पर्वत पोर्तेल
२७ भदौ, विराटनगर ।
झापाको बुद्धशान्ति–३, चिलिमकोटमा गत ५ वैशाखमा हरिणको सिङको मोलमोलाइ भइरहेको सूचना पाएर प्रहरी पुग्यो । प्रहरी पुग्दा सशस्त्र प्रहरी पनि त्यहाँ पुगिसकेको थियो । तस्कर भनिएका व्यक्तिहरू सिङ छाडेर भागिसकेका थिए ।
तर, सिङ कसले ल्यायो ? कहाँबाट ल्याइयो ? कसलाई बेच्न खोजिएको थियो ? र त्यसको गन्तव्य कहाँ थियो ? पाँच महिना बितिसक्दा पनि यी प्रश्नको पूर्ण उत्तर अनुसन्धानबाट सार्वजनिक हुन सकेको छैन ।
सशस्त्र प्रहरीले बरामद गरेको सिङ डिभिजन वन कार्यालय झापालाई बुझाएको थियो । विस्तृत अनुसन्धानका लागि अधिकृत सुरज निरौलालाई अनुसन्धान अधिकृत तोकिएको छ । ‘अनुसन्धान जारी छ, सकिएपछि विस्तृत विवरण सार्वजनिक गरिनेछ,’ निरौला भन्छन् ।
चिलिमकोटमा बेवारिसे अवस्थामा भेटिएको हरिणको सिङ मात्र होइन, पछिल्लो समय झापा, मोरङ र सुनसरीमा हात्ती मारिएका घटना, चितलका सिङ बरामद भएका प्रकरण र सीमापारि भारतमा पक्राउ परेका वन्यजन्तु तस्करीका अभियुक्तका घटनाक्रमलाई एकै ठाउँमा राख्दा वन्यजन्तुको अंगको अवैध कारोबार स्थानीय सिकारी वा भरियाको तहमा मात्र सीमित नरहेको संकेत देखिन्छ । घटनाको प्रकृति र तस्करीका सम्भावित मार्गले यसलाई सीमापारि फैलिएको संगठित कारोबारसँग जोडेर हेर्नुपर्ने अवस्था देखाएको छ ।
यसको गम्भीर उदाहरण झापाकै मेचीनगर–१३ स्थित कालिका सामुदायिक वनमा ४ वैशाख, २०८१ मा भेटिएको वयस्क हात्ती हो । करिब ४५ वर्षको उक्त हात्ती मरेको ४० घण्टा जति भइसकेको हुन सक्ने विज्ञहरूको प्रारम्भिक अनुमान थियो । तर, मृत्युको कारणभन्दा बढी रहस्यमय थियो– हात्तीका दुवै दाह्रा गायब भएको घटना ।
स्थानीयले हात्ती देखेपछि वन कार्यालयलाई खबर गरेका थिए । घटनास्थल पुगेका डिभिजन वन कार्यालय झापाका तत्कालीन प्रमुख मेघराज राईले धारिलो हतियार प्रयोग गरेर दाह्रा काटिएको दाबी गरेका थिए । हात्तीका दाह्रा मात्र होइन, पुच्छरका रौंसमेत निकालिएको थियो । घटनास्थलको दृश्यले हात्ती प्राकृतिक कारणले मरेको भन्दा पनि त्यसका अंग निकाल्ने उद्देश्यले मारिएको हुन सक्ने आशंका जन्माएको थियो ।
हात्तीको एउटा मृत शरीरबाट निकालिएका दाह्रा र पुच्छरका रौंले एउटा ठूलो प्रश्न जन्मायो– के वन्यजन्तुको अंगको कारोबारमा संलग्न समूहले झापाका वन क्षेत्रमा हात्तीलाई निशाना बनाउन थालेका हुन् ?
नेपालमा जंगली हात्तीको संख्या नै सानो छ । सरकारले तयार पारेको हात्ती संरक्षण कार्ययोजना (२०२५–२०३५) अनुसार नेपालमा करिब २ सय ३० वटा जंगली हात्ती मात्र बाँकी छन् । ती पनि २ अलग समूहमा छन्– झापादेखि चितवनसम्मको पूर्वी समूह र कपिलवस्तुदेखि कञ्चनपुरसम्मको पश्चिमी समूह ।
अन्तर्राष्ट्रिय प्रकृति संरक्षण संघ (आईयूसीएन) ले एसियाली हात्तीलाई लोपोन्मुख प्रजातिका रूपमा वर्गीकरण गरेको छ । साइटिस महासन्धिको अनुसूची–१ मा राखिएको यो प्रजाति अन्तर्राष्ट्रिय व्यापारबाट उच्चतम तहको संरक्षण पाउने वन्यजन्तुमध्ये पर्छ । तर, संरक्षणको कानूनी हैसियत जति बलियो छ, यसको अंगको अवैध बजारमा माग पनि उत्तिकै आकर्षक देखिन्छ ।
हात्तीको दाह्रा गहना, मूर्ति र परम्परागत कलाकृति बनाउन प्रयोग हुने गरेको बताइन्छ । पुच्छरका रौं गहना बनाउन प्रयोग हुन्छन् । बाघको छाला र हड्डीदेखि अन्य वन्यजन्तुका अंगसम्म विभिन्न प्रयोजनका लागि अवैध बजारमा पुग्ने गरेका संरक्षणकर्मीहरू बताउँछन् । यही आर्थिक प्रलोभनले जिउँदो वन्यजन्तुलाई तस्करहरूले निशानामा पार्ने गरेको झापाका संरक्षणकर्मी शंकर लुईंटेलको भनाइ छ । ‘एउटा हात्तीको दाह्रा मात्रैले तस्करलाई लाखौं बराबरको रकम दिलाउन सक्छ,’ उनी भन्छन्, ‘अनि किन नमारियून् वन्यजन्तु ।’
झापा, मोरङ र सुनसरीमा पछिल्लो १ वर्षमा आधा दर्जन हात्ती मारिएको संरक्षणकर्मीहरूले बताएका छन् । तीमध्ये अधिकांशलाई करेन्ट लगाएर मारिएको उल्लेख छ । झापाको कालिका सामुदायिक वनमा भेटिएको हात्तीलाई भने पासो थापेर मारिएको हुन सक्ने आशंका संरक्षणकर्मीहरूको छ ।
वन्यजन्तु संरक्षणकर्मी देवेन खरेल घटनाको प्रकृति हेर्दा दाह्रा तस्करीकै उद्देश्यले हात्ती मारिएको हुन सक्ने बताउँछन् । तर, कुनै घटनामा हात्तीको मृत्युको वास्तविक कारण र त्यसको पछाडिको आपराधिक सञ्जाल पुष्टि गर्न अनुसन्धान र प्रमाण आवश्यक हुन्छ । कालिका सामुदायिक वनको घटनाले भने त्यसतर्फ अनुसन्धान गर्नुपर्ने आधार खडा गरेको थियो ।
यसअघि १६ पुस, २०८० मा मोरङको सुन्दरहरैंचामा पनि हात्ती मारेर दाह्रा चोर्ने प्रयास भएको घटना सार्वजनिक भएको थियो । डिभिजन वन कार्यालय र नेपाल प्रहरीले संयुक्त रूपमा अनुसन्धान अघि बढाएका थिए । कोशीटप्पु वन्यजन्तु आरक्षबाट आएको प्राविधिक टोलीले मृत हात्तीको शरीरबाट गोली र काठको टुक्रा फेला पारेको थियो । घटनास्थलबाट गोलीका खोका तथा अन्य प्रमाण पनि संकलन गरिएको थियो । उपलब्ध प्रमाणका आधारमा घरेलु हतियार प्रयोग गरी हात्ती मारिएको पुष्टि भएको थियो ।
नेपालमा हात्ती संरक्षित वन्यजन्तु हो । राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन, २०२९ ले संरक्षित वन्यजन्तु मार्ने, घाइते बनाउने वा त्यसका अंगको कारोबार गर्नेलाई कडा सजायको व्यवस्था गरेको छ । अधिवक्ता नरेश खातीका अनुसार यस्तो कसुरमा पाँचदेखि १५ वर्षसम्म कैद वा ५ देखि १० लाख रूपैयाँसम्म जरिवाना वा दुवै सजाय हुन सक्छ ।
वन्यजन्तु अपराधसम्बन्धी मुद्दाको अनुसन्धान र अभियोजनमा सम्बन्धित वन कार्यालयको भूमिका महत्त्वपूर्ण हुन्छ । घटनास्थलबाट प्रमाण संकलन, वन्यजन्तुको पहिचान, अभियुक्तको खोजी र बरामद सामग्रीको परीक्षण हुँदै मुद्दा अदालतसम्म पुग्छ । तर, कानुनले अपराधलाई कडा बनाए पनि तस्करीको संरचना भने त्यति सरल छैन ।
२९ साउन, २०८१ मा मोरङको बेलबारी–३ मा घरका कुखुरा मार्ने न्याउरी मुसाका लागि थापिएको पासोमा जंगली हात्ती मरेपछि तेजबहादुर राई पक्राउ परे । उनलाई १८ भदौमा मोरङ जिल्ला अदालतले पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको थियो । कारागारमा बिरामी परेका ४७ वर्षीय राईको उपचारका क्रममा अस्पतालमा मृत्यु भयो ।
मानव–हात्ती द्वन्द्व पूर्वी नेपालका लागि नयाँ विषय होइन । खेतबारीमा पसेर बाली नष्ट गर्ने, घर तथा संरचना भत्काउने र मानवीय जोखिम निम्त्याउने हात्तीका कारण स्थानीय बासिन्दा आजित छन् । यही असन्तुष्टिलाई तस्करहरूले आफ्नो पक्षमा प्रयोग गर्न सक्ने संरक्षणकर्मीहरूको बुझाइ छ ।
जहाँ हात्तीलाई समस्या मान्ने स्थानीय समुदाय हुन्छ, त्यहाँ ‘समस्या समाधान’ का नाममा हात्ती मार्न स्थानीय सहयोग जुटाउन सजिलो हुन सक्छ । संरक्षणकर्मीका अनुसार तस्करले स्थानीयलाई केही रकम वा अन्य प्रलोभन दिएर पासो थाप्न वा सिकार गर्न लगाउन सक्छन् । वन्यजन्तुको अंग तस्करी हात्तीमा मात्र सीमित छैन । यसै वर्ष मोरङमा चितलको सिङ तस्करीको आरोपमा बेलबारी–२ का प्रज्वल गुरूङ पक्राउ परे ।
उनको साथबाट ६० सेन्टिमिटर लामो २ वटा सिङ बरामद भएको थियो । उनीसँगै सुन्दरहरैंचा–७ का नारायण गिरी पनि पक्राउ परे । गिरीको साथबाट दुई किलो चितलको मासु बरामद भएको थियो । डिभिजन वन कार्यालय मोरङका अधिकृत मोहम्मद अलाउद्दिनका अनुसार दुवैविरूद्ध वन्यजन्तुको अखेटोपहारसम्बन्धी मुद्दा चलाइएको छ ।
गत १४ भदौमा झापा प्रहरीले भरुवा बन्दुकसहित अखेटोपहार बरामद गरेको थियो । प्रहरीको नियन्त्रणबाट हत्कडीसहित फरार भएका भद्रपुर नगरपालिका–१० का २४ वर्षीय सन्देश हल्दारको घरबाट प्रहरीले अवैध हातहतियार तथा वन्यजन्तुको अखेटोपहार बरामद गरेको थियो ।
जिल्ला प्रहरी कार्यालय झापाका अनुसार हल्दारलाई प्रहरीले नियन्त्रणमा लिने क्रममा हत्कडीसहित फरार भएका थिए । प्रहरीले हल्दारको घरबाट हरिणको सिङ २ थान, दुम्सीको भुँडी ५ थान र दुम्सीको काँडा २ सय ७० थान बरामद गरेको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता डीएसपी रञ्जन आवाले जनाए । डीएसपी आवाले बरामद हातहतियार, वन्यजन्तुको अखेटोपहार तथा अन्य सामग्रीबारे थप अनुसन्धान भइरहेको जनाए ।
संरक्षणकर्मी एवं पूर्व वार्डेन रमेश थापाका अनुसार वन्यजन्तुका अखेटोपहारको तस्करी शृंखला तहगत हुन्छ । सबैभन्दा तल्लो तहमा वन क्षेत्र आसपास बस्ने विपन्न वा सीमान्तकृत परिवारका मानिस हुन सक्छन् । उनीहरूलाई थोरै रकमको प्रलोभनमा पासो थाप्न वा सिकार गर्न लगाइन्छ । कारोबारबाट उनीहरूले पाउने रकम निकै सानो हुन्छ । तर, कानूनी कारबाहीको पहिलो घेरामा प्रायः उनीहरू नै पर्छन् ।
त्यसपछि स्थानीय दलाल र ओसारपसार गर्ने व्यक्ति हुन्छन् । उनीहरूले सामान एक ठाउँबाट अर्को ठाउँ पु-याउने, सीमापारि लैजाने वा सुरक्षा तथा भन्सारका निकायसँग समन्वय मिलाउने काम गर्ने गरेको थापाको दाबी छ । त्यसभन्दा माथि अन्तर्राष्ट्रिय व्यापारी र संगठित सञ्जाल हुन्छ ।
‘सबैभन्दा माथिल्लो तहमा अन्तर्राष्ट्रिय व्यापारी र संगठित सञ्जालका नाइके हुन्छन्, जसको पहिचान प्रायः कहिल्यै खुल्दैन,’ थापा भन्छन्, ‘यही तहगत संरचनाका कारण नै प्रायः पक्राउ पर्ने व्यक्ति भरिया वा सिकारी मात्र हुन्छन् । ठूला सञ्चालक र वित्तीय लाभ लिने व्यापारी कहिल्यै पक्राउ पर्दैनन् ।’
यो दाबीलाई नेपालमा भएका वन्यजन्तु अपराधसम्बन्धी पक्राउको तथ्यांकले पनि पुष्टि गरेको छ । १ अध्ययनअनुसार सन् २०११ देखि २०१५ सम्म ५ वर्षमा नेपालभर ८ सय ३० वटा वन्यजन्तुसम्बन्धी पक्राउका घटना दर्ता भएका थिए । अध्ययनहरूले पक्राउ पर्ने अधिकांश व्यक्ति तस्करी शृंखलाको तल्लो तहका हुने देखाएका छन् ।
कारागारमा रहेका बन्दीमाथि गरिएको अर्को अध्ययनले चितवन क्षेत्रका कारागारमा वन्यजन्तु अपराधमा दोषी ठहर भएकाहरूको अनुपात कुल बन्दीको पाँचौं भागभन्दा बढी र बर्दियामा करिब दसौं भाग रहेको देखाएको थियो ।
वन्यजन्तुको अखेटोपहार तस्करीमा अन्तर्राष्ट्रिय गिरोहसमेतको संलग्नता पुष्टि भइसकेको छ । नेपाल, भारत र भुटानका खुला वा सहज रूपमा पार गर्न सकिने सीमाक्षेत्र तस्करीका लागि उपयोग हुन सक्ने उनीहरूको दाबी छ । नेपालको भौगोलिक अवस्थिति पनि यसका लागि महत्त्वपूर्ण छ ।
दक्षिणमा भारत र उत्तरमा चीनसँग जोडिएको नेपाल वन्यजन्तुका अंगलाई एक देशबाट अर्को देशतर्फ लैजाने क्रममा ‘ट्रान्जिट’ का रूपमा प्रयोग हुन सक्ने विज्ञहरूको भनाइ छ । नेपाल हुँदै तिब्बत–चीनतर्फ अखेटोपहार पुग्ने सम्भावित मार्गबारे पनि लामो समयदेखि चर्चा हुँदै आएको छ ।
संयुक्त राष्ट्रसंघीय लागुऔषध तथा अपराध कार्यालय (यूएनओडीसी) को अनुमानअनुसार विश्वव्यापी अवैध वन्यजन्तु कारोबारको मूल्य वार्षिक ७ देखि २३ अर्ब अमेरिकी डलरसम्म पुग्छ । लागुऔषध, नक्कली सामान र मानव तस्करीपछि यसलाई विश्वकै ठूलो अवैध कारोबारमध्ये एक मानिन्छ । दक्षिण एसियामा खुला वा अर्धखुला सीमाक्षेत्रका कारण यो अपराध अझ जटिल बन्न सक्छ ।
नेपालसँग जोडिएको भारतीय भूभागमा पनि वन्यजन्तु अंग तस्करीका घटनाहरू सार्वजनिक हुँदै आएका छन् । विशेषगरी पश्चिम बंगाल, सिक्किम, आसाम र उत्तर भारततिरका केही प्रतिनिधि घटनाले सीमापारि फैलिएको कारोबारको अर्को पाटो देखाउँछन् ।
५ माघ, २०८० मा मध्यप्रदेश स्टेट टाइगर स्ट्राइक फोर्स र वाइल्डलाइफ क्राइम कन्ट्रोल ब्युरो (डब्ल्युसीसीबी) को संयुक्त अभियानमा उत्तरी सिक्किमको लाचुङबाट याङ्चेन लाचुङ्पा पक्राउ परेकी थिइन् । उनी इन्टरपोलको रेड कर्नर नोटिसमा समेत रहेको उल्लेख गरिएको छ ।
भारतीय सञ्चारमाध्यमका अनुसार उनी नेपाल, तिब्बत र भुटानसम्म फैलिएको तथा दिल्ली, सिलिगुडी, गान्तोक, कोलकाता र कानपुरलगायत सहरमा कारोबार गर्ने संगठित तस्करी सञ्जालसँग जोडिएकी थिइन् । उनीमाथि बाघको चोरी–सिकार तथा बाघका अंग र सालकका खपटा कारोबारमा संलग्न रहेको आरोप थियो ।
उनको साथबाट बाघका चार टुक्रा हड्डी, १ दशमलव ५ किलो सालकका खपटा, बाघको छाला र बाघको हड्डीबाट निकालिएको तेल बरामद भएको उल्लेख छ ।
उक्त मुद्दामा नाम जोडिएका ३६ जनामध्ये सिकारी, बिचौलिया र सीमापारिको अवैध कारोबार मार्गसँग जोडिएका २७ जना नर्मदापुरमका मुख्य न्यायिक म्याजिस्ट्रेटबाट दोषी ठहर भइसकेका थिए । लाचुङ्पा भने लामो समय फरार रहेको र यसअघि पक्राउ परे पनि जमानतको सर्त उल्लंघन गरी फरार भएको उल्लेख छ ।
त्यसैगरी २०८० मै पश्चिम बंगालको बागडोगरा विमानस्थलनजिकबाट सिक्किमका अवकाशप्राप्त डीएसपी डेनी शेरिङ भुटियालाई कस्तुरी मृगको नाभी र दुर्लभ सूचीमा रहेको उड्ने हिमाली लोखर्केको छाला ओसारपसार गरेको अभियोगमा पक्राउ गरिएको थियो ।
कस्तुरी नाभी परम्परागत औषधि तथा अत्तर उद्योगमा प्रयोग हुने बहुमूल्य वस्तुका रूपमा चिनिन्छ । नाभी निकाल्न मृग नै मार्नुपर्ने भएकाले कस्तुरी मृगको संरक्षण चुनौतीपूर्ण बनेको छ । हिमाली उड्ने लोखर्केको छालाको मागले पनि त्यसलाई तस्करीको जोखिममा पार्ने गरेको बताइन्छ ।
नेपाल–भारत सीमापार वन्यजन्तु तस्करीको सम्भावित सम्बन्धलाई थप गम्भीर बनाउने पछिल्लो उदाहरण पश्चिम बंगालको सिलिगुडी अदालतबाट आएको फैसला हो ।
२० डिसेम्बर, २०२५ मा विशेष सूचनाका आधारमा खरसाङ वन डिभिजनअन्तर्गत घोषपुकुर रेन्जका वन रेन्जर सम्बर्ता साधुको नेतृत्वमा टोलीले एसियन हाइवे–२ अन्तर्गत बागडोगरा बिहार मोडनजिक नेपाली नम्बर प्लेटको महिन्द्रा एक्सयूभी–५०० रोकेको थियो ।
वन सहायक शरण तामाङ र आरडीएल मन्जुर आलमसमेत सहभागी टोलीले गाडीबाट लुकाएर लैजान लागिएको एउटा हात्तीको दाह्रा बरामद गरेको थियो । दाह्रा बरामद भएपछि सिलिगुडीका कमल अग्रवाल र नेपाली नागरिक बताइएका गणेश बास्फोर पक्राउ परेका थिए । अनुसन्धानका क्रममा सहायक वन डिभिजन अधिकृत तथा पदेन सहायक वन्यजन्तु वार्डेन राहुल देब मुखर्जीले अभियुक्तहरूको स्वेच्छिक बयान अभिलेख गरेका थिए ।
बरामद दाह्रा वैज्ञानिक परीक्षणका लागि जुलोजिकल सर्भे अफ इन्डिया (जेडएसआई) पठाइएको थियो । परीक्षणले उक्त वस्तु संरक्षित अनुसूची–१ अन्तर्गत पर्ने हात्तीको दाह्रा भएको पुष्टि ग-यो । यसले मुद्दामा वैज्ञानिक प्रमाण थपियो ।
सिलिगुडी अदालतले मुख्य अभियुक्त कमल अग्रवाललाई ५ वर्षको कठोर कैद र ५० हजार भारतीय रूपैयाँ जरिवानाको फैसला सुनायो । पश्चिम बंगाल वन विभागले यसलाई वन्यजन्तु तस्करीसम्बन्धी महत्वपूर्ण फैसला मानेको छ ।
तर, यो घटनाको सबैभन्दा महत्त्वपूर्ण पक्ष दाह्रा मात्र होइन—दाह्रा ओसार्न प्रयोग भएको नेपाली नम्बर प्लेटको गाडी हो ।
घटना एसियन हाइवे–२ मा भएको थियो । यो मार्ग भारतको पूर्वोत्तर क्षेत्रलाई नेपाल र बंगलादेशसँग जोड्ने महत्त्वपूर्ण अन्तर्राष्ट्रिय ढुवानी मार्ग हो । भारतीय पत्रकार प्रशान्त आचार्यका अनुसार ठूला र व्यस्त राजमार्ग व्यापारिक ढुवानीका लागि जति महत्त्वपूर्ण छन्, तस्करीका लागि पनि उत्तिकै आकर्षक हुन सक्छन् ।
वन्यजन्तुको अवैध कारोबारको परिमाण बुझ्न भारतमा हालै भएको अर्को संयुक्त कारबाही पनि महत्वपूर्ण छ । गत जुलाई ९ मा भारतको केन्द्रीय अनुसन्धान ब्युरो (सीबीआई) र राजस्व गुप्तचर निर्देशनालय (डीआरआई), मुम्बईले वन्यजन्तु अपराध नियन्त्रण ब्युरो (डब्ल्युसीसीबी) को सहयोगमा महाराष्ट्र र पश्चिम बंगालका विभिन्न स्थानमा संयुक्त कारबाही गरेको थियो ।
कारबाहीका क्रममा २८ वटा कछुवा, ६ वटा इजिप्सियन गिद्ध र दुईवटा वाजलगायत ५३ वटा संरक्षित वन्यजन्तु तथा चराचुरुंगी उद्धार गरिए । सबै वन्यजन्तु भारतको वन्यजन्तु संरक्षण ऐन, १९७२ को अनुसूची–१ मा सूचीकृत रहेको जनाइएको छ । सीबीआईले जुलाई ७ र ८ मा दुईवटा छुट्टाछुट्टै मुद्दा दर्ता गरेको थियो । मुम्बईबाट तीन र कोलकाताबाट ३ गरी ६ जना पक्राउ परे ।
प्रारम्भिक अनुसन्धानअनुसार अभियुक्तहरूले भारतका विभिन्न भागबाट संरक्षित वन्यजन्तु संकलन गरी कारोबार गर्दै आएका थिए । उनीहरूविरूद्ध वन्यजन्तु संरक्षण ऐन र भारतीय न्याय संहिता, २०२३ अन्तर्गत आपराधिक षड्यन्त्रको कसुरमा मुद्दा दर्ता गरिएको थियो ।
सन् २०११ मा भुटानको पारोमा दक्षिण एसिया वन्यजन्तु कानून कार्यान्वयन सञ्जाल–साउथ एसिया वाइल्डलाइफ इन्फोर्समेन्ट नेटवर्क (सावेन) स्थापना गरिएको थियो । अफगानिस्तान, बंगलादेश, भुटान, भारत, माल्दिभ्स, नेपाल, पाकिस्तान र श्रीलंका गरी ८ मुलुक यसको सदस्य छन् । यसको सचिवालय काठमाडौँमा छ ।
वन्यजन्तु तस्करी नियन्त्रणको अर्को कठिन पाटो बजार हो । जब कुनै वस्तुको माग हुन्छ, त्यसको आपूर्ति गर्ने सञ्जाल निर्माण हुन्छ । हात्तीका दाह्रा, बाघको हड्डी वा छाला, कस्तुरी नाभी, दुर्लभ चराचुरुंगी वा अन्य वन्यजन्तुका अंगको माग परम्परागत औषधि, सांस्कृतिक मान्यता, गहना वा विलासिताका वस्तुसँग जोडिएको हुन सक्छ ।
चीन, तिब्बतलगायतका बजारमा यस्ता वस्तुको माग कायम रहेसम्म आपूर्ति शृंखला पूर्ण रूपमा बन्द गर्न कठिन हुने संरक्षणकर्मीहरूको तर्क छ ।
२७ भदौमा कान्तिपुर अनलाइनमा प्रकाशित । यो समाचार नेपाल वातावरण पत्रकार समूहको सहयोगमा प्रकाशित भएको हो ।





