Saturday, September 21, 2024

मनसुन प्रवेशको घोषणाको तयारीमा महाशाखा

काठमाडौं– जल तथा मौसम पूर्वानुमान महाशाखा यस वर्षको मनसुन सुरू भएको घोषणा गर्ने तयारीमा छ।

गत वर्ष औसतभन्दा २ दिन पछि मात्र नेपालमा मनसुन प्रवेश गरेकोमा यस वर्ष औसतभन्दा २ दिन अघि नै मनसुन सुरु भएको घोषणाको तयारी थालिएको छ। महाशाखाले सम्भवतः शुक्रबार बेलुका वा शनिबार बिहान मनसुन सुरु भएको घोषणा बुलेटिनमार्फत् गर्दैछ।

मनसुन भित्रिएको बारे घोषणाका लागि अहिले मौसम विज्ञान विभाग र महाशाखाका मौसमविद्हरू छलफलमा छन्।

‘यस वर्ष भारतको केरला र बंगालको खाडीमा मनसुन चाँडै नै सक्रिय भएकाले नेपालमा पनि छिटो भित्रिरहेको हो,’ मौसमविद् वरुण पौडेलले भने, ‘सिस्टम मिट गरेको छ, चाँडै नै घोषणा हुन्छ।’

उनका अनुसार अहिले नेपालमा मनसुनी हावाका कारण वर्षा भइरहेको छ। नेपालको पूर्वी भुभागमा प्रि–मनसुन मनसुनमा परीणत भएको जस्तो देखिएको उनले बताए।

भारतका दक्षिणी क्षेत्रमा भारी वर्षा भइरहेका बेला नेपालको पश्चिमी क्षेत्रमा पनि बिहीबार वर्षा भएको थियो। शुक्रबार पनि काठमाडौं उपत्यकासहित देशभरका विभिन्न क्षेत्रमा वर्षा हुने महाशाखाको अनुमान छ। पूर्वी भुभागमा वर्षा भरहेको छ, भने काठमाडौंमा बदली भएको छ।

औसतमा नेपालको ताप्लेजुङमा जुन १० मा मनसुन भित्रिने गरेपनि पछिल्लो समय सन् २०१० मा मात्र औसतमा मनसुन भित्रिएको थियो।

भारतको दक्षिणी भेगका केरला, कर्नाटक, तमिलनाडु र आसपासका क्षेत्रमा सुरू भएको मनसुन भारतको मध्य भेगसम्म फैलिएकाले त्यसकोे प्रभाव छिट्टै नेपालमा देखिन थालेको हो।

भारतको केरलामा मे २९ मा मनसुन भित्रिने अनुमान गरिएपनि मे २६ मै भित्रिएको थियो। सामान्यतया भारतमा मनसुन सुरू भएको ८-१० दिनमा नेपालमा मनसुन प्रवेश गर्छ।

मौसमविद् पौडलका अनुसार हिन्द महासागरमा विकास हुने मनसुनी गतिविधि बंगालको खाडी हुँदै दक्षिण भारतमा फैलिन्छ। र, क्रमशः म्यानमार, भारतकै कलकत्ता, सिक्किम, बंगलादेश हुँदै नेपालको पूर्वी भेग ताप्लेजुङ विन्दुबाट भित्रिन्छ।

नेपालको पूर्वी भेगमा भित्रिएको मनसुन पश्चिमी भेगसम्म फैलन करिब एक साता लाग्छ। सन् २०१७ मा मनसुन जुन १२ मा भित्रिएको थियो, भने सन् २०१५ मा जुन १५ मा मनसुन सुरु भएको थियो। यस वर्ष नेपालमा औसतमा वर्षा हुने मौसमविदहरुले पूर्वानुमान गरेका छन्।

ताजा समाचार

सम्बन्धित समाचार