काठमाडौँ – काभ्रेको नमोबुद्ध नगरपालिकाले आफ्नो नगरभित्र रहेका इँटाभट्टा बन्द गराउने निर्णय गरेको छ । नगरभित्र सञ्चालित इँटाभट्टाले वातावरणीय प्रदूषण वृद्धि गरेको भन्दै नगरले उक्त भट्टाहरूको नविकरण नगर्ने निर्णय गरेको हो।
नगरमा सञ्चालित इँटा भट्टाबाट उत्पन्न हुने प्रदू्षणका कारण विकास निर्माणमा प्रत्यक्ष प्रभाव पारेको भन्दै नगरप्रमुख टिपी शर्माले अबदेखि नगरभित्रका इँटा भट्टा सञ्चालन गर्न नदिने बताए । उनले भने ‘नगरपालिकाको कार्यपालिकाले मिति २०७४ चैत ९ गतेको बैठकबाट इँटा भट्टाहरूको दर्ता नविकण गर्ने निर्णय गरिएको थियो र अहिले कुनै पनि इँटा भट्टा सञ्चान गर्न नदिने निर्णय पारित गरेको छ।’
इँटा उद्योगले गर्दा अन्य उद्योगहरू सञ्चालन गर्न नसकिएको बताउँदै उनले भने, ‘उद्योग व्यवसाय बिना यस क्षेत्रमा रोजगारीको सिर्जना असम्भव छ तर वतावरणलाई नै गम्भीर असर पारी सञ्चालित इँटा उद्योगहरूले अन्य वातावरणमैत्री उद्योगहरू विस्तारको सम्भावना प्रायः ठप्प पारेको छ ।’
नगरभित्रका इँटा उद्योगले केही रोजगारी सिर्जना गरेपनि दीर्घकालिन रुपमा भने वातावरणीय लगायत मानवीय असर बढाएको उनको धारणा छ । ‘हुनसक्न यस उद्योगबाट केही रोजागरीको सिर्जना र उर्वर जमीनको प्रयोग भई तत्कालका लागि राम्रो आय आर्जन देखिएको छ । तर यसले मानवीय र वातावरणीय रुपमा भने निकै नै नराम्रो प्रभाव पारिरहेको छ । यस्ता प्रकारका उद्योगहरू ती जमिनमा स्थापना गर्नुको सट्टा जमिन बाँझो राख्दा क्षणिक रुपमा हानी देखिए पनि दीर्घकालिन रुपमा भने राम्रो देखिन्छ,’ उनले भने, ‘त्यसैले यी उद्योगहरू बन्द गर्नु पर्ने बाध्यता रहेको छ ।’
इँटा उद्योगले नगरलाई नकारात्मक असर पारेको भन्दै उनले इँटाभट्टाले गर्दा नगरमा विशेषगरी भकुण्डेबेसीमा खानेपानीको मुहान सुकेको तथा इनार, पोखरी, खोला, नाला लगायतमा पानीको सतह घट्दै गएको समेत बताए । साथै उनले नगरमा सञ्चालित इँटा उद्योगहरू कुनै पनि मापदण्ड बमोजिम नभएको दाबी गरे।
तर इँटा उद्योगीहरू भने आफूहरूलाई विकल्प दिनुपर्ने माग राख्छन्, भैरवकुण्ड इँटा उद्योगका जगत शाह भन्छन्, ‘वातावरणीय हिसाबले उठाइएका कुराहरू सान्दर्भिक नै हुन तर बन्द गर्नका लागि हामीलाई पनि विकल्प दिनुपर्यो नि। हामी मापदण्ड अनुसार बनाउन तयार छौँ अलिकति समय दिनुपर्यो होइन भने अर्को विकल्प केही चाहियो।’
यस्तै इटा व्यवसायी कविराज श्रेष्ठको धारणा पनि शाहको जस्तै छ, ‘हामी इटा उद्योग उठाउन तयार छौँ, तर हामीलाई विकल्प चाहियो कहाँ सञ्चालन गर्ने अनि कस्तो तरिकाले गर्ने सबैकुरा प्रष्ट पार्नुपर्यो,’ उनले भने।
त्यस्तै उद्योगीहरूको कमजोरी रहेको र नगरसँग मिलेर सहकार्य गर्नुपर्ने बताउँछन् उद्योग वाणिज्य संघ नमोबुद्धका प्रमुख परशुनारायण श्रेष्ठ, व्यवसायीहरूको पनि कमजोरी देखिन्छ, मापदण्ड बमोजिम उद्योग सञ्चालन गर्नुपर्ने हो तर त्यसो भएको छैन, वातावरण मैत्री उद्योगहरू पनि सञ्चालन गर्न सकिन्छ, व्यवसायीहरूले नगरसँग समन्वय गरेर आधुनिक प्रकारको उद्योग सञ्चालन गर्नुपर्यो, जसले वातावरणीय प्रदूषण कम गरोस।’
इँटा भट्टा बन्द गर्ने हो भने आफ्नो जग्गाको पनि उचित व्यवस्थापन गर्नुपर्ने माग जग्गादाताहरू छ । सुख्खा लागेर केही उब्जनी नहुने जमिनबाट कम्तीमा पनि नुन तेल, चामल किन्ने पैसा त आइरहेकोले उद्योग हटाएर जमिनलाई त्यतिकै छोड्दा प्रत्यक्ष रपमा असर पर्ने धारणा उनीहरूको छ।
इसीआरसी नेपालको वायु गुणस्तर अध्ययन प्रतिवेदनले पनि भकुण्डेबेसीको भौगोलिक रुप नै औद्योगिक प्रयोजनका लागि उपयुक्त नभएको जनाएको छ । प्रतिवेदनका अनुसार उक्त क्षेत्रमा सञ्चालन भइरहेको उद्योगहरू नै वायु प्रदूषणको प्रमुख कारक तत्व रहेकोले तत्काल त्यस्ता उद्योग बन्द गरिनुपर्छ । हाल नमोबुद्धमा भैरब कुण्ड इँटा उद्योग, जय शिब शक्ति इँटा उद्योग, पञ्च कन्या इँटा उद्योग, शंकर इँटा उद्योग, शिब शक्ति इँटा उद्योग लगायतका आठ इँटा भट्टा सञ्चालनमा रहेका छन्।