१३ वर्षमा १३ हजार बढी वन डढेलो

५ चैत, काठमाडौँ।

१–७ चैतसम्म मुलुकभर वन डढेलो सप्ताह चलिरहेको छ । यही अवधिमा वन तथा भू–संरक्षण विभागले वन डढेलोसम्बन्धी एक प्रतिवेदन सार्वजनिक गरेको छ ।

सो प्रतिवेदनमा मुलुकमा पछिल्लो १३ वर्षको ‘स्याटेलाइट’ तथ्यांकअनुसार डढेलोको जोखिम बढिरहेको उल्लेख छ । विभागको तथ्यांकमा २०७० देखि २०८२ सालसम्म देशभर १३ हजार ६ सय २२ वटा वन डढेलो घटना अभिलेख भएका छन् । वन डढेलो गम्भीर वातावरणीय चुनौतीका रूपमा देखिएको छ ।

प्रतिवेदन अनुसार नेपालमा वन डढेलो मौसमी प्रकृतिको देखिन्छ । कूल घटनामध्ये करिब ८९ प्रतिशत वन डढेलो फागुनदेखि वैशाखसम्म भएका छन् । त्यस अवधिमा समयमा लामो सुख्खा, न्यून आद्र्रता, उच्च तापक्रम, हावाको तीव्रता, कृषि अवशेष जलाउने प्रचलन, वन क्षेत्रमा मानव गतिविधि वृद्धिका कारण वन डढेलोको जोखिम बढी हुने उल्लेख छ ।

वैशाख महिनामा कूल घटनाको करिब ५७.७ प्रतिशत वन डढेलो भएको जनाइएको छ । २०७३ साललाई सबैभन्दा गम्भीर वन डढेलो वर्षका रूपमा देखाइएको छ । २०७८ र २०८१ सालमा उल्लेख्य संख्यामा डढेलोका घटना अभिलेख गरिएका छन् ।

विभागको विश्लेषणात्मक प्रतिवेदनअनुसार १ वैशाख २०८२ देखि २९ फागुनसम्म देशभर कम्तीमा २ सय ८२ वटा डढेलोका घटना अभिलेख भएका छन् । प्रतिवेदनअनुसार गत वैशाख १ देखि फागुन २९ सम्म वन डढेलो देशका सातै प्रदेशमा फैलिएको भए पनि सुदूरपश्चिम प्रदेश सबैभन्दा बढी प्रभावित देखिएको छ ।

सो प्रदेशमा मुलुकको कूल घटनाको करिब १ तिहाइ अर्थात् ३३.३ प्रतिशत वन डढेलो गएको थियो । प्रदेशगत रूपमा वाग्मतीमा १९.१ र कर्णालीमा १६.७, गण्डकी प्रदेशमा ९.६, लुम्बिनी प्रदेशमा ८.९, कोशी प्रदेशमा ८.२ र मधेश प्रदेशमा ४.३ प्रतिशत वन डढेलोका घटना भएका छन् ।

सोही अवधिमा जिल्लागत रूपमा कञ्चनपुर सबैभन्दा बढी प्रभावित जिल्ला बनेको छ । त्यहाँ ४१ वटा डढेलो घटना अभिलेख भएका छन् । चितवनमा २७, कैलालीमा १९ र सुर्खेतमा १८ घटना देखिएका छन् ।

वन तथा भू–संरक्षण विभागका महानिर्देशक धीरेन्द्रकुमार प्रधानले डढेलोको बढ्दो जोखिमलाई प्रभावकारी रूपमा नियन्त्रण गर्न संघ, प्रदेश र स्थानीय तहका निकायहरू, सामुदायिक वन उपभोक्ता समूह, सुरक्षा निकाय, निजी क्षेत्र, सञ्चारमाध्यम तथा स्थानीय समुदायबीच समन्वय अनिवार्य रहेको बताए ।

‘वन डढेलो व्यवस्थापन कुनै एक निकायको मात्र जिम्मेवारी होइन, यो सम्पूर्ण समाजको साझा दायित्व हो,’ उनले भने । प्रधानले डढेलो रोकथाम, शीघ्र सूचना आदानप्रदान, समयमै नियन्त्रण तथा जनचेतना अभिवृद्धिमा सबै पक्षको सक्रिय सहभागिता आवश्यक रहेकामा जोड दिए ।

जैविक विविधतामाथि खतरा

मुलुकका विभिन्न संरक्षित क्षेत्रमा पछिल्लो समय डढेलोका घटना बढ्दै गएको छ । विभागको प्रतिवेदन अनुसार गत वैशाख १ देखि फागुन २९ सम्म संरक्षित क्षेत्रमा कूल ८२ वटा डढेलोका घटना दर्ता भएका छन् । सबैभन्दा धेरै डढेलोका घटना चितवन राष्ट्रिय निकुञ्जमा देखिएको छ ।

त्यहाँ मात्र २७ वटा डढेलोका घटना भएको उल्लेख छ । त्यसपछि शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा २४ र कोशी टप्पु वन्यजन्तु आरक्षमा १२ डढेलोका घटना दर्ता भएका छन् । यसैगरी बर्दिया राष्ट्रिय निकुञ्जमा ६, अन्नपूर्ण संरक्षण क्षेत्रमा ५, बाँके राष्ट्रिय निकुञ्जमा ३, मनास्लु संरक्षण क्षेत्रमा ३ र ढोरपाटन सिकार आरक्षमा २ वटा डढेलोका घटना भएका थिए ।

संरक्षित क्षेत्रमा डढेलो पुग्नु जैविक विविधता संरक्षणका दृष्टिले गम्भीर मानिन्छ । वन्यजन्तुको बासस्थान, वनस्पति तथा समग्र पारिस्थितिक प्रणालीमा यसको प्रत्यक्ष असरपर्ने गर्छ ।

विश्व वन्यजन्तु कोषका नेपाल प्रतिनिधि डा. घनश्याम गुरूङले पछिल्लो समय संरक्षित क्षेत्र आसपासका वन क्षेत्रमा देखिएका डढेलोका घटनाले वन्यजन्तु र प्राकृतिक स्रोतसाधनमा गम्भीर असर पार्न सक्ने बताए । उनले यसलाई समयमै नियन्त्रण गर्न आवश्यक रहेकामा जोड दिए ।

‘वनमा आगलागी हुँदा मानवीय क्षति कम गर्ने उपायलाई प्राथमिकतामा राख्नुपर्छ । साथै डढेलो नियन्त्रणका लागि व्यापक जनचेतना अभिवृद्धि गर्नुपर्ने, वन क्षेत्रमा ‘फायर लाइन’ विस्तार गर्नुपर्ने र स्थानीयस्तरमा तालिम तथा तयारी बढाउनुपर्ने आवश्यकता छ,’ गुरूङले भने, ‘पानीका स्रोतहरूको संरक्षण, आगलागी नियन्त्रणका लागि आवश्यक साधनस्रोतको व्यवस्था तथा प्रभावकारी प्रचारप्रसारमार्फत समुदायलाई सचेत बनाउनु अत्यन्त महत्वपूर्ण छ ।’

संरक्षित क्षेत्रमा डढेलो पुग्नुले वन्यजन्तुको बासस्थान, जैविक विविधता र पारिस्थितिक प्रणालीमा दीर्घकालीन असर पार्न सक्ने भएकाले सरोकारवाला निकायले समयमै समन्वय र प्रभावकारी व्यवस्थापन गर्नुपर्ने उनको भनाइ छ ।

विभागको तथ्यांक अनुसार यस वर्ष पुसमा ३६, माघमा ३५ र फागुनमा ५० डढेलोका घटना अभिलेख भएका छन् । वन डढेलोका करिब ९० प्रतिशतभन्दा बढी घटना वैशाख, पुस, माघ र फागुन महिनामा केन्द्रित रहेको प्रतिवेदनले देखाएको छ ।

तराई–चुरे र मध्यपहाडी क्षेत्र उच्च जोखिममा

स्थानगत विश्लेषणले तराई–चुरे क्षेत्र तथा मध्यपहाडी वन क्षेत्र वन डढेलोको दृष्टिले सबैभन्दा संवेदनशील देखाएको छ । विशेष गरी सुदूरपश्चिमको तराई–चुरे क्षेत्र, चितवन–मकवानपुर वन क्षेत्र, सुर्खेत आसपासका वन क्षेत्र तथा बर्दिया–बाँके तराई क्षेत्रमा डढेलो बढी केन्द्रित भएको पाइएको छ ।

राष्ट्रपति चुरे तराई–मधेश संरक्षण विकास समितिका सदस्य कमला ओली सिवाकोटीले चुरे क्षेत्रमा सञ्चित सुख्खा इन्धन पदार्थ, लामो सुख्खा अवधि, न्यून आद्र्रता र मानव गतिविधिको वृद्धि वन डढेलो बढ्नुका प्रमुख कारण भएको बताइन् ।

उनले भनिन्, ‘हामी सरोकारवालासँग र सम्बन्धित इकाइहरूसँग समन्वय गर्दै प्रशिक्षण कार्यक्रम सञ्चालन गरिरहेका छौँ, ताकि समुदायस्तरमै डढेलो रोकथामका उपायहरू बुझ्न र लागू गर्न सकुँ ।’ तर, चुरेमा प्रभावकारी डढेलो नियन्त्रण कार्यक्रम सञ्चालनका लागि पर्याप्त बजेट नहुनु मुख्य चुनौती रहेको उनले औँल्याइन् ।

पूर्वतयारी र समुदायको भूमिका

नेपालमा अधिकांश वन क्षेत्र सामुदायिक व्यवस्थापन अन्तर्गत रहेकाले वन डढेलो नियन्त्रणमा स्थानीय समुदाय र वन उपभोक्ता समूहको भूमिका महत्वपूर्ण मानिएको छ । सामुदायिक वन उपभोक्ता महासंघ (फेकोफन) का अध्यक्ष ठाकुरप्रसाद भण्डारीले डढेलो नियन्त्रणका लागि पूर्वतयारी र व्यापक सचेतना आवश्यक रहेको बताए ।

उनका अनुसार वन क्षेत्रमा इन्धन व्यवस्थापन, प्रारम्भिक चेतावनी प्रणालीको विकास तथा समुदायको सक्रिय सहभागिता बिना डढेलो नियन्त्रण प्रभावकारी हुन सक्दैन । गर्मी मौसम सुरू भएसँगै सम्भावित डढेलोको जोखिमलाई ध्यानमा राख्दै समुदायस्तरमा पूर्वतयारी र सूचना प्रवाहका अभियान सञ्चालन गरिएको उनले जानकारी दिए । ‘डढेलो लाग्न सक्छ भन्ने पूर्वसूचना र खबरदारीका लागि अभियान चलाइएको छ,’ भण्डारीले भने ।

आगलागी नियन्त्रणका क्रममा जोखिमपूर्ण दुर्घटना हुन सक्ने, आगो नियन्त्रणबारे पर्याप्त जनचेतना अभाव रहेको र आवश्यक उपकरणको कमी प्रमुख समस्या रहेको उनले औँल्याए ।

नेपाल वन प्राविधिक संघ (एनएफए) का अध्यक्ष राकेश कर्णले वन डढेलो नियन्त्रणका लागि प्रभावकारी वन व्यवस्थापन अपरिहार्य रहेको बताए । उनका अनुसार जहाँ वन व्यवस्थापन गरिएको छ त्यहाँ डढेलोका घटना न्यून देखिएका छन् । तर व्यवस्थापन नभएका क्षेत्रमा समस्या जटिल बन्दै गएको छ ।

‘वन व्यवस्थापन भएको ठाउँमा डढेलो कम हुन्छ, संरक्षण पनि राम्रो हुन्छ, र स्थानीयस्तरमा रोजगारी तथा आम्दानीका अवसर पनि बढ्छन्,’ उनले भने, ‘तर, वन व्यवस्थापन अझै पनि राज्यको प्राथमिकतामा पर्न सकेको छैन ।’

प्रगति ढकाल/रासस

ताजा समाचार

सम्बन्धित समाचार