Friday, September 20, 2024

जैविक विविधता नै नेपालको सम्पत्ति : मन्त्री बस्नेत

काठमाडौं – वन तथा वातावरण मन्त्री शक्ति बस्नेतले जैविक विविधताबाटै नेपाललाई सम्पन्न बनाउन सकिने बताएका छन् ।
उनले नेपाल भूगोलका हिसाबले सानो भएपनि जैविक विविधतामा संसारकै धनी देशका सूचीमा रहेको बताए।

ललितपुरको खुमलटारमा आयोजित अन्तर्राष्ट्रिय जैविक विविधता दिवसको अवसरमा मन्त्री बस्नेतले देशको पूँजी भनेकै जैविक विविधता रहेको उल्लेख गरे।  ‘जैविक विविधता नै देशको पूूँजी एवं सम्पत्ति हो,’ उनले भने, ‘पूँजीलाई बाकसमा राखेको पैसा जस्तो नबनाऔँ, यसलाई पूँजीकृत गरेर लैजाऔँ ।’

बस्नेतले जैविक विविधताको संरक्षण र अनुसन्धानमा परम्परागत ज्ञानको भण्डारलाई आधुनिक विज्ञानसँग कसरी जोड्ने भन्नेतर्फ ध्यान दिन सम्बन्धित सरोकारवालालाई आग्रह गरे। जैविक विविधताको लाभ मानिसले मात्र नभई सम्पूर्ण प्राणीले लिइरहेको उनले बताए।

जैविक विविधताको संरक्षण गरिरहदा त्यसको व्यवहारिक पक्षमा ध्यान दिनुपर्ने उनको जोड छ। मन्त्री बस्नेतले मानिसलाई केन्द्रमा राखेर गरिने जैविक विविधता संरक्षणका काम प्रभावकारी र दीगो हुने बताए। ‘संरक्षणको कुरा गरिरहदा मानिसलाई अलग राख्दा यसको उपलब्धि के रहन्छ,’ उनले भने, ‘त्यसतर्फ पनि संरक्षणकर्मी र वैज्ञानिकले ध्यान दिऔँ।’

उनले भएका स्रोतको बैज्ञानिक प्रयोग र लाभको समन्यायीक वितरण गर्नुपर्नेमा जोड दिए। ‘सरकारले समृद्ध नेपाल खुसी नेपाली भन्ने सङ्कल्प लिएर अगाडी बढाइरहेको छ, ’ उनले भने, ‘जैविक विविधतालाई आर्थिक समृद्धिसँग जोड्ने सम्भावना प्रशस्त छन्।’

‘जैविक विविधता महासन्धिका २५ वर्षः पृथ्वीमा सुरक्षित जीवनको सुनिश्चितता’ भन्ने नाराका साथ आयोजित कार्यक्रममा राष्ट्रिय योजना आयोगका सदस्य डा. कृष्णप्रसाद वलीले जैविक विविधता संरक्षणमा संलग्न व्यक्तिका जोखिम न्यूनीकरण गर्न र उनीहरुलाई प्रोत्साहन दिन सम्बन्धित पक्षले विशेष ध्यान दिनुपर्नेमा जोड दिए।

जैविक विविधताको अध्ययन अनुसन्धानमा भएका धेरै लगानी विदेशतीरै जाने भन्दै उनले यसतर्फ बेलैमा ध्यान दिएर आफ्नै देशमा भएका जनशक्तिलाई परिचालन गरिने बताए। उनले यससम्बन्धि अध्ययन अनुसन्धानका् लागि हामीसँग राम्रा राम्रा वैज्ञानिक रहेको उल्लेख गरे। उनले अनुसन्धानकर्ताको क्षमता बृद्धि गराउनेतर्फ सरकार लाग्नुपर्नेमा पनि जोड दिएका छन्।

वन तथा वातावरण मन्त्रालयका सचिव डा. विश्वनाथ ओलीले नेपाल जैविक विविधता महासन्धिको पक्ष राष्ट्र भएपछि यस क्षेत्रमा उल्लेख्य उपलब्धि हासिल भएको बताए। उनले नीति तथा कार्यक्रममा जैविक विविधता संरक्षण समावेश भएकाले सरकार जैविक विविधता संरक्षणमा संवेदनशिल रहेको स्पष्ट पारे।

कृषि, भूमि व्यवस्था तथा सहकारी सचिव डा. युवकध्वज जिसीले जैविक विविधताको कुरा गर्दा साना प्राणी, कीट पतङ्गका कुरा ओझेलमा परेर आउने गरेको यथार्थलाई उजागर गरे। उनले ठूला प्राणीको संरक्षण बढी प्राथमिकतामा परेपनि साना प्राणी, कीट पतङ्गलाई बिर्सन नहुने बताए।

उनले वन, वनस्पती, वन्यजन्तु, फ्लोरा, फ्युना, जडिबुटी, चरासँगै कृषि उपजको पनि महत्वपूर्ण भूमिका रहने उल्लेख गरे। उनले रासायनिक विषादीको न्यायोचित ढंगले प्रयोग गर्न कीराको पनि संरक्षण गर्नुपर्ने बताए। सचिव डा जिसीले जैविक विविधताको संरक्षणका विषयमा मानव र वन्यजन्तुको द्वन्द्वका कुरा पनि पेचिलो बनेर आएको स्पष्ट पारे।

वातावरण तथा जैविक विविधता महाशाखाका प्रमुख डा. महेश्वर ढकालले महासन्धिपछि नेपालले हासिल गरेका उपलब्धि र त्यसमा देखिएका चुनौतीका विषयमा प्रस्तुति दिएका थिए। उनको प्रस्तुतीमा नेपाल जैविक विविधताको हिसाबले नेपाल विश्वमै अब्बल रहेको देखाइएको छ।

नेपालमा विभिन्न दुर्लभ वन्यजन्तुदेखि लिएर विभिन्न वनस्पती र चराचुरुङ्गी पाइने हुँदा जैविक विविधताको हिसाबले अब्बल मानिएको महाशाखा प्रमुख डा. ढकालले बताए। ‘विश्वमा नेपालको क्षेत्रफल अत्यन्त न्युन छ,’ उनले भने, ‘तैपनी यहाँ विभिन्न चराचुरुङी, स्तनधारी तथा साना जनावर, विभिन्न वनस्पती, जडिबुटी पाइन्छन् जुन विश्वमै दुर्लभ पनि छन्।

उनका अनुसार संसारका १० प्रतिशत चरा यही पाइन्छन्। कार्यक्रममा जैविक विविधता सम्बन्धी भिडियो प्रदर्शन गरिएको थियो।

यसैगरी जैविक विविधतासम्बन्धी विभिन्न पुस्तक विमोचन गरिएको थियो। जसमा नेपालका जैविक विविधता सम्बन्धि फोटो किताब, राष्ट्रिय रामसार रणनीतिक योजना, वन्यजन्तुका आखेटोपहार व्यवस्थापन सम्बन्धि पुस्तक, जैविक विविधता संरक्षणमा २५ वर्षे उपलब्धि लगायत छन्।

हरेक वर्षको मे २२ तारिखमा यो दिवस मनाउने गरिन्छ। सन् १९९२ मा ब्राजिलमा सम्पन्न पृथ्वी शिखर सम्मेलनले जैविक विविधता महासन्धी पारित गरेपछि सन् १९ सय ९४ देखि हरेक वर्षको मे २२ का दिन विश्व जैविक विविधता दिवस मनाउन सुरु गरिएको हो।

ताजा समाचार

सम्बन्धित समाचार