८ कात्तिक, काठमाडौँ ।
यो साता देशका अधिकांश भेगमा मध्यमदेखि हल्का वर्षा हुने भएको छ ।
बंगालको खाडीमा विकसित न्युनचापीय प्रणाली शक्तिशाली चक्रवात प्रणालीमा रूपान्तरण हुने क्रम बढेसँगै त्यसको प्रत्यक्ष प्रभाव नेपालमा पनि पर्ने भएको हो ।
यसको प्रभावले हिमाली तथा उच्च पहाडी क्षेत्रहरूमा हिमपात हुने नेपाल मौसम विज्ञान विभागको प्रक्षेपण छ । बुधबार (११ कात्तिक) देखि शुक्रबार (१३ कात्तिक) सम्म मौसम प्रभावित हुने विभागको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
महाशाखाले आगामी ५ दिनसम्म नेपालको मौसमी अवस्थाको पूर्वानुमान आज सार्वजनिक गरेको हो । विभागका मौसमविद् रोजन लामिछानेले भने, ‘बुधबारदेखि वर्षा र हिमपात सुरू हुने सम्भावना छ । आगामी शुक्रबारसम्म देशका विभिन्न भू–भागमा मौसममा बदली हुने तथा वर्षा र हिमपातको पनि सम्भावना छ ।’
वर्षा तथा हिमपातको असरले दैनिक जनजीवन, पर्यटन, पर्वतारोहण, सडक तथा हवाई यातायातमा असर पर्न सक्ने बताउँदै महाशाखाले अद्यावधिक मौसमी सूचना लिएर मात्रै आफ्ना योजना बनाउन महाशाखाले अनुरोध गरेको छ ।





