Saturday, September 21, 2024

मनसुन प्रवेशको घोषणा, कुन वर्ष कहिले मनसुन भित्रियोे? हेर्नुस् १० वर्षको तथ्यांक

काठमाडौं– मौसम पूर्वानुमान महाशाखाले औसतभन्दा २ दिन अघि नै नेपालमा मनसुन प्रवेश गरेको घोषणा गरेको छ।

पूर्वानुमान महाशाखाले शुक्रबार अपराह्न बुलेट जारी गर्दै पूर्वी भेगबाट नेपालमा मनसुन प्रवेश गरेको र क्रमश पश्चिमतर्फ विस्तार हुने क्रममा रहेको जनाएको हो। नेपालमा अाैसत रूपमा जुन १० मा मनसुन भित्रन्छ।

गत वर्ष जुन १२ मा मात्र मनसुन सुरु भएकोमा यस वर्ष जुन ८ मै मनसुन प्रवेश गरेको मौसमविद बरुण पौडेलले जानकारी दिए। उनका अनुसार मनसुन केही दिन भित्रै नेपालभर फैलिने छ।

नेपालमा साधारणतया  जुन देखि सेप्टेम्बरसम्म चार महिनाको अवधिलाई दक्षिण एसियाली मनसुनको अवधि भनिन्छ।
उक्त समयमा नेपालमा वार्षिक वर्षाको करिब ८ सय ५ वर्षा हुने गर्दछ।

यस वर्षको मनसुनी वर्षा नेपालको अधिकांश भू–भागहरुमा सरदर वर्षा हुने अनुमान गरिएको महाशाखाले जनाएको छ।

सामान्यतया सरदर वर्षा भन्नाले स्थान विशेषको लामो समयको (करिब ३० वर्ष) औसत वर्षालाई बुझिन्छ। सरदर वर्षाको ९ सय ५ देखि १ हजार १ सय ५ सम्म वर्षालाई सामान्य वर्षा मानिन्छ । सो भन्दा कम र बढी वर्षा भएमा क्रमश : न्युन वा अधिक वर्षा भएको मानिन्छ।

भारतको दक्षिणी भेगका केरला, कर्नाटक, तमिलनाडु र आसपासका क्षेत्रमा सुरू भएको मनसुन भारतको मध्य भेगसम्म फैलिएकाले त्यसकोे प्रभाव छिट्टै नेपालमा देखिएको हो। भारतको केरलामा मे २९ मा मनसुन भित्रिने अनुमान गरिएपनि मे २६ मै भित्रिएको थियो।

मौसमविद् पौडलका अनुसार हिन्द महासागरमा विकास हुने मनसुनी गतिविधि बंगालको खाडी हुँदै दक्षिण भारतमा फैलिन्छ। र, क्रमशः म्यानमार, भारतकै कलकत्ता, सिक्किम, बंगलादेश हुँदै नेपालको पूर्वी भेग ताप्लेजुङ विन्दुबाट भित्रिन्छ।
नेपालको पूर्वी भेगमा भित्रिएको मनसुन पश्चिमी भेगसम्म फैलन करिब एक साता लाग्छ।

कुन वर्ष कहिले प्रवेश गर्यो मनसुन

वर्ष            मनसुन सुरु भएको मिति          मनसुन अन्त्य
सन् २००८      जुन १०                          अक्टोबर १७
सन् २००९      जुन २३                            अक्टोबर १५
सन् २०१०      जुन १७                            अक्टोबर १
सन् २०११     जुन १५                           अक्टोबर ७
सन् २०१२      जुन १६                           अक्टोबर २८
सन् २०१३     जुन १४                            अक्टोबर १९
सन् २०१४      जुन २०                            अक्टोबर ७
सन् २०१५      जुन १३                           अक्टोबर ३
सन् २०१६     जुन १५                          अक्टोबर १२
सन् २०१७     जुन १२                          अक्टोबर १६
सन् २०१८     जुन ८

यो पनि पढनुस्
मनसुन प्रवेशको घोषणाको तयारीमा महाशाखा

ताजा समाचार

सम्बन्धित समाचार