Sunday, November 24, 2024

आजको पत्रपत्रिका : वैज्ञानिक व्यवस्थापनका नाममा वन फँडानी, फास्ट ट्रयाकमा ऋण

काठमाडौं–आजका दैनिक पत्रपत्रिकामा वैज्ञानिक व्यवस्थापनका नाममा वन फँडानी, फास्ट ट्रयाकमा ऋण, १३ सय बिघा वन क्षेत्र अतिक्रमण, प्रि–मनसुनमा औसतभन्दा बढी वर्षा, चम्किलो देखाउन तरकारीमा विषादी लगायतका शिर्षकमा समाचार प्रकाशित भएका छन् ।

नागरिक दैनिक
आजको नागरिक दैनिकले ‘वैज्ञानिक व्यवस्थापनका नाममा वन फँडानी ’ भन्ने शिर्षकमा समाचार प्रकाशन गरेको छ । सर्लाहीको जानकीनगर साझेदारी वनमा भइरहेको रुख कटनप्रति जनप्रतिनिधि एवम् स्थानीय वासिन्दाले चर्को विरोध गरेका छन् । वैज्ञानिक वन व्यवस्थापनका नाममा सालका रुखहरू सर्पट कटान गरेर वन क्षेत्र उजाड बनाउन लागिएको भन्दै चर्को विरोध गरेका हुन् । ‘रुख कटानको अवस्था हेर्दा जंगल सकिएर उजाड हुने देखिन्छ’, हरिपुर नगरपालिकाका मेयर जमरुद्दिन मन्सुरले भने, ‘सालका उम्दा रुख छानी छानी काटिएका छन् , कू–काठलाई छोएकै छैन,’ समाचारमा उल्लेख छ।

त्यस्तै नागरिकमै ‘ प्रि–मनसुनमा औसतभन्दा बढी वर्षा ’ शीर्षकमा पनि समाचार छापिएको छ । प्रि–मनसुनका बेला मेघ गर्जनसहित छोटो अवधिमा वर्षा हुने भए पनि यो वर्ष भने प्रि–मनसुनको अवधिमा पनि मनसुनमा जस्तै वर्षा भएको छ । जल तथा मौसम विज्ञान विभागको तथ्यांक अनुसार यो वर्ष प्रि–मनसुनमा औसतभन्दा बढी पानी परेको समाचारमा उल्लेख छ ।

कान्तिपुर दैनिक
कान्तिपुर दैनिकले फास्ट ट्रयाकको समाचारलाई प्राथमिकताको साथ प्रकाशित गरेको छ । ‘फास्ट ट्रयाकमा ऋण’ शिर्षकमा समाचार प्रकाशित छ । स्वदेशी लगानीमै बनाउने भन्दै सुरु गरिएको तराई–मधेस द्रुतमार्गमा सरकारले विश्व बैंकको ऋण प्रयोग गर्ने भएको छ । ७२.२ किमि लामो फास्ट ट्रयाक बनाउन आन्तरिक श्रोतको अभाव हुनुका साथै आगामी वर्षबाट निर्माणका लागि उल्लेख्य बजेट आवश्यक पर्ने भएपछि सरकारले विश्व बैंकको ऋण लिन लागको हो । आगामी वर्ष ९ अर्ब ७५ करोड रुपैयाँ ऋण रकम प्रयोग गरिने समाचारमा उल्लेख छ ।

अन्नपूर्ण पोस्ट
अन्नपूर्ण पोस्टले वन अतिक्रमणको समाचारलाई प्राथमिकताको साथमा प्रकाशित गरेको छ । ‘१३ सय बिघा वनक्षेत्र अतिक्रमण’ शिर्षकमा प्रकाशित समाचारमा भनिएको छ, कैलालीको अत्तरिया आसपास वनक्षेत्रको १ हजार ३ सय बिघा जग्गा विभिन्न संस्थाले अतिक्रमण गरेका छन् । कञ्चनपुरको सिमाना चौकीडाँडादेखि चिसापानीसम्मको ९० किलोमिटर क्षेत्रमा अतिक्रमण भएको हो ।

नेपाल समाचारपत्र
नेपाल समाचारपत्रले ‘चम्किलो देखाउन तरकारीमा विषादी’ शिर्षकमा समाचार प्रकाशित गरेको छ । बजारमा भित्रिने तरकारीमा छ्यापछ्प्ती विषादीको प्रयोग हुने गरेको भेटिएको छ । बाली संरक्षण निर्देशनालयले सबै तरकारी र फलफूलमा ५ देखि १० प्रतिशतसम्म विषादीको मात्रा प्रयोग हुने गरेको बताएको छ । बाली संरक्षण निर्देशनालयका अधिकृत मानबहादुर क्षेत्रीले गोलभेंडा, करेला, काउली, सिमी, बोडीमा बढी मात्रामा विषादी प्रयोग हुने गरेको बताएको समाचारमा उल्लेख छ ।
त्यस्तै ‘निष्प्रभावी सवारी प्रदूषण परीक्षण’ भन्ने शिर्षकमा पनि समाचार प्रकाशित भएको छ । सधै सवारीको चाप र ट्राफिक प्रहरीको चहल–पहल रहने काठमाडौँको थापाथली चोकमा गत आइतबार बिहान केही पृथक दृश्य देखियो । गृहमन्त्री रामबहादुर थापा र वन तथा वातावरणमन्त्री शक्तिबहादुर बस्नेतले गाउन पञ्जा र मास्क लगाएर सवारीको प्रदूषण परीक्षण गर्न थालेपछि पैदलयात्रु र सवारी चालक निकै छक्क परे । मन्त्रीद्वय सवारीको वायु गुणस्तर परीक्षणका लागि केही बेर खटिए पनि वातावरण विभाग र यातायात व्यवस्था विभागका अधिकारीले करिब डेढ घण्टा सो कार्यलाई निरन्तरता दिए । समाचारमा उल्लेख छ ।

राजनधानी
राजधानी दैनिले अवधि सकिँदा ४० प्रतिशत मात्रै काम शिर्षकमा समाचार छापेको छ । चार जिल्लाको लाइफ लाइन लामोसाँघु–जिरी सडक स्तरोन्नतिको काम सुरु भएको दुई वर्ष बढी भइसकेको छ । ठेक्का सम्झौता भएको मितिले दुई वर्षमा काम सम्पन्न गरी सडक हस्तान्तरण गर्नुपर्ने भए पनि ठेकेदारलको लापरबाहीले तीन वर्षमा ४० प्रतिशत काम पनि पूरा नभएको समाचारमा उल्लेख छ ।

नयाँ पत्रिका 
नयाँ पत्रिकाले १० वर्षपछि समयमै मनसुन भन्ने शिर्षकमा समाचार छापेको छ । जल तथा मौसम विज्ञान विभाग पूर्वानुमान महाशाखाले यसै सातादेखि मनसुन सुरु हुने प्रक्षेपण गरेको छ । अघिल्ला वर्षको तुलनामा यस वर्षको मनसुन १–२ दिनअघिदेखि नै सुरु हुन लागेको महाशाखाले जनाएको छ। नेपालमा १० जुनमा मनसुन सुरु भई सेप्टेम्बर २३ मा सकिन्छ ।

ताजा समाचार

सम्बन्धित समाचार