५ असार, कञ्चनपुर।
शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको हीरापुर संरक्षण क्षेत्रमा संरक्षित दुर्लभ वन्यजन्तु कृष्णसारको संख्या बढेर ३ सय १३ पुगेको छ ।
संरक्षण कार्यक्रम सुरू भएको करिब डेढ दशकपछि कृष्णसारको संख्या उल्लेखनीय रूपमा वृद्धि भएको हो । बढ्दो संख्यासँगै व्यवस्थापन चुनौतीपूर्ण बन्दै गएको छ ।
निकुञ्जको पछिल्लो तथ्यांकअनुसार कृष्णसारका वयस्क भाले ८१, अर्धवयस्क भाले २०, वयस्क पोथी १ सय २, अर्धवयस्क पोथी २६ र लिंग पहिचान हुन बाँकी ८४ पाठापाठी रहेका निकुञ्जका सूचना अधिकारी पुरूषोत्तम वाग्लेले जानकारी दिए ।
उनका अनुसार संरक्षण कार्यक्रमको सफलतासँगै कृष्णसारको संख्या निरन्तर बढिरहेको छ । ‘अहिले मुख्य चुनौती व्यवस्थापनको हो’, वाग्लेले भने, ‘एउटै क्षेत्रमा धेरै संख्या हुँदा रोगको जोखिम बढ्ने भएकाले प्राकृतिक बासस्थानमा खुला रूपमा छाड्ने वा अन्य उपयुक्त क्षेत्रमा स्थानान्तरण गर्ने विकल्पबारे विभागले अध्ययन गरिरहेको छ ।’
वन तथा वातावरण मन्त्रालयको निर्णयअनुसार शुक्लाफाँटा र बर्दियाको खैरापुर संरक्षण क्षेत्रबाट भाले–पोथीको सन्तुलित अनुपात मिलाएर चितवनमा कृष्णसार पुनःस्थापना गर्ने तयारी भइरहेको छ । ‘वंशानुगत (जेनेटिक) विविधता कायम राख्न पनि यो आवश्यक छ’, वाग्लेले भने, ‘ब्रिडिङ व्यवस्थापन योजनाअनुसार एउटै घेराभित्र मात्र राखिरहनुभन्दा विभिन्न क्षेत्रमा फैलाएर संरक्षण गर्नु दीर्घकालीन रूपमा प्रभावकारी हुन्छ, नयाँ पुस्तामा सुधार हुन्छ ।’
निकुञ्जको हीरापुर फाँटामा हाल ५८.८ हेक्टर क्षेत्रफलमा तारबार गरी कृष्णसार संरक्षण गरिएको छ । प्रारम्भमा सन् २०१२ मा ७.५ हेक्टर क्षेत्रबाट सुरू भएको संरक्षण क्षेत्र चरणबद्ध रूपमा विस्तार गरी हालको आकारमा पु¥याइएको हो ।
कृष्णसारलाई खुला घाँसे मैदान मन पर्ने भएकाले प्राकृतिक बासस्थानमा छाड्दा चितुवा, भुस्याहा कुकुर तथा चोरी सिकारीबाट जोगाउनु चुनौतीपूर्ण हुने देखिएको छ । यससँगै छाडा चौपायाबाट सर्ने संक्रामक रोग पनि संरक्षणका मुख्य चुनौतीका रूपमा रहेको वाग्लेले बताए ।
चरन क्षेत्रको संरक्षण, घाँसे मैदान व्यवस्थापन तथा मकै, मसुरोलगायत बाली रोपेर आहार व्यवस्थापन गर्ने काम निकुञ्जले गर्दै आएको छ । नियमित बजेट अभावका कारण पछिल्लो समय भने स्रोत व्यवस्थापनमा कठिनाइ भइरहेको वाग्लेले बताए ।
शुक्लाफाँटामा सन् २०१२ मा नेपालगञ्जको मिनी चिडियाखानाबाट २ वटा वयस्क भाले, ४ अर्धवयस्क भाले, १२ वयस्क पोथी र ४ अर्धवयस्क पोथी गरी २२ वटा कृष्णसार ल्याइएको थियो ।
सोही वर्ष ललितपुरस्थित सदर चिडियाखानाबाट ३ वयस्क भाले, २ वयस्क पोथी र लिंग नखुलेको १ गरी ६ वटा कृष्णसार पुनःस्थापनाका लागि स्थानान्तरण गरिएको थियो । सन् २०१५ मा बर्दियाको खैरापुर संरक्षण क्षेत्रबाट ३ वयस्क भाले, १ अर्धवयस्क भाले र १० अर्धवयस्क पोथी गरी १४ वटा कृष्णसार स्थानान्तरण गरी ल्याइएको थियो ।
तीनवटै क्षेत्रबाट वयस्क भाले ८, अर्धवयस्क भाले ५, वयस्क पोथी २४, अर्धवयस्क पोथी ४ र लिंग नखुलेको एक गरी कूल ४२ वटा कृष्णसार स्थानान्तरण गरिएको थियो । स्थानान्तरण गरी ल्याइएका ४२ वटा कृष्णसारको संख्या करिब डेढ दशकमै बढेर ३ सय १३ पुगेको छ जुन करिब ७ गुणाबढीले वृद्धि भएको निकुञ्जको तथ्यांकले देखाएको छ ।
कृष्णसारको स्वास्थ्य संरक्षणका लागि नियमित रूपमा दाना, चोकर, ढुटो, मकै र चना खुवाइने गरिएको छ । जुका, किर्नालगायत परजीवीको संक्रमण रोक्न समयसमयमा औषधि मिश्रित आहारसमेत उपलब्ध गराइने वाग्लेले जानकारी दिए ।
राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन, २०२९ अनुसार कृष्णसार नेपालका संरक्षित वन्यजन्तुमध्ये एक हो । कुनै समय नेपाल, भारत र बंगलादेशका खुला घाँसे मैदानमा प्रशस्त पाइने यो प्रजाति बासस्थानको विनाश, चोरी सिकार र प्राकृतिक विपद्का कारण लोपोन्मुख अवस्थामा पुगेको थियो ।
हीरापुर संरक्षण क्षेत्र अहिले आन्तरिक पर्यटकको आकर्षणको केन्द्रसमेत बन्दै गएको छ । कृष्णसार अवलोकनका लागि दैनिक रूपमा आन्तरिक पर्यटक पुग्ने गरेका छन् । दुर्लभ र आकर्षक वन्यजन्तु कृष्णसारको मुख्य आहारा घाँस, दुबो, सिरू, काँसलगायत हुन् । हिन्दू धर्ममा यसलाई ‘भगवान् श्रीकृष्णको साथी’का रूपमा पनि लिइन्छ ।
कृष्णसार संरक्षण क्षेत्रलाई अझै व्यवस्थित पर्यटकीय गन्तव्यका रूपमा विकास गर्नुपर्ने सुनदेवी उपभोक्ता समितिका अध्यक्ष भरतबहादुर विष्टले बताए । उनका अनुसार कृष्णसार संरक्षण क्षेत्र नजिकैको सिमलफाँटा बस्तीमा घरबास (होमस्टे) कार्यक्रम सुरू गरिएको छ ।
‘घरबासको स्तरोन्नति गरी पर्यटकलाई कृष्णसार संरक्षण क्षेत्रमा घुमाउने व्यवस्थाका लागि पहल हुन आवश्यक छ’, उनले भने, ‘यसले स्थानीय बासिन्दाको आयआर्जनमा टेवा पुग्नुका साथै निकुञ्जको आन्तरिक आयसमेत वृद्धि हुन्छ ।’ पर्यटकीय पूर्वाधारमा जोड दिनुपर्ने उनको भनाइ छ ।
कृष्णसार संरक्षणसँगै पर्या–पर्यटन प्रवद्र्धनलाई पनि प्राथमिकतामा राखिएको बताउँदै निकुञ्जका सहायक मुख्य संरक्षण अधिकृत विनयकुमार झाले स्थानीय समुदायको सहभागिता र संरक्षणबीच सन्तुलन कायम गर्दै संरक्षण क्षेत्रलाई थप व्यवस्थित गरिँदै लगिएको जानकारी दिए ।
राजेन्द्रप्रसाद पनेरू/रासस





