Friday, September 20, 2024

मोनोरेल सञ्चालन सम्भाव्यता अध्ययन गर्ने जिम्मा चिनीयाँ कम्पनीलाई

काठमाडौ– चीनको एक कम्पनीलाई चक्रपथमा मोनोरेल सञ्चालन सम्भाव्यता अध्ययन गर्ने जिम्मा दिइएको छ ।

चक्रपथमा रेल सञ्चालनको संभाव्यता अध्ययन गर्न चाइना रेल–वे २५ औं व्युरो ग्रुप कम्पनीलाई जिम्मा दिइएको हो ।

शुक्रबार भृकुटीमण्डपस्थित राष्ट्रिय सभा गृहमा आयोजना गरिएको एक औपचारिक कार्यक्रममा महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्य र रेल–वेका महाप्रबन्धक लि होङ्गकीले अध्ययन सम्बन्धी सहमति पत्रमा हस्ताक्षर गरेका छन् ।

सम्झौता पत्रमा हस्ताक्षर गरिसकेपछि कम्पनीका महाप्रवन्धक होङ्गकीले आफू काठमाडौंको सहरी यातायात व्यवस्थापनमा थप जिम्मेबार भएको उल्लेख गरेका छन् ।

उनले तोकेको समयमा रेल सञ्चालन सम्भाव्यता अध्ययन सम्पन्न गर्ने प्रतिवद्धता पनि जनाए । सम्झौता अनुसार पहिलो महिना अध्ययन आधार तयार गरेर थालनी हुने सम्भाव्यता अध्ययनको अन्तिम प्रतिवेदन ६ महिनामा पेस हुनेछ ।

कार्यक्रममा ललितपुर महानगरका मेयर चिरीबाबु महर्जन, काठमाडौं महानगरकी उपमेयर हरिप्रभा खड्गी श्रेष्ठ, महानगरका प्रमुख प्रशासकीय अधिकृत यादव कोइराला लगायत अधिकारी सहभागी थिए ।

महानगरले मोनो रेल सञ्चालन सम्बन्धी प्रकाशन गरेको आशय पत्रमा रेल–वे ग्रुपले वैशाख २० गते महानगरमा इच्छापत्र बुझाएको थियो । यसका आधारमा महानगरको वैशाख २४ गतेको प्रमुख स्तरीय निर्णयबाट शुक्रबार रेल्वे कम्पनीसँग सम्झौता गरिएको हो ।

यस सम्झौता अनुसार रेल–वे कम्पनीले चक्रपथमा मोनो रेल चलाउन आर्थिक, प्राविधिक तथा दिगोपना जस्ता पक्षमा अध्ययन गर्ने तथा प्राप्त सम्भावनाका उपयुक्त विकल्पहरु शिफारिस गर्नेछ ।

सम्झौता समारोहमा बोल्दै, महानगरका प्रमुख विद्यासुन्दर शाक्यले आफ्नै पालामा मोनोेरेल सञ्चालन गर्ने प्रतिवद्धता दोहो¥याए ।

‘मोनोरेल चलाउँछौं भनेकै एक वर्ष भइसक्यो । विधि मिलेपछि काम गर्ने बाटो खुल्छ । काम थालनी भएपछि रेल सञ्चालन हुन समय लाग्दैन’, मेयर शाक्यले भने, ‘हामी त्यही दिशामा लक्षित छौं ।’

कार्यक्रममा बोल्दै ललितपुर महानगरका प्रमुख चिरीवाबु महर्जनले, आफू महानगरवासीलाई सरल जीवनयापन गर्ने सुविधाको सुन्दर उपहार दिन लागिरहेको बताए । अहिलेको चक्रपथमध्ये १० किलोमिटर खण्ड आफ्नो भूगोलमा रहेको जनाउँदै मेयर महर्जनले यस क्षेत्रमा काम गर्न आवश्यक वातावरण तयार पार्न आफू तत्पर रहेको उल्लेख गरे ।

मोनोरेल निर्माण, व्यवस्थापन तथा सञ्चालन कार्यले काठमाडौंसँगै ललितपुर महानगरको समृद्धिसँग पनि उत्तिकै सम्बन्ध राख्ने महानगरको सार्वजनिक निजी साझेदारि इकाइका प्रमुख महेश काफ्लेले बताए । उनले सम्भाव्यता अध्ययनबाट प्राप्त सूचना र प्रगतिका हरेक सवालमा ललितपुर महानगरसँग सहकार्य गरिने प्रतिवद्धता जनाए ।

‘मोनोरेल निर्माण, सञ्चालन, व्यवस्थापन तथा यसको दिगोपना अध्ययनका मूख्य आधार रहेका छन् । यो अध्ययन गर्दा नेपालको प्रचलित कानून र यसले गरेका व्यवस्थाका आधारमा गरिनेछ,’ उनले भने ।

ताजा समाचार

सम्बन्धित समाचार