अतिक्रमणको चपेटामा दर्जन बढी पोखरी

लक्ष्मी चौधरी
१७ चैत, जनकपुरधाम।

प्राचिन मिथिलाको राजधानी, वर्तमान मधेश प्रदेशको राजधानी जनकपुरधाम उप–महागनरपालिका– ३, धनुषाका स्थानीय सुदर्शनलाल कर्ण अहिले ७५ वर्षका भए । उनी २० वर्षका हुँदा घर नजिकैको देवान पोखरीमा नुहाउने गरेको राम्रोसँग याद छ ।

त्यही पानी भान्साको काम पनि प्रयोग हुन्थ्यो । कर्ण भन्छन्, ‘मेरा हजुरबुवा हरिशचन्द्रलालले पोखरी खन्न लगाउनु भएको थियो । पछि सर्वोच्च अदालतले चन्द्रकुप (देवान) पोखरीको डिल मास्न नपाइने र सार्वजनिक हितको लागि प्रयोग गर्न मिल्ने निर्णय गरेपछि यो सबैका साझा पोखरी भयो ।’

कर्ण र उनको परिवारको दैनिक जीवनको हिस्सा बनेको यो पोखरी अहिले हेर्न लायक छैन । वरपर फोहोरको थुप्रोले भरिएको छ । विसं २०३० सालदेखि फोहोरहुँदै जान थालेको यो पोखरी अतिक्रमणका कारण कहिले पुरिने हो, थाहा छैन । समयमा संरक्षण भएन भने यो पोखरी छिटै लुप्त भएर जान सक्ने कर्णलाई चिन्ता छ ।

जनकपुरधामका अन्य दर्जनौँ पोखरीको हालत पनि देवान पोखरीको भन्दा फरक छैन । धार्मिक आस्थाको केन्द्र मानिने यहाँका धनुषसागर, गंगासागर, अग्नीकुण्ड, र रामसागरजस्ता पोखरी वरपर अवैध निर्माण र फोहोर थुप्रिएपछि वरपरका पानीका मुहान पनि विस्तारै सुक्दै जान थालेका छन् ।

पोखरी संरक्षणका नाममा तीनवटै तहका सरकारले करोडौँ रूपैयाँ खन्याए पनि प्रभावकारी व्यवस्थापनको अभाव देखिएको छ । कुनैबेला विशाल जलस्रोत र पर्यावरणीय सन्तुलन कायम राख्न महत्वपूर्ण भूमिका खेलेका यी पोखरीहरू विलय हुने चिन्तामा छन् यहाँका स्थानीय, अभियन्ता र पर्यावरणका जानकारहरू ।

जनकपुरधाम क्षेत्र विशेषगरी वैदिक साधना, तपस्या तथा धार्मिक गतिविधिहरूको भएको एतिहासिक क्षेत्र हो । पोखरीको सहरका रूपमा परिचित साविकको जनकपुर र वर्तमान जनकपुरधामलाई कुनै बेला ‘बावन कुट्टी, बहत्तर कुण्ड सन्त चले झुण्ड ही झुण्ड’ भन्ने गरिन्थ्यो । यसले जनकपुरमा ५२ वटा कुट्टी (आश्रम) र ७२ वटा कुण्ड (पोखरी) रहेकाले यहाँ साधु–सन्तहरूको बाक्लो उपस्थिति रहने संकेत गथ्र्यो ।

मिथिला क्षेत्रमा रहेका यी कुण्डहरू स्नान, यज्ञ, हवन तथा धार्मिक अनुष्ठानका लागि प्रयोग गरिन्छन् । तत्कालीन जनकपुर नगरपालिकाले तयार पारेको जनकपुर टाउन प्रोफाइल २०४८ अनुसार जनकपुरका ५८ धार्मिक पोखरीहरू (अन्य माछा पाल्ने पोखरी निजी) सहित ४० हेक्टरमा जम्मा ८२ पोखरी थिए ।

त्यसअघि यहाँ कति पोखरीहरू थिए भनेर आधिकारिक अभिलेख राख्ने काम खासै भएको देखिदैन । विसं २०६२ मा बृहत्तर जनकपुर क्षेत्र विकास परिषद्को उच्चस्तरीय कार्यदललको प्रतिवेदनमा पनि जनकपुरधाममा ४९ वटा सार्वजनिक र २१ वटा निजी पोखरी भएको उल्लेख छ ।

तर, हालसम्म ५ वटा सार्वजनिक पोखरी लुप्त भइसकेका छन् । जसमा जनक सरोवर, अमृतकुण्ड, गोपाल सर, पयस्विनी सर र बलदेव सर जस्ता ऐतिहासिक पोखरी पर्छन् । बाँकी पोखरीको अवस्था दयनीय बन्दै गएको छ । धेरैको क्षेत्रफल क्रमशः घट्दो छ ।यस्तै अवस्था जारी रहँदा जनकपुरधामका अधिकांश पोखरी इतिहासको पानामा मात्र सिमित हुने खतरा प्रतिवेदनले त्यही बेला औँल्याएको थियो ।

यस्तै, गंगा सागर, धनुष सागर, राम सागर, मुरली सर, विषहरा सर, पुरन्दर सर, पादप्रक्षालन सार (गोरधोई पोखरी), लबकी पोखरी, दशरथ तलाउ (महाराज सागर), कपालमोचनी सर, अग्निकुण्ड, प्रेम सरोवर, सीता कुण्ड, बिहार कुण्ड, अंगराज सागर, लक्ष्मण सर, बिधान हरिणी सार, जोगी झा पोखरी, मणिमण्डप पोखरी, परिक्षण कुण्ड, सेवामन्तक कुण्ड, रत्न सागर, वाल्मीकि सर (चौधरी पोखरी) जस्ता दर्जनौँ पोखरी अस्तित्व के हुने कुनै ठेगान छैन ।

संरक्षणमा उदासिनता

पोखरी संरक्षणका लागि तत्कालीन बृहत्तर जनकपुर क्षेत्र विकास समितिले जनकपुरका पोखरी संरक्षणको नाममा घेरबार तथा पोखरीमा कंक्रिटका पर्खाल तथा डिल बनाउने काम २०५२ सालबाट नै सुरू गरे पनि अहिले विभिन्न निकायले कंक्रिटका डिल अधिकांश पोखरीमा बनाइसकेका छन् ।

यता जनकपुरधाम उप–महानगरपालिकाले जलवायु परिवर्तनको असरलाई मध्यनजर गर्दै आगामी आर्थिक वर्षमा डिल निर्माण नगरी पोखरीको पिँध सफाइमा अग्रसरता देखाउने जनाएको छ । चालु आर्थिक वर्षमा पनि उप–महानगरपालिका पछाडि रहेको दीर्घीका सर र जानकी मन्दिर वरपर रहेको तेलहा मरहा पोखरीको पिँध सफाई गरेको उप–महानगर प्रमुख मनोजकुमार साहले बताए ।

तत्कालीन जनकपुर नगरपालिका स्थापना भएदेखि नै यहाँका पोखरी संरक्षणमा लागेको छ । तर, अधिकांश पोखरी गुठीको स्वामित्वमा भएकाले यसमा कुनै ठोस योजना बनेका छैनन् । सानातिना काममा मात्रै सीमित भइरहेका छन् । जस्तै कुनै घाट सफाई पोखरी सफाई लगायतको कार्य मात्रै हुँदै आएको छ ।

बिहार कुण्ड जनकपुरधामका ऐतिहासिक तथा धार्मिक पोखरीमध्ये एक हो । तर हाल यसको कंक्रिटका डिलले प्राकृतिक सौन्दर्यता र मौलिकता बिगारेको स्थानीयको साधुसन्तहरूको गुनासो छ । धार्मिक अगुवा नारायण शरणका अनुसार यी पोखरीहरू हाम्रो आस्था र परम्पराको अटुट हिस्सा हुन् । पोखरीको संरक्षण नहुँदा धार्मिक पर्वहरूको महत्व हराउने खतरा छ ।

वातावरणीय दृष्टिले पनि महत्वपूर्ण जनकपुरका धेरै पोखरी लोप हुने वा जिर्ण अवस्थामा छन् । शरण भन्छन्, ‘२०–३० वर्षअघि यी पोखरीको पानी भान्सामा प्रयोग हुन्थ्यो । वरिपरि हरियाली थियो तर अहिले कंक्रिट र अव्यवस्थित वस्तीको अतिक्रमणमले पोखरी ओझेलमा परेका छन् ।’ उनका अनुसार कंक्रिटले पोखरीको अस्तित्व संकटमा पारेको र वातावरणीय सन्तुलनसमेत बिग्रिएको महसुस भएको छ ।

जनकपुरधामका पोखरीहरू वातावरणीय दृष्टिले अत्यन्त महत्वपूर्ण मानिन्छन् । यी पोखरीहरूले तापमान नियन्त्रण, भूजल पुनःभरण, जैविक विविधताको संरक्षण तथा हावाको आद्र्रता कायम राख्न अहम भूमिका खेल्छन् । अत्यधिक उष्ण वातावरणमा पनि यस्ता जलाशयहरूले सूर्यको ताप अवशोषण गरेर वातावरणलाई समशीतोष्ण बनाउन मद्दत गर्छन् ।

पोखरी संरक्षणका नाममा बनाइने कंक्रिटका संरचना दीर्घकालीन र स्थायी समाधान होइनन् । बरू यसले पोखरीको संरक्षण भन्दा पनि भविष्यमा जल तथा जमिनबीचको पारिस्थितिकीय प्रणलीलाई नकारात्मक असर पार्ने पर्यावरण अभियन्ता सुरेश शर्मा बताउँछन् । उनको बुझाइमा दिगो विकासका लागि कंक्रिट अर्धछिद्रयुक्त हुनुपर्छ ।

तर अत्यधिक प्रयोगले पानीको प्राकृतिक रिसाइक्लिङमा अवरोध पु¥याउँछ । जब वर्षाको पानी सोसिने ठाउँ कम हुन्छ, भूमिगत जलको पुनर्भरणमा कमी आउँछ, जसले पोखरीहरूको प्राकृतिक जलस्तर सन्तुलनमा समस्या निम्त्याउँछ । शर्मा भन्छन्, अहिले व्यापक कंक्रिटिकरणका कारण जमिनले वर्षाको पानी सोस्ने ठाउँ घट्दै गइरहेको स्पष्ट देखिन्छ, जसले वातावरणीय सन्तुलनमा गम्भीर असर पारिरहेको छ ।’

जनकपुरधाम उपमहानगरपको स्थापना कालदेखि नै पोखरी संरक्षणमा अग्रसरता देखाए पनि ठोस कदम चाल्न सकेको छैन । उप–महानगरका पूर्व प्रमुख लालकिशोर साहको कार्यकाल (२०७७) मा पोखरी सौन्दर्यीकरणका लागि उप–महानगर भवन पछाडितर्फ अवस्थित दीर्घीका सरमा ४ करोड ७४ लाख ६६ हजार ६ सय ६२ रूपियाँको लागतमा पोखरी ठेक्का लाग्यो ।

गत आर्थिक वर्षमा सोही पोखरी उत्खननका लागि पुनः साढे २५ लाख रूपैयाँको ठेक्का लगाइएको थियो । यसरी पोखरी संरक्षणका लागि केही बजेट छुट्याएर पोखरीका डिल तथा घाट निमाण गर्ने लगायतका काम भए पनि वातावरणमैत्री कार्य हुन सकेको छैन । संरक्षणमा स्थानीय सरकारको एकल प्रयास मात्र पर्याप्त नहुने उप–महानगरका वातावरण शाखा प्रमुख सुवास शर्मा बताउँछन् ।

उनी भन्छन्, ‘उपमहानगरपालिकामा यो शाखा सक्रिय भएको २ वर्ष भयो । यसले वृक्षरोपणलगायतका कार्य गर्दै आएको छ । पोखरी संरक्षण सम्बन्धी सानो तिनो कार्य मात्र गर्दै आएको छ ।’ सरकारी उदासिनताका बाबजुद केही स्थानीय युवा समूह र महिलाहरू संरक्षण अभियानमा सक्रिय देखिन्छन् । संरक्षण अभियान अन्तर्गत २०७२ सालदेखि पोखरी सौन्दर्यीकरण, सरसफाई, अतिक्रमण हटाउने र संरक्षणलगायतका कामहरू हुँदै आइरहेका छन् ।

नागरिक समाजका धनुषाका अध्यक्ष दिवाकर उप्रेती भन्छन्, ‘पोखरी हाम्रो पहिचान हो । हामी स्थानीय तहबाट संरक्षणका लागि दबाब दिइरहेका छौँ ।’ तर यही अवस्था विद्यमान हुने र पोखरी संरक्षणमा ढिलाइ भए आगामी पुस्ताले तीनको अस्तित्व देख्न नपाउने ठूलो चिन्ता उनलाई छ ।

अतिक्रमण र फोहोर

तीव्र अतिक्रमणले पनि जनकपुरधामका पोखरीहरू पुरिँदै जाने संकेत बढ्दै गएको छ । तेलहा पोखरी, मडहा पोखरी, चन्द्रकुप पोखरी, रामसागर, मुरली सर, पुरन्दर सर, पाकवती सर, लक्ष्मण सर, पापमोचनी, दीर्घीका सरलगायतका पोखरी हाल अतिक्रमणको मार खेपिरहेका मध्ये पर्छन् ।

पर्यावरण अभियन्ता तथा मधेश प्रदेशसभा सदस्य रामअषिश यादव लामो समयदेखि पोखरी सफाई अभियानमा संलग्नमध्येका एक हुन् । गंगासागरको सफाई र महागंगा आरतीको सुरूवातमा पनि उनको योगदान छ । यादव लगायतका संरक्षण अभियन्ता र स्थानीयले पोखरीहरूको चारैतर्फ अव्यवस्थित बसोबास तथा अतिक्रमण बढेपछि पोखरीको पानी सुक्दै गइरहेको बताउँछन् ।

अर्कातिर कतिपय पोखरीहरू नजिकका वस्तीको फोहोर फाल्ने ‘डम्पिङ साइट’ भइसकेका छन् । प्लास्टिक, ढल र निर्माणजन्य फोहोर मिसिएर पानीको गुणस्तर नराम्रोसँग खस्किएको छ । वृहत्तर जनकपुर विकास परिषद्का तत्कालीन प्रशासन शाखा अधिकृत ढुंगानाका अनुसार मठ–मन्दिर सञ्चालक तथा गुठी संस्थाहरूले ध्यान नदिँदा पनि पोखरीहरू लोप हुने र अतिक्रमणको चपेटामा पर्ने प्रमुख कारण हुन् ।

कतिपय व्यक्तिहरूले आर्थिक लाभका लागि पोखरी र मन्दिरसँग सम्बन्धित जग्गा बेच्ने घटनाहरू समेत भएका छन् । ‘कानून अनुसार यस्ता सम्पदा बेचबिखन गर्न नपाइए पनि नियममा कमजोरी खोजेर सम्पत्ति बिक्री गर्ने प्रवृत्ति बढ्दो छ,’ उनले भने । ढुंगानाका अनुसार राम मन्दिर अगाडि रहेको बगैंचा समेत निजी नाममा दर्ता भइसकेको थियो, जसलाई पछि रोकिएको थियो । यस्ता धेरै सम्पदा क्षेत्रका जग्गा राज्यले थाहा नै नपाई बिक्री भएका घटनाहरू रहस्यमय तवरले घट्ने गरेका छन् ।

यति हुँदा पनि अझैसम्म केही सार्वजनिक पोखरीहरू धार्मिक कार्य र जनजीवनसँग जोडिएर अस्तित्वमा छन् । गंगा सागर, धनुष सागर, राम सागर, मुरली सर, विषहरा सर, पुरन्दर सर, पादप्रक्षालन सार (गोरधोई पोखरी), लबकी पोखरी, दशरथ तलाउ (महाराज सागर), कपालमोचनी सार, मध्यमा सार, अग्निकुण्ड, प्रेम सरोवर (अनुराग) जीवित छन् ।

सीता कुण्ड, बिहार कुण्ड, अंगराज सागर, लक्ष्मण सर (बलराम सार), बिधान हरिणी सार (विशारा), धुतपाप सर, जोगी झा पोखरी, लवा(की पोखरी (गामक पोखरी), छत्रधारी सर, गोपाल सर (गोपालजी पोखरी), गनमती सर (गैनही पोखरी), मणिमण्डप पोखरी, परिक्षण कुण्ड, सेवामन्तक कुण्ड, थाडी पोखरी, गेन्ही पोखरी, नाथु सागर, रत्न सागर, बिदाल सर, रूक्मिणी सर, पाकवती सर, भृगु सार, तैलघृतिका सार (तेल्हा प्रार्थना), पापमोचनी सार, मण्डन सार, पूर्णसागर (पूर्ण पोखरी), सुब्बा पोखरी, सिङ्गारिया पोखरी, चितही पोखरी, मन्थन पोखरी, कमला कुण्ड र वाल्मीकि सर (चौधरी पोखरी) हालसम्म जनकपुरको सांस्कृतिक र धार्मिक महत्व बोकेर जीवित छन् ।

फोहोर व्यवस्थापनको अभाव र बढ्दो अतिक्रमण तथा जलस्रोतको दुरूपयोगका कारण यी पोखरीहरू खण्डहर हुन कुनै बेर लाग्ने छैन । त्यसका लागि प्रदेश र स्थानीय सरकारले विशेष योजना नै ल्याएर संरक्षण कार्यक्रम गर्नुपर्ने अभियन्ताहरूको माग छ । जनकपुरधामका यी पोखरीहरू बचाउन सामुदायिक सहभागिता, प्रभावकारी नीति कार्यान्वयन, र जनचेतना अभिवृद्धि अपरिहार्य देखिन्छ । स्थानीय सरकार, समुदाय, र नागरिक समाजले साझा प्रयास नगर्ने हो भने मिथिला सभ्यताको अमूल्य सम्पदा हराउने निश्चितजस्तै देखिन्छ ।

हाल लुप्त भइसहेको ‘जनक सरोवर’ वडा नम्बर १, वकिल टोलमा अवस्थित पोखरी थियो, जहाँ डा. अन्जनी सिंहको घर निर्माण भएको छ । त्यसैगरी, ‘अमृत कुण्ड’ जनकपुर अञ्चल अस्पतालको दक्षिणतर्फ अवस्थित भए पनि अहिले त्यस क्षेत्रलाई बाक्लो बस्तीले ढाकेको छ ।

‘पयश्विनी सर’ मानकी होटलको पश्चिममा र ‘बलदेव सर’ कन्या माध्यमिक विद्यालयको पूर्वतर्फ अवस्थित थिए, तर अहिले ती स्थानमा निजी घरहरू निर्माण भइसकेका छन् । यस्तै गोपाल धर्मशालाको पूर्वतर्फ रहेको ‘गोपाल पोखरी’ पनि पूर्ण रूपमा लुप्त भइसकेको छ ।

पोखरी नै पाखरीको सहरले परिचित जनकपुरको पाखेरी मासिनु, अतिक्रण हुनुले यहाँको पारिस्थितिकीय प्रणलीमा असर पार्नुका साथै यहाँको संस्कृति, सभ्यता र मानवजीवनमा समेत प्रभाव पारेको छ । समयमा यहाँको पोखरीको अतिक्रणलाई रोक्न सकिएन भने वातावणीय संकटले ठूलो रूप लिन सक्ने वातावरणविद् सुरेश शर्माको आंकलन छ ।

मधेश सुख्खाग्रस्त क्षेत्र घोषणा

यसपालीको ढिला वर्षाले तराई मधेशका किसानहरू गम्भीर समस्यामा परेका छन् । खेती गर्ने समयमा खेत सुक्खा छन्, मल र बीउ खर्च भइसकेको छ । तर उत्पादनको ग्यारेन्टी छैन । अब राज्यका जिम्मेवार निकायहरूले तुरून्तै राहत र वैकल्पिक उपाय ल्याउन सक्दैन भने यो समस्या खाद्यान्न संकटमा परिणत हुन सक्छ ।

मधेशका किसानहरूको अवस्था जलवायु परिवर्तनसँगै झन् चुनौतीपूर्ण बन्दै गएको छ । ढिलो वर्षा र अव्यवस्थित सिँचाइ व्यवस्थाले कृषिमा भरपर्ने मधेशका किसानहरूलाई ठूलो संकटमा पारेको छ । यदि तत्काल समाधानका उपायहरू ल्याइएनन् भने यो संकट केवल किसानको मात्र होइन, प्रदेशकै खाद्य सुरक्षाको संकट बन्ने खतरा समेत देखिन्छ ।

यस्तै समयमा पर्याप्त पानी नपर्दा कल, पोखरी तथा इनार सुक्न थालेपछि प्रदेश सरकार तथा स्थानीय संघ÷संस्थाहरूको सहकार्यमा ट्यांकरको पानी वितरण गरेका थिए भने सिचाँइका लागि प्रदेश सरकारले आठवटै जिल्लामा स्यालो ट्यूवेल वितरणको लागि निवेदन आह्वान गरेको थियो ।

मधेश सुख्खाग्रस्त क्षेत्र घोषणापछि गत ९ साउनमा महोत्तरीको मटिहानीमा योजित एक कार्यक्रममा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले मधेशमा ५ सय डिप बोरिङ जडान गरिनुपर्ने बताएका थिए । एक बोरिङले ६० बिघा खेत सिँचाइ गर्न सकिने तर्क गरेका उनले तत्कालका लागि पाँच सय डिप बोरिङ उपयुक्त रहेको उल्लेख गरेका थिए ।

तर, डिप बोरिङले पनि भोलिका दिनमा समस्या नदोहोरिएला भन्ने छैन । जमिनमुनीको पानी बोरिङले तानिरहँदा भूमिगत सतहको पानी घट्ने सम्भावना बढेर जान्छ । जसले गर्दा जमिनमुनीको पानी दोहन गर्नुअघि सिञ्चित गर्न पनि पोखरी संरक्षण गर्न अवश्यक रहेको वातावरण तथा जलवायु नीतिविज्ञ डा. ङमिन्द्र दाहाल बताउँछन् ।

वातावरण तथा जलवायु नीतिविज्ञ उनी भन्छन्, ‘मिथिला सभ्यताको आधार पोखरी–तलाउको विज्ञान हो । त्रेता युगदेखि निरन्तर चल्दै आएको यही पानी–सभ्यताले जनकपुरलाई जोगाइरहेको छ ।’ ती प्राचीन ताल–पोखरीहरूले गर्मीमा शीतलता र जाडोमा ताप–सन्तुलन प्रदान गर्दै सहरलाई चरम मौसमबाट जोगाइ दिएका छन् ।

पानी विज्ञान नबुझेर हचुवाका भरमा राजनीतिक निर्णय गर्नु गलत अभ्यास भएको दाहालको ठहर छ । यसका लागि जलविज्ञ, वातावरणविद्, प्राविधिक, सामाजिक विज्ञ र मानवशास्त्रीको सामूहिक दृष्टिकोण आवश्यक पर्ने उनको सुझाव छ । दाहाल भन्छन्, ‘विराटनगर, वीरगञ्जजस्ता नयाँ सहरहरूले प्राचीन पानी–विज्ञान अपनाएनन् । तर जनकपुर पानी व्यवस्थापनको जीवित पाठशाला हो जसबाट देशभरका सहरहरूले पनि पाठ सिक्नुपर्छ ।’

यस्तै मधेशको कृषिमा कुलो प्रणाली उपेक्षा पर्नु र पम्पमा सहज बिजुली, अनुदान जस्ता गलत नीतिले किसानले आवश्यकताभन्दा बढी भू–जल पम्प गर्न थाले । परिणामतः खोला सुक्नेक्रम बढेको भूमिगत पानी पुनःभरण हुन छाड्को र जलस्तर तल झर्दै गएको वातावरणविद् दाहालको कथन छ । ‘यदि अत्यधिक भूमिगत पानी दोहनका कारण भारतका विभिन्न क्षेत्रमा जस्तै वस्ती विस्थापन, सुक्खा र खेती संकट जस्तै समस्या नेपालमा पनि नदेखिएला भन्ने छैन’, उनी भन्छन् ।

मधेशमा पानी जोगाउन तीनै तहका सरकार, संघ/सस्था राजनीति दल तथा सरोकारवाला निकायले एकीकृत ढंगबाट काम गर्नुपर्ने उनी लगायतका विज्ञहरूको सुझाव छ । दीर्घकालीन सोच र चुरे–भावर क्षेत्रमा पानी अड्याउन संरचना बनाएर भूमिगत पुनःभरण गर्न सकियो भने तराईका पोखरी कहिल्यै नसुक्ने उनीहरूको ठहर छ ।

जलवायुविज्ञ दाहाल भन्छन्, ‘वर्षातको पानी रोक्ने संरचना बनाइदिएको खण्डमा हरियाली फर्किन्छ, खोलाहरू बगिरहन्छन्, जीवजन्तु फर्किन्छन् र हाम्रो सभ्यता पुनर्जीवित हुन्छ । यसका लागि पालिका, प्रदेश, संघ र सबै निकाय एकमत भएर काम गन आवश्यक छ । हामीसँग विज्ञान, प्रविधि, बजेट र संरचना बनाउने क्षमता सबै छ—अहिले चाहिएको केवल सही उपयोग र प्रकृतिप्रति प्रतिवद्धता मात्र हो ।’

उनका अनुसार सार्वजनिक पानीमा एक जनाको मनपरी निर्णय मान्य हुँदैन । पोखरी, इनार, कुवा यी केवल संरचना मात्र होइनन्, जलचर, जीवजन्तु र मानवको सभ्यतासँग र साझा अधिकार जोडिएको प्राकृतिक स्रोत हुन् । जलवायु परिवर्तन र वातावरणीय समस्याको समाधानका लागि विश्व आज प्रकृतिमा आधारित उपायतर्फ उन्मुख छ । सरकारको नीतिमा पनि यही विज्ञान–सम्मत धारणा समावेश छन् ।

गत ७ माघमा गोरखापत्र अनलाइनमा प्रकाशित। यो रिपोर्ट इन्टरन्यूज अर्थ जर्नालिज्म नेटवर्क र नेपाल वातावरण पत्रकार समूहको सहयोगमा तयार गरिएको हो ।


पोखरी तलाउ जनकपुर

ताजा समाचार

सम्बन्धित समाचार