Saturday, September 21, 2024

‘प्रताप’ ल्याएपछि सदर चिडियाखानामा बाघको संख्या तीन

सदर चिडियाखानमा रहेकाे प्रताप नाम गरेकाे बाघ । 

काठमाडाैं– ललितपुरको जावलाखेलस्थित सदर चिडियाखानामा एउटा बाघ थपिएको छ।

सदर चिडियाखानामा यसअघि २ वटा बाघ रहेकोमा प्रताप नाम गरेको बाघ चितवन राष्ट्रिय निकुञ्जबाट उद्धार गरी ल्याइएको हो। अब सदरमा बाघको संख्या ३ पुगेको छ।

सदर चिडियाखानाका प्रमुख डा चिरञ्जीवि पोखरेलका अनुसार चितवन राष्ट्रिय निकुञ्ज बाहिर मानव वस्तीको छेउमा निस्केको करीब ५ वर्ष उमेर रहेको बाघलाई २ महिना अघि उद्धार गरिएको थियो।

उद्धार गरिएको बाघको उपचार पश्चात हालै मात्र चिडियाखानामा राखिएको डा पोखरेलले बताए। निकुञ्ज नजिकैको प्रतापपुर गाउँबाट उद्धार गरी ल्याइएकोले सो बाघको नाम प्रताप राखिएको उनले जनाए। सो बाघले १२ चैत २०७४ मा आक्रमण गर्दा एक जनाको ज्यान गएको थियो, भने एक जना घाइते भएका थिए।

प्रतापलाई चिडियाखानाको २ नम्बर सेक्सनमा राखिएको छ। जहाँ २ वटा ओडार छन्।

सदर चिडियाखानामा १४ वर्षको कान्छा र १६ वर्षको बाङ्गे नामका बाघ यसअघिदेखि नै रहँदै आएका छन्। पोखरेलका अनुसार घुम्ने स्थान सानो भएकाले तीन वटा बाघलाई सो सेक्सनमा एकैपटक राख्न सकिँदैन।

भाले बाघले करिव ५२ देखि ६२ वर्ग किलोमिटर र पोथी बाघले २६ देखि ३० वर्ग किलोमिटर ठाउँ घुम्नको लागि ओगट्छन्।

चिडियाखानाका सहायक क्युरेटर गणेश कोइरालाका अनुसार १६ वर्षको बाङ्गे बाघ डेढ वर्ष अघि चितवन राष्ट्रिय निकुन्जबाट उद्धार गरेर ल्याइएको हो। कान्छा र शिव बाघलाई १३ वर्ष अघि भुन्टी बाघले जन्म दिएकी थिइ। शिवको पनि अघिल्लो वर्ष मृत्यु भइसकेको छ। यस्तै भुन्टी बाघको ४ वर्ष अघि नै मृत्यु भइसकेको छ।

चिडियाखानाको अवलोकनर्ताका निम्ति राखिएका तीनवटा बाघ एउटै स्थानमा एकैपटक देख्न सकिदैन। कोइरालाका अनुसार २ वटा बाघलाई मात्र एकैसाथ देख्न सकिन्छ। ‘३ वटै भाले भएकाले जुध्ने खतरा पनि हुन्छ,’ उनले भने, ‘पालै–पालो एउटा बाघभित्र पट्टि राखिन्छ।’ उनका अनुसार २–३ दिनको फरकमा बाघलाई सार्ने गरिन्छ। चिडियाखानामा बाघको मुख्य आहारा मासु नै रहन्छ।

तीनवटै बाघलाई दैनिक ६–६ किलो मासु दिने गरेको कोइरालाले बताए। बाघलाई हप्तामा एक दिन भोकै राख्ने गरिएको छ।

‘जंगलमा रहदा पनि कति दिनसम्म बाघ शिकार बिना नै रहने भएकाले यहाँ पनि एक दिन भोकै राख्ने गरिन्छ,’ उनले भने , ‘कुनैकुनै बेला बाघले सुस्त क्रियाकलाप देखाए एक्टिभ पार्न थोरै थोरै खानेकुरा दिने गरिएको छ।’

बाघलाई हरेक दिन अपराह्न साढे ३ बजेदेखि ४ बजेसम्म खाना खुवाउने गरिन्छ। चिडियाखानामा बाघको रेखदेख गर्ने छुट्टै कर्मचारी नभएपनि २ नम्बर सेक्सनमा रहेका अर्ना, जलगैंडा, गैंडा, आसामी बाँदर, स्याल लगायतका जनावर हेर्नेले नै बाघको हेरचाह गर्ने गरेको पोखरेलले जानकारी दिए।

ताजा समाचार

सम्बन्धित समाचार