Saturday, September 21, 2024

महाभियानको एक वर्षभित्र अनुभूति हुने परीणाम दिन्छौं : मन्त्री बस्नेत

काठमाडौं उपत्यका लगायत देशका प्रमुख शहरहरूमा दिनप्रतिदिन फोहोर बढिरहेको छ। वायु प्रदूषणले सीमा नै नाघेकै छ।
प्रदूषण नियन्त्रणमा सम्बन्धित निकायले प्रभावकारी काम नगरेको भन्दै सार्वजनिक रुपमा आक्रोश व्यक्त भइरहेका छन्।
पछिल्लो समय काठमाडौंको वायु प्रदूषणले मानव स्वास्थ्यमा समेत गम्भीर असर देखिन थालेको छ। प्रदूषण नियन्त्रणका लागि बेलाबेलामा अभियान चलेपनि ती प्रयास निस्प्रभावकारीझै छन्।

विभिन्न वातावरणीय विषयहरूमा केन्द्रित रही रेडियो सगरमाथाका प्रतिनिधि प्रकाश भण्डारीले हाकाहाकी र रेडियो सगरमाथाका लागि वन तथा वातावरण मन्त्री शक्तिबहादुर बस्नेतसँग गरेको कुराकानीको सम्पादीत अंश :

–काठमाडौंमा प्रदूषण बढ्दो छ। नियन्त्रणका लागि के योजना छ?
प्रदूषणको समस्या बढ्दो छ। समस्याकाे  पहिचान गरी यथोचित ढंगले काम गर्नुपर्छ। फोहोर व्यवस्थापनको समस्या पनि उस्तै छ। ती समस्या समाधानका लागि २२ जेठबाट स्वच्छ वातावरण महाभियान थालेका छाैं। साझा सहकार्यको आश्यकता महसुस गरी नै महाभियानको सुरुवात गरिएको हो।

–दीगो विकासका कुरा गछौं तर, सडक निर्माणका नाममा धुलो उडाउने काम रोकिदैन। किन कारबाही हुँदैन?
नकारात्मकभन्दा पनि सकारात्मक सोचका साथ अगाडि बढौँ। महाभियान भनेको जनजागरण पनि हो। र, कानूनको मापदण्ड लागू गर्ने हिसावले पनि महत्वपूर्ण छ।

– प्लाष्टिकलाई पूरै प्रतिबन्ध लगाइँदै हो र ?
३० माइक्रोनभन्दा बढी वजनका प्लास्टिक झोला झोलाको पुनः प्रयोग गर्ने भनिएको हो। ३० माइक्रोनभन्दा कम वजनका प्लाष्टिकको झोलामाथि प्रतिबन्ध लगाउन जनचेतनामूलक कार्यक्रम हुन्छन्। मापदण्ड लागू गर्ने कुरा पनि हुन्छ। बनेका नियम कानून पनि लागु गर्नुपर्यो।

२०६८ सालमै प्लाष्टिकको झोलामा प्रतिबन्ध गर्ने निर्देशिक बनेको थियो। तर, हिजो के भयो, के भएन भन्नेतिर जानुभन्दा तिनलाइ सन्दर्भ सामग्री बनाएर जानुपर्छ। हिजो र आजको सन्दर्भ बदलिएको छ। हिजो ६ महिना, ९ महिनाका सरकार बन्थे। त्यत्तिखेर संविधान बनाउने विषय प्राथमिकतामा थियो। तर, आज सरकारले विकास र समृद्धिको विषयलाई प्राथमिकतामा राखेको छ । अहिले काम हुन्छन् कि हुँदैनन् भनेर शंकाको दृष्टिकोणले हेर्नुहुँदैन्।

–प्लास्टिकका झोला उत्पादन गर्ने उद्योगलाई कसरी व्यवस्थापन गरिन्छ ?
प्लाष्टिकका झोला उत्पादन गर्ने कम्पनी बन्द गर्नेबारे कानूनमा उल्लेख छैन। अब पुनः प्रयोग गर्ने प्याकेजका लागि सहमतिमा आउने कम्पनीसँग छलफल गर्छौं। स्वतन्त्रता उपयोग गरी वातावरण प्रदूषण गर्न पाइँदैन्। राज्यको कानून मान्नुपर्छ।

अहिले हामीसँग भएका नियमकानूनको पालना गर्दै जान्छौं। परिमार्जन गर्नुपरे त्यो पनि गर्छौं। आवश्यक परेमा नयाँ कानून पनि निर्माण गर्छाैं। अहिले म एउटा कुनै विषयमा केन्द्रित हुन चाहन्न। समग्रमा सबै विषय कार्ययोजनामा छ हामी कार्यान्वयन गछौंं।

–वातावरण प्रदूषण कर अन्यत्र खर्च हुन्छ किन?
अर्थ मन्त्रालयले यसका लागि कार्यक्रम बनाउन बारम्बार आग्रह गरिरहेको छ। यो महाभियानले पनि केही हदसम्म त गरेको छ। अब वातावरण संरक्षणका लागि त्यो रकम खर्च हुन्छ

–इँटा उद्योगको नियमन कसरी हुन्छ?
स्वच्छ वातावरण महाभियानको कार्ययोजनाले प्लाष्टिकको झोलाको मात्रै कुरा गरेको छैन। फोहोर निस्काशन गर्ने स्रोत नियन्त्रणकै कुरा गरेको छ।

वायु प्रदूषणका कारक र यसको नियमन, ठोष प्रदूषण, हरियाली प्रवद्र्धन गर्ने कुरा पनि महाभियानमा छ।

–काठमाडौंमा ढल व्यवस्थापन कसरी हुन्छ ?
ढल व्यवस्थापन कुनै एक निकायले मात्र गरेर सम्भव छैन। त्यसका लागि सबै निकायसँग समन्वयको पहल भइरहेको छ। सबै खालका फोहोर व्यवस्थापनको कुरा गरिरहेका छौं। खासगरी फोहोरको स्रोतमा नै उपचार गर्न खोजिरहेका छौं।

टोल टोलमा के गर्नु पर्छ, घर घरमा के गर्नुपर्छ, व्यवस्थापनका अरु वैज्ञानिक विधिहरु के हुन सक्छन् भन्ने विषय पनि खोजिरहेका छौं । धेरै विषय छन् यो त धेरै निकायको सरोकारको विषय पनि हो त्यसैले हामीले मात्रै होइन सबै निकायसँग काम गर्दै छौं ।

स्वच्छ वातावरण बनाउन प्राकृतिक स्रोत साधन पनि बचाउनुपर्ला। अहिले त खुलेयाम स्रोतसाधनको दोहोन भइरहेको छ। स्थानीय तहले पनि स्रोत साधनको दोहोन रोक्न सकेनन्। जस्तो कि मापदण्डविपरीत ढुंगा, बालुवाको बिक्रीवितरण भइरहेको छ । अहिले महाभियान भनेकै सबै क्षेत्रमै काम गर्ने हो, त्यसैले सबै ठाउँमा काम हुन्छ।

–महाभियानले काठमाडौं उपत्यकाको वातावरणलाई कहिले स्वच्छ बनाइसक्छ?
वातावरण स्वच्छताको प्रश्न भनेको एक दिन काम गरेर हुने होइन। यो नियमित प्रक्रिया हो। यो अभियानले एक वर्षको कार्ययोजना तय गरेका छौं।

एक वर्षमा मान्छेका आनीबानीमा परिर्वतन गर्नेछौं। नीति, नियम पालना गर्ने कुरामा हामी काम गर्ने छौं। व्यवस्थापनका नयाँ विधिको विकास हुनेछ। रोकथामका नयाँ विधि विकास गर्ने छौं। निश्चय नै एक वर्षमा केही अनुभूति हुने परीणाम दिनेछौं । अनि एक वर्षपछि नयाँ योजना निर्माण गर्ने छौं।

–महाभियानको कार्ययोजनामा नगरपालिकाका चोक–चोकमा शौचालय बनाउने भन्ने छ। अब सबै ठाउँमा शौचालय बन्छन् त?
यसका लागि हामी स्थानीय तहसँग समन्वय गर्छौं। महाभियानको महत्वपूर्ण उद्देश्य नै सबै चोक–चोकमा शौचालय बनाउने हो। शौचालय बनाएरै छाडछौं।

ताजा समाचार

सम्बन्धित समाचार