नदी कटान रोक्न जैविक तटबन्ध

१९ चैत, कञ्चनपुर ।

नदी नियन्त्रणका लागि दातृ निकाय र जनश्रमदानमा जैविक तटबन्ध निर्माण गरिएको छ ।

कञ्चनपुरको पुनर्वास नगरपालिका र लालझाडी गाउँपालिकास्थित दोदा नदीको कटान रोक्न जैविक तटबन्ध निर्माण गरिएको हो ।हरेक प्रत्येक वर्ष नदीको बाढीबाट प्रभावित हुँदै आएको क्षेत्रमा तटबन्ध निर्माण गरिएको पुनर्वास नगरपालिका– ७ का अध्यक्ष मुलचन्द रानाले बताए ।

‘हरेक वर्ष यहाँ करिब ३ सय परिवार बाढीबाट प्रभावित हुँदै आएका छन् । खेतीयोग्य जग्गा कटान हुँदै आएको छ । त्यसलाई रोक्न जैविक तटबन्ध निर्माण गरिएको हो’, उनले भने । लालझाडी गाउँपालिकाका अध्यक्ष निर्मला रानाले यहाँको पुनर्वास र लालझाडी गाउँपालिका हरेक वर्ष बाढीबाट प्रभावित हुँदै आएको बताइन् । बाढी प्रभावित वडा नं १ र ४ मा जैविक तटबन्ध निमार्णको काम भइरहेको उनले जानकारी दिइन् ।

नेपाल राष्ट्रिय समाज कल्याण संघ, स्थानीय पालिका र जनश्रमदानमा नदी नियन्त्रणका लागि जैविक तटबन्ध निर्माण गरिएको हो । संघद्वारा सञ्चालित ‘नेपालमा पूर्वानुमानमा आधारित पूर्वकार्यको सुदृढीकरण (सान)’ परियोजनाअन्तर्गत कञ्चनपुर र कैलाली जिल्लाका नदी तटीय क्षेत्रमा कटान तथा डुबान नियन्त्रणका लागि जैविक तटबन्ध निर्माण गरिएको परियोजनाका संयोजक देवराज बडूले जानकारी दिए ।

उनकाअनुसार कञ्चनपुरको पुनर्वास नगरपालिकामा ७ सय मिटर, लालझाडी गाउँपालिकामा ६ सय र कैलालीको भजनी नगरपालिकामा ७ सय मिटर जैविक तटबन्ध निर्माण गरिएको छ । पुनर्वासमा २९ लाख १३ हजार रूपैयाँ र लालझाडीमा ४४ लाख ७९ हजार रूपैयाँको लागतमा तटबन्ध निर्माण गरिएको बडूले बताए ।

उनले भने, ‘परियोजना, पालिका र जनश्रमदानमा तटबन्ध निमार्ण गर्ने थालिएको हो । स्थानीय स्रोतसाधनको प्रयोग र समुदायको सक्रिय श्रमदानका कारण यो तटबन्ध परम्परागत संरचनाभन्दा दिगो र वातावरणमैत्री छ ।’

जैविक तटबन्धले नदीको बहावलाई प्राकृतिक रूपमा व्यवस्थापन गर्ने भएकाले यसले दीर्घकालीन रूपमा भूक्षय रोक्न र तटीय क्षेत्रको जैविक विविधता संरक्षणमासमेत महत्वपूर्ण टेवा पुग्ने परियोजना संयोजक बडूले विश्वास व्यक्त गरे ।

रासस

ताजा समाचार

सम्बन्धित समाचार