Saturday, September 21, 2024

प्रदेश ४ को नीति तथा कार्यक्रम (वन तथा वातावरणको पूर्णपाठ) : प्राकृतिक स्रोतको अवैध दोहनलाई नियन्त्रण

काठमाडौं–प्रदेश नम्बर ४ ले वन व्यवस्थापनको नीतिगत, कानुनी र संरचनागत व्यवस्था मिलाइने लक्ष्य आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममा समेटिएको छ । वन तथा वातावरणको क्षेत्रमा विभिन्न सुधारात्मक पहल थाल्नेदेखि लिएर जडिबुटिको पहिचान ,संकलन र बजार प्रबद्र्धन गर्नेसम्मका वन तथा वातावरणका विषयहरु कार्यक्रममा समेटिएका छन् । प्रदेशस्तरीय आधुनिक प्राणी उद्यान स्थापना गर्ने , प्रदूषण न्युनीकरण र दिगो विकासका लागि वातावरणमैत्री नीति लिइने , अनियन्त्रित र अवैध दोहनलाई नियन्त्रण र नियमन गर्ने लगायत छन् । ‘स्वच्छ र हरियाली वातावरणका लागि लागि नियमित सरसफाइ र सार्वजनिक स्थलमा वृक्षरोपण गरी ‘सफा वातावरण, स्वच्छ जीवन’ कार्यक्रमलाई स्थानीय तहसँग समन्वय गरी अभियानको रुपमा अगाडि बढाइनेछ,’ नीति तथा कार्यक्रममा उल्लेख छ।
शुक्रबार प्रदेश प्रमुख बाबुराम कुँवरले प्रदेशसभा बैठकमा प्रस्तुत गरेको नीति तथा कार्यक्रममा समेटिएका वन तथा वातावरणका विषयहरुको पूर्ण पाठ यसप्रकार छन् :
–वन व्यवस्थापनको नीतिगत , कनुनी र संरचनागत व्यवस्था मिलाइनेछ । कबुलियती र निजी वन विकास कार्यक्रमलाई व्यापक र सरल बनाइनेछ । वन संरक्षण, दीगो व्यवस्थापन तथा उपयोग र स्वच्छ वातावरणको लागि समुदायमा आधारित वन व्यवस्थापनमा जोड दिइनेछ
–वन क्षेत्रको उत्पादकत्व र वन पैदावरको उत्पादन बृद्धि गर्न ‘समृद्धिका लागि वन ’ कार्यक्रम लागू गरिनेछ । जडीबुटि, कृषि वन तथा गैर–काष्ठ वन पैदावरको व्यवसायिक खेती र उत्पादन बृद्धिलाई प्रोत्साहन गरिनेछ
–जडिबुटी पहिचान, संकलन र बजार प्रबद्र्धन एवं प्रशोधनका लागि नमूना बजार संकलन तथा प्रशोधन केन्द्रको स्थापना गरिनेछ
–प्रदेशस्तरीय आधुनिक प्राणी उद्यान स्थापना गरिनेछ
–प्रदेशमा रहेका तालतलैया नदी र खोलाहरुबाट हुने जोखिम न्यूनीकरण गर्नका लागि एकीकृत जलाधार संरक्षण कार्यक्रम सञ्चालन गरिनेछ
–जलवायू अनुकूलित प्रदेश, प्रदूषण न्यूनिकरण र दीगो विकासका लागि वातावरणमैत्री नीति लिइनेछ
–प्राकृतिक स्रोतको उपयोग र व्यवस्थापनको कानुन र मापदण्डका आधारमा अनियन्त्रित र अवैध दोहनलाई नियन्त्रण र नियमन गरिनेछ
–‘सफा वातावरण, स्वच्छ जीवन’ कार्यक्रमलाई स्थानीय तहसँग समन्वय गरी अभियानको रुपमा अगाडि बढाइनेछ स्वच्छ र हरियाली वातावरणका लागि अभियानको रुपमा अगाडि बढाइनेछ । स्वच्छ र हरियाली वातावरणका लागि सार्वजनिक स्थलमा वृक्षरोपण गर्ने कार्यलाई प्राथमिकता दिइनेछ ।

ताजा समाचार

सम्बन्धित समाचार