काठमाडौं– बारा जिल्लामा पर्ने प्रस्तावित निजगढ अन्तर्राष्ट्रिय विमानस्थल निर्माणका लागि साढे २४ लाख रुख कटान गर्दा त्यसको क्षतिपूर्ति बापत ६ करोड विरुवा रोप्नुपर्ने देखिएको छ।
कोल्हवी नगरपालिका र जीतपुर उपहानगरपालिकामा पर्ने उक्त क्षेत्रमा रहेका ५ लाख ८५ हजार ४ सय ९९ रुख र १८ लाख ६४ हजार ८ सय २० रुखका पोल (खम्बा आकारका रुख) गरी २४ लाख ५० हजार ८ सय २१ रुख कटान गर्दा सोधभर्नाबापत ६ करोड १२ लाख ७० हजार ५ सय २५ विरुवा रोप्नुपर्ने वातावरण प्रभाव मूल्यांकन (इआइए) प्रतिवेदनमा उल्लेख छ।
सो परिमाणमा विरुवा रोप्न ३८ हजार २ सय ९४ हेक्टर क्षेत्रफल आवश्यक पर्ने छ, भने प्रति विरुवा १ दशमलव २५ मिटरको दुरीमा रोप्नुपर्ने छ।
वन तथा वातावरण मन्त्रालयका सहसचिव चन्द्रमान डंगोलका अनुसार विरुवा रोप्न संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले रकम उपलब्ध गराउने छ। त्यसका लागि १३ अर्ब ९७ करोड ७३ लाख १० हजार रुपैयाँ उड्डयनले उपलब्ध गराउन इआइएमा उल्लेख छ। उक्त रकम विरुवा रोप्न र पाँच वर्षससम्म गोडमेल, हेरचाह बापतको हो।
बारामा जमिन नभेटिएमा सीमा जोडिएका जिल्लामा पनि विरुवा रोप्न सकिने उल्लेख गर्दै सहसचिव डंगोलले भने, ‘निजी जमिनमा विरुवा रोप्ने कुरा भएन। हैसियत बिग्रिएको जंगल, खोला किनारा तथा अन्य क्षेत्रमा विरुवा रोप्छौं।’
सहजनाथ र ताभागढी साझेदारी वन क्षेत्र तथा टँगिया वृक्षरोपण क्षेत्रले ओगटेको प्रस्तावित विमानस्थल निर्माण क्षेत्रमा प्रतिहेक्टर ३ हजार ९ सय बोटविरूवा रहेको प्रतिवेदनमा उल्लेख छ। जहाँ १ लाख ९८ हजार ४ सय ५० छिपिएका सालका रुख र ४ लाख ५ हजार गोटा सालका पोल रहेका छन्।
विमानस्थल निर्माणका लागि आवश्यक पर्ने ८ हजार ४५ दशमलव ७९ हेक्टर क्षेत्रफल जमिनमध्ये ७ हजार ९ सय ६९ दशमलव ३७ हेक्टर वन क्षेत्र रहेको छ, भने ६२ दशमलव ४२ हेक्टरमा सुकुम्बासी बसोबास र बाँकी ९ हेक्टरमा निजी बसोबास रहेको छ। उक्त विमानस्थल क्षेत्रभित्र पर्ने १ हजार ४ सय ९४ घरपरिवार रहेको बस्ती स्थानान्तरण गर्नुपर्नेछ। ती परिवारका हरेक सदस्यलाई रोजगारीका लागि प्राविधिक ज्ञान वा तालीम दिइने इआइएमा उल्लेख छ।
इआइए प्रतिवेदनमा भनिएको छ, ‘प्रस्तावित विमानस्थल क्षेत्र घना जंगलमा पर्दछ। आयोजना अन्तर्गत पर्ने सो जंगलमा धेरै सालको वन, तराईको कडा काठ, खयर र सिसौं रहेका छन्।’
प्रतिवेदन अनुसार रुख कटान गर्दा वनमा २१ अर्ब २१ करोड ५७ लाख १० हजार रुपैयाँको प्रत्यक्ष क्षति पुग्ने छ, भने ५ सय ९६ अर्बको काठ, दाउरा उत्पादन हुनेछ। जसबाट सरकारले १५ अर्ब रोयल्टी प्राप्त गर्ने आँकलन गरिएको छ। त्यसबाहेक १४ करोड ९५ लाख ८० हजार रुपैयाँ अतिरिक्त लाभ हुनेछ, भने न्यूनिकरणमा लाग्ने ३ करोड ८९ लाख २९ हजार ३ सय ३० रुपैयाँ वातावरण इकाइको कार्य सञ्चालनमा खर्च गरिनेछ। जुन रकम पुनर्वास बाहेकको हो।
निर्माणस्थल जैविक विविधतायुक्त क्षेत्र
प्रस्तावित निजगढ अन्तर्राष्ट्रिय विमानस्थल जैविक विविधतायुक्त क्षेत्र हो। जहाँ २३ प्रजातीका वन्यजन्तु, ५ सय प्रजातीका चराचुरुङ्गी तथा साल, सिसौं, खयर जातका वनस्पती पाइन्छन्।
इआइए प्रतिवेदनमा भनिएको छ, ‘…एसियन हात्ती, बाघ, सारस लगायतका जीवजन्तु पाइन्छन्। तर, त्यहाँ ती जीवजन्तुको स्थायी बसोबास छैन। विमानस्थलको उत्तरतर्फ रहेको पर्सा राष्ट्रिय निकुञ्जबाट आएका जीवजन्तु हुन्।’ उक्त क्षेत्रमा मृग, बदेंल, दुम्सी लगायत जीवजन्तुको स्थायी बसोबास रहेको प्रतिवेदनमा उल्लेख छ।
डब्लुडब्लुएफ नेपालका वरिष्ठ निर्देशक सन्तोषमणि नेपाल पनि जैविक विविधतायुक्त रहेको उक्त वन क्षेत्र ‘हात्तीको कोरिडोर’ रहेको बताउँछन्। उनी भन्छन्, ‘विमानस्थल बन्न लागेको क्षेत्र जैविक विविधतायुक्तसँगै हात्तीको कोरिडोर हो। अब उस्तै वन बनाउन चुनौती हुनेछ।’
मिश्रित भावर रहेको यो वन पूर्वपश्चिम राजमार्गको उत्तरी सीमामा अवस्थित छ। पूर्वमा बालबकैया नदी र पश्चिममा पसाह नदी बहन्छन। पसाहमा सुख्यायाममा मुस्किलले पानी बहन्छ भने लालबकैयामा सुख्खायाममा पनि पानी बहन्छ। तर, बर्खामा बाढी आउने गरेको र रुख कटान पश्चात यसले वातावरणीय चक्रमा प्रभाव पार्न सक्नेमा इआइए प्रतिवेदनले संकेत गरेको छ।
विमानस्थल आयोजना क्षेत्रको दक्षिणी भागमा ६ वटा नाला रहेका छन्। ती नालाबाट सञ्चालित ७ वटा सिंचाइ आयोजनाबाट ३ हजार ९ सय विगाह जमिन सिंचित हुने गरेको इआइएमा उल्लेख छ। ‘आयोजना निर्माणले नदी, पोखरीमा पर्ने प्रभाव तथा यीनमा आधारित खानेपानी र सिंचाइमा पर्ने प्रभाव निराकरण गर्नुपर्ने देखिन्छ,’ प्रतिवेदनमा भनिएको छ।
आयोजना निर्माणले वायु प्रदूषण, ध्वनी प्रदूषण, भूक्षय, सुक्ष्म वातावरणीय प्रभाव पर्न सक्ने भन्दै इआइए प्रतिवेदनमा भनिएको छ, ‘फ्रेबअरीदेखि मे महिनासम्म आयोजना आसपासका क्षेत्रमा सवारीसाधनको मासिक प्रदूषण जाँच गरिनेछ।’
विमानस्थल निर्माणका लागि आवश्यक पर्ने ढुंगा, गिट्टी, बालुवा पनि पसाह र लालबकैया नदीबाट झिकिनेछ। ‘निर्माण सामग्री योजनावद्ध ढंगबाट निकालेर नदी नियन्त्रण र ढलको व्यवस्थापन गर्ने,’ इआइए प्रतिवेदनमा उल्लेख छ।
नेपाल नागरिक उड्डयन प्राधिकरणले गत भदौमा विमानस्थल निर्माणका निम्ति रुख कटान गर्ने तथा विमानस्थल निर्माण क्षेत्रमा चक्रपथ निर्माण गर्ने जिम्मा नेपाली सेनालाई दिइसकेको छ।
विमानस्थल निर्माणका लागि रुख काट्न कम्तिमा दुई वर्ष लाग्ने र सम्पूर्ण निर्माणको काम सक्न पाँच वर्ष लाग्ने अनुमान गरिएको छ । इआइए प्रतिवेदन १० जेठमा स्वीकृत भएसँगै अब रुख कटानीको प्रक्रियाका लागि काम भइरहेको संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सहसचिव बुद्धिसागर लामिछाने बताए।
विमानस्थलको लागत ६ सय ५६ करोड डलर
विमानस्थलको क्षेत्र ८ हजार ४५ दशमलव ७९ हेक्टर भएपनि १ हजार ९ सय हेक्टरमा विमानस्थलको संरचना निर्माण हुनेछ। विमानस्थलको लागत ६ सय ५६ करोड अमेरिकी डलर अनुमान गरिएको इआइए प्रतिवेदनमा उल्लेख छ।
त्रिभुन अन्तर्राष्ट्रिय विमानस्थलको बैकल्पिक विमानस्थलका रुपमा लिइएको विमानस्थल लम्बाई पूर्वपश्चिम राजमार्गतर्फ १० किलो मिटर र चौडाई ८ किलो मिटर गरी ८० स्क्वायर किलोमिटरमा बन्न लागेको हो। ४ हजार मिटर लामो र ४५ मिटर फराकिलो तथा दोहोरो धावन मार्ग हुनेछ।
उक्त धावनमार्गमा हाल विश्व बजारमा उत्पादन भएका सबैजसो अत्याधुनिक वाइडबडी जहाज उडान र अवतरण गर्न सक्छन। निर्माण सम्पन्न भएपछि वार्षिक ६ करोड यात्रु धान्न सक्ने उक्त विमानस्थल टर्मिनल भवनमा ६ वोर्डिङ गेट, ३४ चेक इन काउन्टर, ६ सुरक्षा जाँच, ३५ अध्यागमन, ८ भन्सार जाँच काउन्टर रहने बताइएको छ।
(साेधभर्नाबापत ६ कराेड १२ लाख ७० हजार ५ सय २५ विरूवा राेप्नुपर्ने हुनुपर्ने ठाउँमा अन्यथा भएकाेले सच्याइएकाे छ।) सं.
यो पनि पढनुस्
निजगढ अन्तर्राष्ट्रिय विमानस्थलः साना(ठूला २४ लाख रुख काटिने, रोप्ने ठेगान छैन
निजगढ अन्तर्राष्ट्रिय विमानस्थलको इआइए स्वीकृत