एकपछि अर्को बाढीको कहरमा नेपाल

२५ असोज, काठमाडौँ ।

भोटेकोशी बाढीको चोट आलै रहेका बेला नेपालले फेरि अर्को भीषण बाढी भोगेको छ ।

आइतबार विहान (२५ असोज)को बूढीगण्डकी बाढीले ठूलो जनधनको क्षति गराएको छ । बाढीले बूढीगण्डकी नदी खण्डका साना ठूला ६ वटा पुल बगाएको छ ।

बाढीले २ वटा मोटरेबल र ४ वटा झोलुंगे पुल बगाएको गोरखाका सहायक प्रमुख जिल्ला अधिकारी नेत्रप्रसाद शर्माले बताए । उनका अनुसार बाढीले आरूघाट र धादिङको त्रिपुरासुन्दरी तथा आरूघाटको सोती र मान्बु जोड्ने पक्की पुल बगेका छन् ।

बाढीले धार्चेगाउँपालिका–१ र ३ जोड्ने बेलिब्रिज पनि बगाएको छ । त्यसैगरी, माछिखोला र केरौँजा जोड्ने झोलुंगे पुल, चुमनुब्रीको ठाडो भर्याङ र जगत जोड्ने पुल र सिर्दिबासको घट्टेखोला र फिलिमजोड्ने झोलुंगे पुल पनि बगेका छन् । बाढीले चुमनुब्रीगाउँपालिका– ३ पैयुँ र बगरका करिब ३५ घर पनि बगाएको छ । बाढीबाट जगत, सल्लेरी, दोभान र घट्टेखोलागाउँमा पनि क्षति भएको छ । यो बाढीमा कम्तीमा आइतबार अपराह्सम्ममा १० जना सम्पर्कविहीन भएका छन् ।

गोरखाको चुमनुव्री गाउँपालिका–६ लोक्पा र चुम्लिङबिचमा खसेको ठूलो पहिरो पश्चात बूढीगण्डकी नदीमा बाढी आएको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जनाएको छ । चुमनुव्री गाउँपालिका–६ चुम्चेतको उङ्गिलुङ र तल्लो तटीय क्षेत्र बाढीबाट प्रभावित बनेको प्राधिकरणकी प्रवक्ता शान्ति महतले बताइन् ।

उनले भनिन्, ‘बाढीले गोरखाका विभिन्न स्थानमा घर, झोलुंगे र पक्की पुल, विद्युत्का खम्बा तथा टेलिफोन टावरमा क्षति पु¥याएको छ । गोरखाको धार्चे गाउँपालिका–३ सल्लेरीस्थित निर्माणाधीन टाइम्स ऊर्जा प्रालि र आसपासका सातदेखि आठवटा घर बगाएको छ ।’

महतका अनुसार चुमनुब्री गाउँपालिका–३ न्याकचेतमा न्याकचेतबाट सिर्दिबास जोड्ने पुरानो झोलुंगे पुल बगाएको छ भने सोही स्थानमा एउटा घर बगाएको र अर्को घरमा बाढी पसेको छ । धार्चे गाउँपालिका–५ माछिखोला–केरौजा जोड्ने झोलुंगे पुलसमेत बगाएको उनले जानकारी दिइन् ।

त्यसैगरी आरूघाट गाउँपालिका–९ नयाँपुलस्थित गोरखाबाट धादिङ जोड्ने पक्की पुलको गोरखातर्फको एक भाग बगाएको छ । आरूघाट गाउँपालिका–२ र ३ जोड्ने सोतीस्थित फलामे पक्की पुल पनि बाढीले बगाएको छ । माछीखोलाको तल्लो बस्तीमा बाढी पसेपछि त्यहाँका २० भन्दा बढी घर जोखिमा छन् ।

महतले भनिन्, ‘बाढीले बूढीगण्डकी जलविद्युत् आयोजनाको ३ सय ४१ मेगावाट क्षमताको मुख्य क्याम्प क्षेत्र र केही निर्माण उपकरणसमेत बगाएको छ । बाढीका कारण २ वटा टेलिफोन टावर र ५० वटा विद्युत्का खम्बामा क्षति पुगेको छ ।’

यसैबीच बूढीगण्डकी बाढी प्रभावितहरूलाई नेपाली सेनाले विभिन्न क्षेत्रबाट उद्धार गरेको छ । आइतबार अपराह्सम्ममा ४९ जनालाई उद्धार गरेर सुरक्षित स्थानमा पु¥याइएको सेनाले जनाएको छ । सेनाका अनुसार ४ वटा हेलिकोप्टरसहित स्थलमार्गबाट स्थानीय बासिन्दा र पर्यटकको उद्धार गरिएको हो ।

उद्धार गरिएकामध्ये जगतबाट गोरखासम्म ६ जना, फिलिमबाट हुल्चुकसम्म ४ जना, यारूबाट हुल्चुकसम्म १५ जना, हुल्चुकबाट फिलिमसम्म १ जना, नाम्रुङबाट फिलिमसम्म २ जना, न्याक्फेदीबाट न्याकडाँडासम्म ९ जना र पायुबाट सल्लेरी (नयाँबस्ती) सम्म १२ जनालाई हेलिकोप्टरमार्फत सुरक्षित स्थानमा पु¥याइएको हो । अन्य सुरक्षा निकाय तथा सम्बन्धित निकायसँग समन्वय गरी थप खोज तथा उद्धार कार्य जारी रहेको सेनाले जनाएको छ ।

ताजा समाचार

सम्बन्धित समाचार