Saturday, September 21, 2024

वातावरण दिवसमा कसले के भने ?

काठमाडौं– विश्व वातावरण दिवस देशभर विभिन्न कार्यक्रमहरुको आयोजना गरी मनाइएको छ । सोही दिवसको उपलक्ष्यमा वन तथा वातावरण मन्त्रालयले ललितपुरमा एक विशेष कार्यक्रमको आयोजना ग–यो । सो कार्यक्रममा प्रधानमन्त्री केपी ओली, मन्त्री तथा उच्च सरकारी कर्मचारीहरुको उपस्थिति थियो । सो कार्यक्रममा कसले के भने?   हाकाहाकीकर्मी नवीन लुर्इटेलले तयार पारेकाे सामग्री।

केपी ओली, प्रधानमन्त्री : हामीले वातावरण जोगाउने प्रतिज्ञा गरेका छौँ । गाउँदेखि पुरै देशलाई नमूना बनाउने प्रतिबद्धता हो । हामीसँग सबैथोक छ, प्रतिबद्धताको मात्र खाँचो छ । हाम्रो जीवनसँग धर्तीको सुरक्षा जोडिएको छ । हामी सानो देशमा होइन,ठुलै देशमा बसेका छौँ । हामीसँग विशालताको पक्ष छ । हामीसँग हिमाल छ,चुरे,शिवालित छ । भौगोलिक विविधताका बिचमा जैविक विविधता पनि गाँसिएको छ । प्रकृति, वनस्पती, जैविक विविधता लगायतका हिसाबले अनुकूल देश हो । तर अहिले अलिकति विग्रिएको छ ।

शक्तिबहादुर बस्नेत, वन तथा वातावरण मन्त्री : ‘स्वच्छ वातावरण महाअभियान २०७५’ को हामीले संकल्प र प्रतिवद्धता नै गरिसकेका छौँ । यो सरकारको प्राथमिकताको कार्यक्रम हो । प्रधानमन्त्रीको निर्देशनमा नै हामीले अभियानलाई सुरु गरेका हौँ । केन्द्रदेखि प्रदेश र स्थानीय तहसम्म नै साझेदारीका साथ महाअभियान अब चल्नेछ । यसलाई व्यवहारिक ढंगले अगाडि बढाउन सरकारी,गैरसरकारी,नागरिक समाज, विद्यार्थी र विभिन्न संघस्ांस्थाबाट पनि सहयोग हुनुपर्छ ।

रघुवीर महासेठ, भौतिक पूर्वाधार तथा यातायात मन्त्री : सरकारले ५ वर्षभित्र प्रदूषणमुक्त सवारीसाधन ल्याउने नीति ल्याइसकेको छ । पट्रोलियम पदार्थबाट चल्ने सवारीसाधनलाई ५० प्रतिशतमा झार्ने योजनामा सरकार छ । यति गर्न सकिएमा वातावरण जोगाउन केही हदसम्म प्रयास हुनेछ । नयाँ सडक हामीले बनाइरहेका छौँ । अढाई मिटरको फरकमा रुख रोप्ने नीति कार्यान्वयन गर्न मन्त्रालयले निर्देशन जारी गरिसकेको छ । घरको नक्सापास गर्दा पनि रुख रोप्ने नियम लागु गरेका छौ ।

डा कृष्णप्रसाद ओली, राष्ट्रिय योजना आयोगका सदस्य : हामीले आर्थिक , सामाजिक र वातावरणीय पक्षलाई ध्यान दिनुपर्छ । हाम्रो देश ग्रिन इकोनोमीमा जाँदैछ । वातावरण संरक्षणको कुरा गरिरहँदा माटो र पानी प्रदूषणका कुरा ओझेलमा परेको हो ।

डा विश्वनाथ ओली, सचिव वन तथा वातावरण मन्त्रालयः विश्व वातावरण दिवसका अवसरमा आयोजित कार्यक्रममा प्रधानमन्त्रीलाई नै प्रमुख अतिथी बनाएर स्वच्छ वातावरण महाअभियानको संकल्प गराउन पाउनु महत्वपूर्ण कुरा हो । वातावरणमा देखिएका चुनौती सामना गर्न हामी सबै हातेमालो गरेर अगाडि बढौँ । सरकारको मात्र भनेर पन्छिने होइन सहयोग गरेर पनि अगाडि बढौँ ।

विद्यासुन्दर शाक्य, काठमाडौं महानगरपालिकाका मेयर : एकदिन मात्र वातावरण दिवस मनाएर हुँदैन । हरित महानगर बनाउने सन्र्दभमा महानगरका ३२ वटै वडामा वृक्षारोपण र सरसफाई कार्यक्रम गरिएको छ । फोहोर व्यवस्थापन महानगरपालिकाको मात्र हो भने पन्छिनु भन्दा हामी सबै मिलेर व्यवस्थापनको बाटोमा लागौँ । मेट्रो रेल , विद्युतीय सवारीसाधन लगायतमा हाम्रो सहकार्य ललितपुर महानगरपालिकासँग भइरहेको छ ।

चिरीबाबु मर्हजन, ललितपुर महानगरपालिकाका मेयर : आगामी साउन १ गतेदेखि ध्वनी प्रदूषण न्यूनिकरण गर्ने योजना छ । जावलाखेल मैदानमा हुने विभिन्न ठूल्ठूला सांगितिक कार्यक्रमले चर्को ध्वनी प्रदूषण निम्ताउने हुँदा जावलाखेल र आसपासका क्षेत्र मात्र नभई महानगरभित्रै त्यस्ता ध्वनी आउन नदिने वातावरण बनाउने । ध्वनी प्रदूषण निम्तने कन्र्सट र सांगितिक कार्यक्रमले नजिकै रहेको सदर चिडियाखानाका वन्यजन्तुमा धेरै असर गरेको छ । यहाँ भएको कन्सर्टको आवाज मंगलबजारसम्म सुनिन्छ । त्यसैले अब यस्ता ध्वनीलाई जथाभावी बढाउन हामी दिदैँनौ । हामीले वृक्षारोपण कार्यक्रमका लागि मात्रै वृक्षारोपण नगरौँ । अघिल्लो वर्ष रोपेको वृक्ष कति वढेको छ भन्नेमा पनि ख्याल राखौँ । रुख रोप्दा कम्तिमा ८ फिट या १० फिटको फरकमा रोपौँ , जसले गर्दा रुख बढेपछि फेद फरक भएपनि हाँगाविँगा जोडिँदा सुन्दर देखिन्छ ।

ताजा समाचार

सम्बन्धित समाचार