Sunday, September 22, 2024

मेलम्ची अवरोधः सरकार ‘पर्ख र हेर’ को नीतिमा

काठमाडौं – आगामी दशैँसम्म उपत्यकामा मेलम्ची परियोजनाको खानेपानी उपलब्ध गराउने लक्ष्यमा एकपछि अर्को समस्या देखिन थालेको छ । यसैक्रममा मेलम्ची खानेपानीको सुरुङमार्गको ठेक्का लिएको इटालियन कम्पनीको म्याद विहिबार समाप्त भएको छ ।

म्याद सकिएपछि मेलम्चीको खानेपानीका विषयमा विभिन्न अन्यौलता देखिएको छ । भूकम्प, नाकाबन्दी लगायत विविध कारणले समयमै काम गर्न नपाउँदा आफूलाई घाटा भएको भन्दै ठेकेदार कम्पनीले भने मेलम्ची खानेपानी आयोजनासँग एक अर्ब ६५ करोड रुपैयाँ क्षतिपूर्ति दाबी गरिरहेको छ । इटालीयन कम्पनी काम रोक्ने धम्की दिएपछि मेलम्ची खानेपानी आयोजना भने अन्र्तराष्ट्रिय अदालतसम्म जाने तयारीमा छ ।

सरकारी अधिकारीहरुका अनुसार आयोजना अहिले नै के गर्ने भन्ने निष्कर्षमा पुगिसकेको छैन् । अधिकारीहरुका अनुसार सो कम्पनीले आगामी दिनमा गर्ने व्यवहारले सरकारको भावी कदम निर्देशित हुने छ । .म्याद बिहीबारबाट सकिएपनि म्याद सकिएको २ सय दिनसम्म जरिवाना सहित ठेकेदार कम्पनीले काम गर्नुपर्ने नियम भएको आयोजनाका उप कार्यकारी निर्देशक भोजविक्रम थापाले हाकाहाकीलाई वताए ।

‘ठ्याक्कै म्याद सकियो भनेर भोलीदेखि नै काम रोकिने होइन, उनले भने, ‘म्याद सकिएको २ सय दिनसम्म जरिवाना लगाएर भएपनि काम सक्नैपनै हुन्छ । म्याद अघि नै काम सकिँदा पुरस्कार दिने र म्याद सकिएपछि जरिवाना गर्ने चलन छ ।’

गृहमन्त्री रामबहादुर थापाले ठेक्का सम्झौता अनुसार तोकिएको समयमा काम सम्पन्न नगर्ने कम्पनी र ठेकेदारलाई कारवाही गर्न देशभर बाट विवरण संकलन गरिरहेका बेला मेलम्ची खानेपानी आयोजनाका ठेकेदारको भने म्यादको विषयमा चासोका साथ हेरिएको छ ।

यसअघि सुरुङ निर्माण सम्पन्न गर्ने मिति चैत १२ मा सकिएपनि समितिले ७९ दिन थपिदिएर सुरुङ सम्पन्न गर्ने म्याद २०७५ जेठ ३१ तोकेको थियो । निर्माण कम्पनीको लापरवाहीका बारे मेलम्ची खानेपानी विकास समितिका अधिकारीहरू बोल्न चाहँदैनन् । उता सरकारले मेलम्चीमा देखिको समस्या समाधान गर्नका लागि कूटनितिक पहल तिव्र पारेको छ । सो पहल अनुसार यही साता इटलीको एक उच्च टोली नेपाल भ्रमणका आउने भएको छ ।

ताजा समाचार

सम्बन्धित समाचार