सन् २०३० सम्म पानीको माग दोब्वर हुने र यसले लाखौं मानिसले पानीको तिब्र संकट खेप्नुपर्ने छ जसले गर्दा मुलुकको जिडिपीमा ६ प्रतिशत नोक्सान हुनसक्छ,’ सो प्रतिवेदनमा भनिएको छ ।

प्रतिवेदनमा झण्डै ७० प्रतिशत पानी प्रदूषित भएको पाइएको छ । पानीको गुणस्तरमा विश्वका १२२ मुलुकहरुमध्ये भारत १२० स्थानमा पर्ने समेत सो अध्ययनले देखाएको छ । अथवा, भारत मात्रै दुई मुलुक भन्दा माथि छ ।

सो प्रतिवेदनले पानीका स्रोतहरु र यसको प्रयोगको बारेमा सकेसम्म छिटो एक समझदारी बनाउनुपर्ने समेत औल्याएको छ ।  अध्ययनका अनुसार सन् २०३० भित्र ४० प्रतिशत जनसंख्याको पानीमा पहुँच एकदमै कम हुने छ ।  नयाँ दिल्ली, हैदरावाद लगायतका शहरहरुमा भूमिगत पानीको संकट हुने र त्यसले ठूलो संकट ल्याउने छ ।

सो प्रतिवेदन अनुसार गुजरातले पानीको सबैभन्दा राम्रो व्यवस्थापन गरेको छ तर झारखण्ड राज्यले भने राम्रोसँग पानीको व्यवस्थापन गर्न सकेको छैन् । प्रतिवेदनका अनुसार भारतको ४० प्रतिशत कृषि वर्षायामको पानीमा निर्भर रहेको छ ।

ताजा समाचार

सम्बन्धित समाचार