Saturday, September 21, 2024

पत्रपत्रिकामा आज : सहरको फोहोर नदी र वनमा , बाढीसँगै बग्छ बजेट

काठमाडौं– आजका दैनिक पत्रपत्रिकाले मनसुन भित्रीएको खबरलाई उच्च प्राथमिता दिएका छन् । यस्तै सप्तरी र महोत्तरीमा बाढी नियन्त्रणका नाममा आएको बजेटले खासै काम नगरेको , सहरको फोहोर नदी र वनमा फालिएको खबर पनि पत्रपत्रिकाले प्राथमिकताका साथ प्रकाशित गरेका छन् ।
कान्तिपुर दैनिक
‘बाढीसँगै बग्छ बजेट’शीर्षकमा कान्तिपुर दैनिकमा समाचार प्रकाशित छ । अवधेशकुमार झा र रवीन्द्र उप्रेतीले सप्तरी र महोत्तरीबाट लेखेको खबरमा बर्सेनि करोडौं रुपैयाँ नदी नियन्त्रणका नाममा खर्च भएपनि बर्सेनी अधिकांश भूभाग डुबानमा पर्ने र धनजनको ठूलो क्षति हुने क्रम नरोकिएको उल्लेख छ । सप्तरी र महोत्तरीका नदी , खहरेमा बर्सेनि करोडौं खर्चिएर तटबन्ध गरिन्छ , तर न्युन बजेट , लापरबाहीपूर्ण निर्माण, कमजोर संरचना बाढीको प्रवाहमा टिक्नै सक्दैनन् । त्यति मात्र होइन , चुरे क्षेत्रमा बढ्दो पहिरो र कटानले नदीको सतह बस्ती र खेतीभन्दा अग्लो बनाएपछि जोखिम थप बढाएको खबरमा जनाइएको छ । यसैगरी तराई क्षेत्रमा हुने डुबानको समस्या पहिचान तथा दिगो समाधानका लागि नेपाल र भारतको प्राविधिक टोलीले स्थलगत अनुगमन गर्ने भएको खबर पनि कान्तिपुरमा छ । जुन खबर दिल्लीबाट सुरेशराज न्यौपानेले लेखेका छन् ।
निर्धारित मितिभन्दा दुई दिनअघि शुक्रबार नेपालमा मनसुन सुरु भएको खबर पनि छ । यसले किसानलाई धान रोप्न राहत मिल्ने देखिएको छ । झण्डै १० वर्षपछि निर्धारित मितभिन्दा अघि नै मनसुन सुरु भएको हो । सन् २००८ मा १० जुनकै दिन मनसुन सुरु भएको थियो ।
‘ खानी क्षेत्र घोषणा गर्न माग ’ शीर्षकमा प्रशान्त मालीले लेखेको समाचारमा लेले नल्लु क्षेत्रमा सञ्चालित मापदण्डविपरित खानी तथा क्रसर उद्योगहरु रहेको तस्बिर पनि प्रकाशित छ । धुवाँधूलोले बागडोलवासी मर्कामा परेको समाचार पनि यहि छ । यस्तै ‘ भुलभुलैयामा रैथाने प्रजाति’ शीर्षकमा कमल मादेनले लेख प्रकाशित गरेका छन् ।
काठ तस्करीको सशस्त्र प्रहरीले छानबिन गर्ने , हैजा देखियो लगायतका खबर पनि छन् ।

नागरिक दैनिक
नेपाली सेना चट्टानसँग भिड्दै कर्णाली कोरिडोरको सडक निर्माणमा सक्रिय भएको खबर प्रकाशित छ । गोरखा र तिब्बतको सडक बाटो जोडिदै गरेको खबर पनि छ ।

राजधानी
मौसम पूर्वानुमान महाशाखाले अघिल्लो वर्षभन्दा चार दिनअघि नै नेपालमा मनसुन प्रवेश गरेको खबर राजधानीको दोस्रो पृष्ठमा प्रकाशित छ । सविन शर्माले लेखेको समाचारमा जनाइएअनुसार एक सातामै मुलुकभर वर्षा हुने उल्लेख छ । यस्तै प्रदुषण क्रस चेकमा गृहमन्त्री र वन तथा वातावरण मन्त्री गएको फिचर सामग्री पनि सविन शर्माले नै लेखेका छन् । सो फिचरमा उपत्यकामा प्रदूषणको अवस्था , सडकको प्रदुषणसँगै भष्ट्राचार ,र यसको असर लगायतका विषयवस्तु समेटिएका छन् ।

अन्नपूर्ण पोष्ट
हिमाली क्षेत्रमा आरोहण गर्ने आरोहीका अक्सिजन नै गुणस्तरहीन भएको पाइएको खबर अन्नपूर्ण पोष्टमा छेटु शेर्पा लेख्छन् । त्यस्ता अक्सिजनको विक्रीवितरणमा ठगी गर्ने गरेको पाइएको छ । कर्मनाशा मिचेर अपार्टमेन्ट बनाउको समाचार नितु घलेले लेखेकि छिन् । दक्षिणबाट उत्तरतिर बग्ने ललितपुरस्थित कर्मनाशा खोलाको बहाव परिवर्तन गरी भूमाफियाले विभिन्न संरचना बनाएपछि जनप्रतिनिधि ‘ कर्मनाशा करिडोर ’ खुलाउने प्रयासमा छन् । भोजपुरमा वन क्षेत्र जर्बजस्ती भोगचलन गरेको समाचार पनि छ । ‘ यस वर्षको मनसुन सुरु ’ शीर्षकमा समाचार पनि अन्नपुर्णमा छ । यसैगरी कपिलवस्तुका नगरपालिकाले फोहोर व्यवस्थापन गर्न नसक्दा शहरी क्षेत्र दुर्गन्धित बनेको छ । जिल्लाका ६ वटा नगरपालिकाले अहिलेसम्म फोहोर व्यवस्थापन गर्न सकेको छैन । सहरको फोहोर नदी र वनमा फालिएको दीपक आचार्यले खबरमा उल्लेख गरेका छन् ।

नेपाल समाचारपत्र
चार दिनअगावै मनसुन भित्रिएको समाचार र सगरमाथा नाप्न २७ करोड खर्च लाग्ने प्रारम्भिक अनुमान गरिएको समाचार प्रकाशित छ । कपिलवस्तुको विजयनगर गाउँपालिका जिल्लाकै पहिलो खुला दिसामुक्त गाउँपालिका बनेको खबर पनि समेटिएको छ ।

गोरखापत्र
सप्तरीमा चुरे संरक्षणसित जोडिएका योजनामध्ये ८० प्रतिशत योजना सम्पन्न भएको पाएको छ । राष्ट्रपति चुरे तराई मधेस संरक्षण विकास समिति अन्र्तगत जिल्ला भूसंरक्षण कार्यालयले सञ्चालन गरेका विभिन्न ७३ योजनामध्ये हालसम्म ५७ वटाको काम सम्पन्न भएका छन् ।

ताजा समाचार

सम्बन्धित समाचार