२० असोज, काठमाडौँ ।
राष्ट्रिय निकुञ्ज र आसपासका भेगमा मानव–बाघ द्वन्द्व बढ्दै गइरहेका बेला समस्याग्रस्त बाघको दीर्घकालीन व्यवस्थापन गर्न टाइगर सेन्चुरी निर्माण गर्ने प्रक्रिया अघि बढेको छ ।
सरकारले कम्तीमा ५० हेक्टर क्षेत्रफलमा टाइगर सेन्चुरी बनाउने भएको हो । सेन्चुरी निर्माणकालागि राष्ट्रिय प्रकृति संरक्षण कोष (एनटीएनसी) र अमेरिकास्थित ‘द वाइल्ड एनिमल सेन्चुरी’ (टीडब्ल्यूएएस) बीच समझदारीपत्रमा हस्ताक्षर भएको छ । कृषि, वन तथा पर्यावरण मन्त्रालयले समस्यामा रहेका बाघको व्यवस्थापनका लागि चितवनको देवनगरमा टाइगर सेन्चुरी योजना अघि बढाएको छ ।
कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीले मन्त्रालयको जिम्मेवारी सम्हालेपछि यो विषयलाई प्राथमिकतामा राखेपछि योजना कार्यान्वयन गर्न अन्तर्राष्ट्रिय साझेदारी अघि बढाइएको हो । समझदारीपत्रमा कोषका सदस्य–सचिव डा. चिरञ्जीवीप्रसाद पोखरेल र टीडब्ल्यूएएसका कार्यकारी निर्देशक प्याट क्रेगले हस्ताक्षर गरेका छन् ।
नेपालमा बाघको संख्या बढेसँगै मानव बस्तीमा प्रवेश गर्ने र मानवीय क्षति निम्त्याउने बाघको व्यवस्थापन चुनौतीपूर्ण बन्दै गएको छ । मुलुकभर समस्याग्रस्त बाघको संख्या १६ पुगेको छ । मानव बस्तीमा पसेका, मानव तथा घरपालुवा जनावरलाई आक्रमण गरेका र घाइते अवस्थामा भेटिएका समस्याग्रस्त बाघलाई नियन्त्रणमा लिएर खोरमा राख्ने गरिएको छ ।
हाल खोरमा रहेका बाघलाई प्राकृतिक वातावरणमा पुनःस्थापित गर्न टाइगर सेन्चुरीको अवधारणा अघि बढेको हो । समस्याग्रस्त बाघको सुरक्षित आवास, दीर्घकालीन स्याहार र वैज्ञानिक व्यवस्थापनका लागि यस्तो संरचना निर्माण गर्न लागिएको हो ।
समझदारीअनुसार टीडब्ल्यूएएसले आफ्नो साढे ४ दशक लामो अनुभव र विज्ञता प्रयोग गर्दै सेन्चुरीको भौतिक पूर्वाधार बनाउने छ । साथै प्राकृतिक वासस्थानको डिजाइन, पशु चिकित्सालय र घेराबार निर्माणका लागि आवश्यक आर्थिक तथा प्राविधिक स्रोत जुटाउनेछ । सेन्चुरीका लागि उपलब्ध गराइने जग्गाको स्वामित्व भने नेपाल सरकार वा कोषकै रहने बताइएको छ ।
समस्याग्रस्त बाघको आजीवन सुरक्षित बासस्थानका रूपमा विकास गर्ने योजना अघि सार्दै गर्दा सेन्चुरी निर्माणका लागि उपयुक्त स्थान छनोट, निर्माण लागत, स्रोत परिचालनको समयसीमा र सञ्चालन व्यवस्थापनको विस्तृत खाका कोषले सार्वजनिक गरेको छैन ।





