Sunday, September 22, 2024

काष्ठमण्डप पुनर्निर्माण : महानगरद्वारा ५० लाख अनुदान

काठमाडौं– भूकम्पका कारण क्षतिग्रस्त बनेको काष्ठमण्डप पुनर्निर्माणका लागि काठमाडौं महानगरपालिकाले पहिलो चरणमा ५० लाख रुपैयाँ अनुदान उपलब्ध गराउने भएको छ।

सहमति अनुसार पुनर्निर्माणमा महानगरले काष्ठमण्डप पुनर्निर्माण समितिलाई आर्थिक अनुदान र अन्य व्यवस्थापकीय कार्यमा निरन्तर सहयोग गर्ने छ। आर्थिक अनुदान रकमको खर्च विवरण समितिले महानगरलाई उपलव्ध गराउने छ।

काष्ठमण्डपको पुरातात्विक, ऐतिहासिक तथा प्राचिन महत्वलाई पूर्ववत रहने गरी नक्सा डिजाइन, ड्रइङ गरी पुरातत्व विभागबाट स्वीकृत भए बमोजिम गरिने र  त्यसका लागि महानगरपालिकाले सहयोग र समन्वय गर्ने सहमति पत्रमा उल्लेख छ।

महानगरका सहसचिव राजेश्वर ज्ञवाली र समितिका अध्यक्ष राजेश शाक्यद्वारा हस्ताक्षरित सहमति पत्र अनुसार पुनर्निर्माणका लागि नेपाल सरकार, प्रदेश सरकार तथा अन्य व्यक्ति संघसंस्था समेतबाट आर्थिक स्रोत जुटाइने छ। त्यसको समन्वय समितिले गर्नेछ।

सहमति अनुसारकाष्ठमण्डप पुनर्निर्माणलाई छिटो र प्रभावकारी बनाउन काठमाडौं जिल्ला क्षेत्र नम्बर ६,७,८ र ९ बाट निर्वाचित प्रतिनिधि सभाका सदस्यहरु, काठमाडौं जिल्ला क्षेत्र नम्बर ६ क, ७ क, ८ क र ९ क बाट निर्वाचित प्रदेश नम्बर ३ प्रदेश सभाका सदस्यहरु र जिल्ला समन्वय समिति काठमाडौंका प्रमुख समेत रहेको सल्लाहकार समूह रहनेछ। सल्लाहकार समूहले आवश्यकता अनुसार काष्ठमण्डप पुनःनिर्माणमा उचित सल्लाह सुझाव दिने जनाइको छ।

पुनर्निर्माणमा एक संरक्षक समूह हुनेछ। समाजका लव्ध प्रतिष्ठित व्यक्तिहरुको संरक्षक समूहमा उपस्थिति रहने सहमति पत्रमा उल्लेख छ।

ताजा समाचार

सम्बन्धित समाचार