भागिरथी पण्डित
२६ चैत, सिन्धुपाल्चोक।
मेलम्ची बजारबाट २१ किलोमिटर उत्तरमा रहेको माथिल्लो बोल्देमा १३ भदौ, २०७७ को मध्यरातमा राममाया तामाङ को घरभन्दा ५ कान्ला (३३ मिटर) तलको खोल्सामा पहिरो खस्यो । त्यस रातभर उनको परिवारका सदस्यले एक ठाउँमा जम्मा भएर पहिरोतर्फ आँखा घुमाइरहे ।
मध्यरातको अन्धकारमा मधुरो टर्चको सहायतामा उनीहरूले पहिरो कति तलबाट गइरहेको भन्ने भेउ मात्र पाएका थिए । त्यो रात ४६ वर्षीया राममायालाई वर्षभन्दा लामो लागिरहेको थियो । भोलिपल्टको उज्यालोमा पहिरोको विकराल रूप देखेपछि उनलाई लाग्यो– धन्न बाँचिएछ ।
त्यस दिनदेखि उनीहरूले घर छोडे । अलि माथिको चौरमा रात कटाउन थाले । केही दिनपछि राहत सामग्रीमा टेन्ट पाए । यसले जेनतेन बर्खा धान्यो । करिब एक महिना (पानी पर्न छोडेपछि) पछि उनीहरू घर फर्किए ।
पहिरो आएको ५ वर्ष बित्यो । तर हेलम्बु गाउँपालिका–५ बोल्देका राममायासहित अन्य स्थानीयवासी अझै पनि बर्सातमा घरमा बस्दैनन् । बोल्देमा राममायाको घर तल आएको पहिरोजस्तै बस्ती नै जोखिममा पार्ने थप अरू पहिरोहरू पनि छन् ।
बोल्देको माझगाउँका बारीका पाटाहरूमा धाँजा फाटेका छन् । बर्सेनि वर्षामा ३–४ हात तल भासिँदै गएको स्थानीयको अनुभव छ । स्थानीय जितबहादुर तामाङ भन्छन्, ‘गाउँमा सडक खनेको करिब १२ वर्ष भयो । भूकम्प आएको १० वर्ष पूरा भयो । त्यसपछि हाम्रो गाउँमा धेरै पहिरो जान थालेको छ ।’
बोल्देमै जन्मेहुर्केका हाल ५७ वर्षीय उनी र उनका पुर्खाले त्यसअघि बस्ती नै जोखिममा पार्ने पहिरो कहिल्यै देखेका थिएनन् । तर, उनको भनाइमा हाल बोल्देमा मात्र ६५ घर जोखिममा छन् ।
तामाङका अनुसार सडक बनाउँदा केही ठाउँमा भेल कटान गरिएको छ । यसले पनि खासै अन्तर पारेको छैन । ‘आधा किलोमिटरको अन्तरमा नै पानीको भेल खोलासरह भइसक्छ । त्यसले पनि पहिरो लाग्न सघाएको छ । त्यो उचित तरिकाले बनाइएको भए पहिरो जाँदैनथ्यो कि भन्ने मेरो विचार हो । त्यसमाथि भूकम्पले पनि जमिन हल्लायो, धेरै ठाउँमा चिरा परेको थियो,’ उनी भन्छन् ।
बोल्देको पछाडिको गाउँ उर्लेनीको अवस्था पनि उस्तै छ । हेलम्बु गाउँपालिका–५ मा नै पर्ने यस बस्तीका २१ घर पनि पहिरोको जोखिममा छन् । २७ साउन, २०७९ मा आएको वर्षा र पहिरोपछि गाउँ नै जोखिममा परेको स्थानीय प्रकाश रिजाल बताउँछन् । खेतीयोग्य जमिन पनि कम जोखिममा छैन ।
सरकारी आँकडामा सिन्धुपाल्चोकका बोल्दे र उर्लेनीसहित १ सय ८७ बस्ती (१ ससय २४ बस्ती पहिरो, ६२ बाढी र एक बस्ती डुबानमा) मनसुनजन्य विपद्को जोखिममा छन् । जिल्ला विपद् व्यवस्थापन समितिले गत वर्ष गरेको अध्ययनअनुसार सिन्धुपाल्चोकका १ सय ८७ बस्तीका ६ हजारभन्दा बढी परिवार (४ हजार ४ सय ५८ बाढी, २ हजार २ सय १ पहिरो र १ सय परिवार डुबान) पहिरो वा बाढीबाट प्रभावित हुन सक्ने विश्लेषण छ । यसो हुँदा करिब २५ हजार (बाढीमा १८ हजार ३ सय ६३ जना, ६ हजार ७ सय ३० पहिरो र ५ सय डुबान) मानिस मनसुनले निम्त्याउने जोखिममा रहेको उल्लेख छ ।
जिल्ला नै विपद्को जोखिममा
मनसुनमा धेरै पहिरो जाने जिल्लाहरूमध्ये सिन्धुपाल्चोक एक हो । २०७१ सालको जुरे पहिरोमा परेर ४५ जनाको ज्यान गएको थियो भने थुप्रै घरपरिवार विस्थापित भएका थिए । त्यसयता कहिले लिदीको पहिरो त कहिले भोटेकोसी नदीमा आएको बाढी र लार्चामा पुल बगाएको घटनासँगै मेलम्ची खोलाको बाढीले मनसुनजन्य जोखिम सिन्धुपाल्चोकमा बढ्दै गएको देखिन्छ ।
मनसुनजन्य विपद्कै कारण यसबीचमा जिल्लामा ३ हजारभन्दा बढीले ज्यान गुमाए भने करिब १ लाख परिवार प्रभावित हुन पुगे । पहिरोकै कारण १० वर्षमा ८० जनाको मृत्यु भएको जिल्ला विपद् व्यवस्थापन समितिको तथ्यांक छ । त्यसमा अन्य ४१ जना बेपत्ता छन् भने ३९ जना घाइते भएको उल्लेख छ ।
जिल्ला विपद् पूर्वतयारी तथा प्रतिकार्य योजना, २०८० का अनुसार सिन्धुपाल्चोक जिल्ला बहुप्रकोपको जोखिममा रहेको उल्लेख छ । २०७२ सालको भूकम्पले कमजोर बनाएको जमिन, अनावश्यक अव्यवस्थित सडक विस्तार, वन फँडानीजस्ता कारणले २०७२ पछि पहिरोको जोखिम बढेको योजनामा उल्लेख छ ।
योजनाअनुसार सिन्धुपाल्चोकमा पहिरोका कारण हरेक वर्ष करिब ४ हजार २ सय घर परिवार प्रभावित हुन सक्ने र ९ सय परिवार उच्च जोखिममा रहेको अनुमान छ । जसका कारण हुने घाइतेको उपचारका लागि अग्रस्थानमा खडा हुनुपर्ने केही स्वास्थ्य संस्था जोखिममा छन् भने धेरै स्वास्थ्य संस्थाका पहुँच मार्ग खराब छन् । जसका कारण बर्खामा स्थानीय बिरामीहरू आधारभूत स्वास्थ्य सेवाबाट नै वञ्चित रहन्छन् ।
अवैज्ञानिक विकासको क्षति
राममायाका अनुसार अहिले बर्खाका बेला छोटो समयमै मुसलधारे पानी ओइरिन थालेको छ । त्यो पहिरो खस्ने दिन पनि ‘छाना प्वाल पार्ने गरी’ पानी परेको थियो । ‘दिनभरि काम गरेको थकानले हामी छाना बज्दा पनि निदायौँ । तर, पहिरो लागेको गड्यामगुडुम आवाज सुनेर बिउँझियौँ । त्यसपछि आकाशमा बादल मडारिँदा पनि अत्यास लाग्न थालेको छ,’ उनी सुनाउँछिन् ।
पहिरो जाने सम्भावना वर्षाको मात्राका आधारमा भन्न सकिने जलवायुविज्ञ डा. धर्मराज उप्रेती बताउँछन् । उनका अनुसार नेपालमा प्रतिदिन १ सय १५ मिलिमिटरदेखि १ सय ६० मिलिमिटर पानी पर्दा पहिरो जान्छ भन्ने पत्ता लागेको थियो ।
तर, सिन्धुपाल्चोकका हेलम्बु र पाँचपोखरी थाङपाल गाउँपालिकामा पहिरो गराउने वर्षाको मात्रा आकलन गर्दा केही भिन्न पाइएको उनले बताए । ‘सिन्धुपाल्चोक क्षेत्रमा वर्षाका कारण उत्पन्न हुने पहिरोका लागि सीमा (थ्रेसहोल्ड) विकास’ नामक अध्ययनले हेलम्बुमा १ सय २४ र पाँचपोखरीमा १ सय १८ थ्रेसहोल्डमा पहिरो जाने पत्ता लागेको छ । जुन राष्ट्रिय थ्रेसहोल्डभन्दा कम हो ।
त्यसका कारण माटोको अवस्था, पानी पर्ने तौरतरिका, मानवीय क्रियाकलाप जस्तै– जथाभाबी सडक खन्ने, सडक खन्दा निस्किएका भग्नावशेष अव्यवस्थित रूपमा फालिनु, सडक कटान र भौतिक संरचनाको निर्माण गर्दा वातावरणीय जोखिम मूल्यांकन नगरी बनाइनु र अन्य तत्त्वहरू रहेको उनको तर्क छ ।
सिन्धुपाल्चोकमा लगभग २ हजार ४ सय ८४.७२ किलोमिटरको सडक सञ्जाल छ । सिन्धुपाल्चोकमा राष्ट्रिय राजमार्गअन्तर्गत अरनिको राजमार्ग पर्दछ । यसले बाह्रबिसे र सुकुटेजस्ता प्रमुख क्षेत्रहरू हुँदै काठमाडौँलाई कोदारी र चीनको सीमासँग जोड्छ । यो व्यापार र यात्राका लागि महत्वपूर्ण छ । तर विशेष गरी मनसुनको समयमा पहिरो र बाढीको क्षतिले बारम्बार अवरूद्ध हुन्छ ।
हेलम्बु र पाँचपोखरीका मात्र नभई सिन्धुपाल्चोकका धेरै ग्रामीण सडक कच्ची छन् । जुन पहिरो कटानका लागि संवेदनशील रहेको विपद् जोखिम न्यूनीकरणको अन्तर्राष्ट्रिय जर्नल ३१ मा प्रकाशित ‘भू–खतरा जोखिमअन्तर्गत यातायात सञ्जालहरूको लचिलोपन र पुनःप्राप्ति सुधार गर्ने रूपरेखा’ शीर्षकमा प्रकाशित अध्ययनमा उल्लेख छ ।
हेलम्बुमा अनुमानित सडकको लम्बाइ लगभग ४ सय २९ किलोमिटर र पाँचपोखरी थाङपालमा ३ सय ८७ किलोमिटर छ । जसमध्ये हेलम्बुमा लगभग १५ किलोमिटर र पाँचपोखरी थाङपालमा २५ किलोमिटर अत्यधिक संवेदनशील भूभागमा रहेको अध्ययनमा उल्लेख छ । जुन सामान्यभन्दा माथि वर्षाको अवस्थामा सजिलै अस्थिर हुन सक्छ ।
जलधारविज्ञ मधुकर उपाध्या भन्छन्, ‘सिन्धुपाल्चोकको उत्तरी भाग भौगर्भिक दृष्टिकोणले पनि कमजोर धरातलमा अवस्थित छ । यसलाई भौगर्भिक भाषामा मेन सेन्ट्रल थ्रस्ट भनिन्छ । त्यस्तो स्थानमा भूकम्प र सडक निर्माणमाथि पानी थपिँदा पहिरो बढ्ने जोखिम उच्च हुन्छ ।’
त्योसँगै २०७२ सालको गोरखा भूकम्पले सिन्धुपाल्चोकलाई थिलथिलो नै बनाएको छ । त्यसपछि पनि पटक–पटक सिन्धुपाल्चोक केन्द्रविन्दु भएर आएका पराकम्पले पनि प्रभाव पारिरहेको उनी बताउँछन् ।
त्यसकारण सिन्धुपाल्चोकको पहिरोलाई अझ गम्भीर रूपमा हेरिनुपर्ने उनको तर्क छ । उपाध्याका अनुसार अहिले पानी छोटो समयमा दर्किएर एकै ठाउँमा थुप्रिएर आउन थालेको छ । त्यसले गर्दा अझै पहिरोहरू बढी देखिन थालेको छ ।
यस वर्ष मनसुनजन्य विपद्बाट सिन्धुपाल्चोकमा ४२ हजार २०८ जना प्रभावित हुन सक्ने मनसुन पूर्वतयारी तथा प्रतिकार्य कार्ययोजना, २०८२ मा उल्लेख छ ।
नेपालमा पहिरोबाट मृत्यु हुनेको संख्या अत्यधिक बढ्दै छ । यसो हुनुमा भूकम्प, जलवायु परिवर्तनको जटिल समायोजन र भिरलाई अस्थिर बनाउने अनौपचारिक सडक निर्माणले बर्सातमा विस्फोटको रूप लिनु रहेको ‘नेपालमा सडक र पहिरोः कसरी विकासले वातावरणीय जोखिम गराउँछ’ नामक अध्ययनमा उल्लेख छ ।
यस अध्ययनमा २०७२ को भूकम्पले उत्पन्न गरेको पहिरो र अनौपचारिक सडक निर्माण गर्दा अत्यधिक भू–बनोटमा मानिसद्वारा उत्पन्न गराएको परिवर्तनबाट गएको पहिरोको तुलना गरिएको छ । जसमा भूकम्पबाट गएको पहिरोभन्दा कमजोर किसिमले निर्माण गरिएको सडकको कारण बर्सातमा दोब्बर पहिरो गएको पाइएको छ ।
जथाभाबी खनिएका सडकहरूले भू–बनोटमा समेत तीव्र गतिमा परिवर्तन ल्याइरहेका छन् । अध्ययनले सिन्धुपाल्चोकवासीले विकासको मूल्य चुकाइरहेको देखाउँछ ।
बर्खामा ६० प्रतिशत स्वास्थ्य संस्था पहुँचबाहिर
राममाया र बोल्देवासीलाई पहिरो गएको १ महिनासम्म त्रिपालमुनि चौरमा बस्दा चिसोका कारण स्वास्थ्यमा समस्या देखिएको थियो । राममायाकी कान्छी छोरीलाई ज्वरो आएको थियो । तर उपचारका लागि बोल्देबाट करिब १ घण्टा तल सिरिसे स्वास्थ्यचौकी पुग्नुपथ्र्यो ।
बर्खामा स्वास्थ्य चौकी पुग्न झन् बढी समय लाग्ने राममाया बताउँछिन् । भन्छिन्, ‘ज्वरो आउँदा उपचार खोज्न करिब एक घण्टा टाढा स्वास्थ्य संस्थामा पुग्नुपर्छ। त्यहाँ पुग्न दर्जनौँ पहिरो छिचोल्नुपर्छ । जाँदाजाँदै ज्यान गुमाउनुपर्ने हो कि भन्ने त्रासमा हिँड्नुपर्छ ।’

उनका अनुसार बर्खामा बस आउँदैन । ‘घरमा गर्भवती र दीर्घरोगी हुँदा बढी सकस हुन्छ । बिरामीलाई मर्न दिनु भएन, स्टेचरमा बोकेर पनि लैजाने गरेका छौँ । सुरुमा सिरिसे स्वास्थ्य चौकी लैजान्छौँ । त्यहाँ नभए मेलम्ची, मेलम्ची नभए काठमाडौँ भए पनि जानुपर्छ,’ राममाया भन्छिन्, ‘हामीलाई साह्रो परेको अवस्थामा मेलम्चीसम्म पुग्नै मुस्किल छ । कहीँ पहिरो जान्छ, कहीँ सडक बगाउने समस्या छ ।’
विपद्मा सबल व्यक्तिको तुलनामा वृद्धवृद्धा, बालबालिका, अपांग र सुत्केरी महिला बढी जोखिममा हुन्छन् । र, राममाया जस्तै बोल्दे र उर्लेनीलगायत विपद्को जोखिममा रहेका स्थानीयहरू स्वास्थ्य, शिक्षा तथा पोषणयुक्त खानाको पहुँचबाहिर हुने गर्छन् ।
मनसुनमा सिन्धुपाल्चोकका १२ स्थानीय तहका करिब ६० प्रतिशत स्वास्थ्य संस्थाहरू सडक भए पनि स्थानीयको पहुँचमा नहुने सिन्धुपाल्चोक जिल्ला विपद् प्रतिकार्य योजना, २०७९ मा उल्लेख छ । त्यसमा उल्लेख भएका ८१ स्वास्थ्य संस्थामध्ये ६२ स्वास्थ्य संस्था जाने सडक कच्ची छन् । तीमध्ये ४५ स्वास्थ्य संस्था बर्सातमा आवतजावत गर्न नसकिने स्थानमा छन् ।
सिन्धुपाल्चोकको मनसुन पूर्वतयारी तथा प्रतिकार्य योजना, २०८१ अनुसार जिल्लामा स्वास्थ्य संस्थाको संख्या १ सय ४५ छ । बीएमजे जर्नलमा प्रकाशित नेपालको सार्वजनिक स्वास्थ्य सुविधाहरूमा भौगोलिक पहुँचको समानता नामक अध्ययनले पनि यातायातको पहुँच अभावका कारण प्राथामिक सेवाबाट वञ्चित भएको देखाएको छ ।
सिन्धुपाल्चोकजस्ता बहुप्रकोपबाट उच्च प्रभावित जिल्लामा घाइते र जोखिम समूहका लागि राज्यले स्वास्थ्य सेवामा सहज पहुँच सुनिश्चित गर्नुपर्ने हो । तर, बर्खामा यहाँका स्वास्थ्य संस्था नै थला पर्ने देखिन्छ ।
स्थानान्तरणको छैन सरकारी तयारी
बर्सेनि विपद्को चपेटामा परिरहेको सिन्धुपाल्चोकमा विपद् जोखिम न्यूनीकरण र पूर्वतयारीका विषयमा विगतको घटनाबाट पाठ सिक्न नसकेको उदाहरण हो, बोल्दे । उनीहरूले कैयौँ बर्खा पहिरोको त्रासमा घरविहीनसरह बिताइरहेका छन् । उनीहरू सुरक्षित बसोबासको पर्खाइमा छन् । तर, सरकार आँखा र कान थुनेर बसिरहेको छ ।
२०७७ असारमा सुतिरहेको बेला मध्यरातमा आएको पहिरो भुल्न सकेकी छैनन्, बोल्देकी माइली तामाङले । उनी घरमा एक्लै छिन् । छोरा–बुहारी काठमाडौँ बस्छन् । छोरीको विवाह भयो । उनका श्रीमान् बितेको ४ वर्ष भयो । बर्खामा पानी आउने जस्तो भएपछि ७५ वर्षीया उनी पनि छिमेकीसँगै सुरक्षित ठाउँ खोज्दै उक्लिन्छिन् ।
२०७७ सालको पहिरो सम्झँदै माइली भन्छिन्, ‘सबै लुँड्याएर ल्यायो होला जस्तो लागेको थियो । हेरौँ भने अन्धकार थियो । बिहान उठेर माथि हेर्दा बस्ती छेउबाटै पहिरो खसेछ । यतापट्टि जमिन चिराचिरा परेको रहेछ, अलि उता सडकमा अर्को पहिरो खसेर तल खोलासम्म पुगेछ ।’
उनले दुःखेसो सुनाइन्, ‘त्यसपछि हामीले बस्न मिल्ने ठाउँ नै देखेनौँ । चौरमा आधा बर्खा बित्यो । पहिरो दोहोरिन नदिन पानी पर्दा आउने भल अर्कोतर्फ तर्काएर अहिले थामिएको छ । तर, मनको पहिरो उस्तै छ ।’ बर्खामा सधैँ ढुकढुक ढुकढुक भई बाँच्नुपरेको उनको गुनासो छ । भन्छिन्, ‘यताबाट आउँछ कि उताबाट आउँछ जस्तो लाग्छ । निद्रा लाग्दैन ।’
जनप्रतिनिधि आएर स्थानान्तरण गर्ने आश्वासन दिए पनि पूरा नभएको उनी बताउँछिन् । सरकारले बसाइँ नै सर्नुपर्ने भनेपछि अर्को ठाउँ सर्न जमिन हेर्न गई बैनासमेत गरे पनि पछि त्यो कुरा नै हराएको अधिकांश बोल्देवासीको गुनासो छ । बोल्देवासीहरू सुरक्षित वासस्थानका लागि हेलम्बु–७ पोखरेडाँडा र हेलम्बु–३ चुरेटार पुगेका रहेछन् । बैना (पोखरेडाँडाका जग्गाधनीलाई ३० हजार र चुरेटारका जग्गा धनीलाई एक लाख) दिएर उनीहरू सुरक्षित स्थानमा बस्ने सपना बुन्दै फर्किएका रहेछन् ।
दिन बित्यो, महिना बित्यो, वर्ष बित्यो, स्थानान्तरणको प्रक्रिया अगाडि बढेन । बोल्देको १२–१३ घर पहिरोको उच्च जोखिममा छन् । उनीहरू सुरक्षित आवासको आशमा छन् । तर, स्थानीय सरकार मौन छ । २ वर्षअघि बोल्देको बस्ती स्थानान्तरण गर्न गाउँपालिकालाई भनिएको सिन्धुपाल्चोकका विपद् सम्पर्क व्यक्ति रविराज धिताल बताउँछन् । उनका अनुसार बस्ती स्थानान्तरणको प्रक्रिया स्थानीय तहले अगाडि बढाउनुपर्ने हो ।
बोल्देवासीले बस्ती जोखिममा छ भनेर सिफारिस गरेको तर स्थानान्तरणको प्रक्रिया अगाडि नबढेको हेलम्बु गाउँपालिकाका अध्यक्ष निमा ग्याल्जेन शेर्पा स्विकार्छन् । उनी भन्छन्, ‘पूरा बस्ती जोखिममा होइन । २–४ घर हो । त्यो प्रक्रिया अगाडि बढेको छैन ।’
सिन्धुपाल्चोक पूर्व जिल्ला समन्वय समितिका प्रमुख कृष्णगोपाल तामाङको संयोजकत्वमा जोखिममा रहेका बस्तीबारे अध्ययन गर्न समिति बनाइएको थियो । उक्त समितिले २०७७ सालमा नै जिल्लाका ८ वटा बस्ती (हेलम्बु गापाको बोल्दे, पाँचपोखरी थाङपाल गापाको टिपिने, मेलम्ची नपाको थकनी, जुगल गापाको लिदी, जुगलकै बोल्दे, बाह्रबिसेको बगाम, भोटेकोसीको लार्चा)लाई स्थानान्तरण गर्न सुझाइएको थियो ।
तर, अहिलेसम्म स्थानीयहरू जोखिम मोलेर सोही स्थानमा बसिरहेका छन् । धितालका अनुसार अन्य सात स्थानका बस्तीमध्ये केही स्थानान्तरणको प्रक्रियामा छन् भने केहीको स्थानान्तरण भइसकेको छ ।
इञ्जिनियरिङसहित हरित विकासमा जोड
पछिल्लो १५–२० वर्षको अवधिमा ग्रामीण सडक निर्माणमा बुल्डोजर र एक्स्काभेटरजस्ता भारी उपकरणहरूको प्रयोग बढेको छ । त्यससँगै उपकरणमा आधारित प्रविधिले हरित सडक पद्धति अर्थात् श्रममा आधारित प्रविधिलाई प्रतिस्थापन गरिरहेको राष्ट्रिय योजना आयोगको ग्रामीण सडक निर्माणमा भारी उपकरण प्रयोगबाट उत्पन्न विपद्सम्बन्धी अध्ययन प्रतिवेदनमा उल्लेख छ ।
उक्त प्रतिवेदनअनुसार हतार–हतार तालिम दिइएका बुल्डोजर चालकहरूले तदर्थ इञ्जिनियरका रूपमा काम गरिरहेका छन् । र, कहाँ सडक बनाउने भनेर तुरुन्तै निर्णय गरिरहेका छन् । उनीहरू ठाडो भिरालो भू–भागमा टेढोमेढो रिँगटा लाग्ने सडक बनाउँछन् । र, पूरै पहाड अस्थिर हुने उल्लेख गरिएको छ ।
यी समस्या समाधान गर्न सडक निर्माण गर्दा इञ्जिनियरिङ मापदण्डको पालना गर्ने, पानीको निकासको उचित व्यवस्था गर्ने, वातावरणमैत्री प्रविधिको प्रयोग गर्ने र स्थानीय समुदायलाई सहभागी गराउनु आवश्यक रहेको जलधारविज्ञ उपाध्या बताउँछन् । उनका अनुसार दिगो सडक निर्माणको एक अवधारणाअन्तर्गत ‘हरित सडक निर्माण’ एउटा स्थापित अभ्यास हो ।
जसले स्थानीय सामग्री तथा ‘बायोइञ्जिनियरिङ’को प्रयोग गरेर सडक निर्माणको वातावरणीय असरलाई कम गर्छ । यस अवधारणामा पहाडमा एकैपटक ठूलो बाटो नखनेर ‘एलाइन्मेन्ट’ मिलाएर सानोबाट सुरू गर्ने गरिन्छ । त्यो स्थिर भएपछि बढाउने गरिन्छ । एकैपटक ठूलो बाटो निर्माण गरिँदैन । कुनै स्थानमा सिंगल लेन र कुनै स्थानमा डबल लेनजस्तो बाटो हुने उनले जानकारी दिए ।
उपाध्याका अनुसार बलेफीबाट माथि ३००÷४०० मिटर बाटो पहिरोको बीचमा भएका कारण कहिले पनि राम्रो हुँदैन । पहाडमा यस्तै विभिन्न किसिमका समस्या भएको पाइन्छ । हरित अवधारणाअन्तर्गत कुन स्थानमा कमजोर भएको थाहा हुन्छ । त्यसमा थप के गर्न सकिन्छ भन्ने पनि थाहा हुन्छ । एकैपटक ठूलो बनाउनुभन्दा त्यसलाई सानो चौडाइबाट सुरु गरेर बढाउँदै लैजाने अवधारणा हो ।
यसमा एकैपटक डोजरभन्दा पनि कतिपय स्थानमा मान्छेहरूले पनि खनेर लैजाने गरिन्छ । यो क्षति कम गर्ने र निर्माण मजबुत बनाउने हिसाबमा आएको अवधारणा हो । त्यसकारण यो प्रकृतिसँगै मिलेर काम गर्ने एक समाधानको उपायभित्र पर्ने उनी बताउँछन् ।
त्यससँगै डिजाइन पनि महत्त्वपूर्ण हुने उनको तर्क छ । उपाध्याका अनुसार पहाडमा सडक कताबाट लैजाने, स्लोप कुन ठाउँमा मजबुत छ, कुन ठाउँमा छैन लगायत इन्जिनियरिङ डिजाइन असाध्यै महत्वपूर्ण हुन्छ । त्यसमा भू–गर्भ, स्लोप, भिरालो र चौडा सबै हेरेर कहाँ कति कटिङ गरेर लैजाने भन्ने हिसाबकिताब गरिन्छ ।
त्यहीअनुसार स्लोप कटिङ हुन्छ । त्यस्तै, कटिङ गरेको माटोले थप क्षति गर्न नदिन कहाँ थुपार्ने भन्ने हुन्छ । अनि ढल पनि कति जम्मा हुन आउँछ । र, क्षति नहुने स्थान (पहारामा) ढल निकाल्ने लगायत काम सूक्ष्म रूपमा हेरेर गरिन्छ । त्यति मात्र नभई सिन्धुपाल्चोकको हकमा धेरै ठाउँहरू थिलथिलो भएका छन् । त्यसकारण सडक लैजान मिल्ने/नमिल्ने पनि हेर्न जरूरी हुने उपाध्याको तर्क छ।
गत १६ पुसमा नेपाल न्युज अनलाइन पोर्टलमा प्रकाशित । यो रिपोर्ट इन्टरन्यूज अर्थ जर्नालिज्म नेटवर्क र नेपाल वातावरण पत्रकार समूहको सहयोगमा तयार गरिएको हो ।





