नवीन लामिछाने
२६ माघ, मनाङ।
मनाङका खर्कहरूमा यतिबेला मुस्किलले चौँरी देखिन्छन् । मनाङ ङिस्याङ गाउँपालिका–५ आइसलेक खर्कमा ढुंगा माटो धेरै र हरिया घाँस कम देखिन थालेका छन् । जाडो मौसममा किसानले आफ्नो घरवरपर पाइने आहारा खोजेर याक–चौँरीलाई खुवाउने गर्छन् ।
विगत १० वर्षदेखि याक–चौँरी पालन गर्दै आएका नासोँ गाउँपालिका–४ ओडार गाउँका याक चौँरी पालक सुरेश थकाली समय हिँउ नपर्ने र खडेरी पनि लामो समय भइराख्ने हुनाले मनाङमा पानीका मुहान सुक्दै गएका बताउँछन् । उनी भन्छन्, ‘पहिले–पहिले जताततै खर्कमा घाँस प्रशस्त पाइन्थ्यो । अहिले चरन क्षेत्र र पानीको मुहान सुक्दै जाँदा याक–चौँरी पालनमा समस्या बढ्दै गएको छ ।’
थकालीसँग अहिले ७० वटा याक–चौँरी छन् । घाँसको अभावमा थकाली बजारबाट नाइट्रोजन दाना खरिद गरेर याक–चौँरीलाई खुवाउने गर्छन् । ‘करिब १० वर्षको अन्तरालमा कुनै वर्ष बढी पानी र हिउँ परेको छ । कुनै वर्ष न पानी न हिउँ पर्छ’, उनी भन्छन्, ‘सन् २०२० मा भएको अत्यधिक हिमपातले जनजीवन मात्रै नभइ याक–चौँरीलाई आहार पु-याउन समस्या भयो ।’
अत्यधिक चिसो र हरियो घाँसपात र अन्य पौष्टिक आहारको कमीले मनाङमा सयौँ किसानका गोठ खाली भएका अनुभव थकाली सुनाउँछन् । मनाङको नाम्के खर्क, क्याङ, माथिल्लो मनाङ, आइसलेक क्षेत्रमा अनावृष्टि, अतिवृष्टि हुँदा पशुपालनमा मात्रै नभइ भू–क्षय जस्ता विपदबाट स्थानीयलाई चौँरी पालनमा थप समस्या भएको छ ।
वर्षा र हिमपात हुने समय फेरिएकाले किसानमा चौँरी पालन गर्ने आत्मविश्वास घट्दै थएको थकाली बताउँछन् । हिमपहिरो जानु, हिमताल सक्नु, याक–चौँरीका खर्क (घाँसे मैदान) बगरमा परिणत हुँदै गएका मनाङका स्थानीय बताउँछन् । पानीको अभावले घाँसे मैदान बगरमा परिणत भएपछि याक–चौँरीलाई आहार पु-याउन चुनौतीपूर्ण भएको उनीहरूको भनाइ छ ।
नासोँ गाउँपालिका–४ ओडारका चौँरी पालक खरमान गुरूङ भन्छन्, ‘विगतमा हिउँपर्ने समय एउटै हुन्थ्यो । अहिले कुन बेला हिँउ पर्छ भन्ने थाहा हुँदैन ।’ पहिले–पहिले हिमपात हुने समयमा बढी चिसो भएपछि गोठ सार्ने गरिन्थ्यो । तर अहिले हिउँ पर्ने समयको ठेगान नहुँदा पशु चौपायाको आहार व्यवस्थापन गर्न सकस हुने गुरूङ बताउँछन् । ५ वर्षअघिको हिमपातमा गुरूङका ६३ वटा याक–चौँरी मरेका थिए ।
त्यसपछि थप चौँरी पाल्नलाई आफूलाई आँट नआएको उनी बताउँछन् । ‘पानी र खडेरीको विपदले हामी किसान हतोत्साहित भएका छौँ । कहिले हिमपातले त कहिले गर्मीले याक-चौँरी मर्छन्’, गुरूङ भन्छन् । राष्ट्रिय कृषि जनगणना २०७८ अनुसार नेपालका हिमाली क्षेत्रमा बसोबास गर्ने १० हजार परिवारको जीविकोपार्जनको प्रमुख स्रोत याक–चौँरी पालन हो ।
पछिल्ला वर्षमा बढ्दो खडेरीका कारण पानीका मुहान सुक्ने र नयाँ घाँसपात पलाउन नसक्ने समस्या देखिएपछि चौँरीपालन व्यवसाय कष्टकर बन्दै गइरहेको छ । याकमा आधारित उनीहरूको सांस्कृतिक पहिचान र सामाजिक जीवनशैलीमा समेत गहिरो संकट सिर्जना गरेको छ । चौँरी हिमाली समुदायका लागि जीविकोपार्जनसँगै धार्मिक आस्था, संस्कार सांस्कृतिक पहिचानसँग गहिरो रूपमा जोडिएको आधारशीला हो ।

तर, याक–चौँरी पालन घट्दै जाँदा घ्यू, दही र छुर्पीजस्ता परम्परागत वस्तुसँगै खर्क संस्कृति, चाडपर्व र दैनिक जीवनशैली नै संकटमा पर्दै गएको नारका ८४ वर्षीय साङ्मा टासी लामा बताउँछन् ।
कृषि तथा पशुपक्षी विकास मन्त्रालयका अनुसार नेपालमा हाल ७१ हजार ९ सय १३ हजार याक, नाक, चौँरी छन् । सन् १९६० को दशकमा यसको संख्या करिब २ लाख थियो । तथ्यांकअनुसार याकको संख्या पछिल्ला ३ वर्षमा १५ प्रतिशतले वृद्धि भएको छ ।
मन्त्रालयका अनुसार ६० प्रतिशत चौँरीहरू खर्क क्षेत्रमा पालिन्छन् । एउटा खर्कमा सामान्यतः १५ देखि ५० चौँरीसम्म पालिएको पाइन्छ । खर्कमा नै दूध, घ्यू, छुर्पी, पनिर उत्पादन गरिन्छ ।
जलवायुको प्रभाव
विश्वभर जलवायु परिवर्तन बढ्दै जाँदा तुलनात्मक रूपमा असर त्यसको असर नेपालका हिमाली क्षेत्रमा परिरहेको छ । हिमाली क्षेत्रको खेतीपातीका साथै पशुपालनमा पनि समस्या पर्दै गएको जल तथा मौसम विज्ञान विभागका मौसमविद् रोहन लामिछानेले जानकारी दिए । ‘पछिल्लो समय विशेष गरेर हिमाली क्षेत्रमा अझ बढी प्रभाव परेको देखिएको छ’, उनी भन्छन्, ‘प्रत्येक वर्ष तापक्रम बढ्दै जाँदा आवश्यकताभन्दा बढी पानी तथा हिमपात हुने मौसमी प्रणाली देखिन्थ्यो तर अहिले त्यस्तो मौसमी प्रणाली देखिएको छैन ।’
हिमाली क्षेत्रमा तापक्रम वृद्धिले यस क्षेत्रका कृषि, पशुपालनलगायतमा प्रभावित बनाएको बताउँदै उनी भन्छन्, ‘जति तापक्रम बढ्दै जान्छ, त्यति नै पशुपालन, कृषि क्षेत्रमा असर गर्दै जान्छ । तापक्रम वृद्धिले नै बाढी, पहिरोलगायतका विपद् आउने हुन्छ ।’ सुख्खापनले कृषि, पशुपालनमा प्रभाव देखिएको लामिछाने बताउँछन् । विगतमा एउटै समयमा हिमपात तथा पानी पर्ने अभिलेख छन् ।
सन् २०२१ मा थोरै समयमा धेरै वर्षा भएको र हिमाली क्षेत्रका बस्ती, चरन क्षेत्र, खेतीयोग्य जमिनमा क्षति पुगेको थियो । सन् २०२० मा भारी हिमपात, सन् २०२५ मा अकस्मात हिमपात र वर्षाले प्रभाव पारेको छ । हिमाली क्षेत्रमा छिटोछिटो मौसम परिवर्तन हुँदा बालीनालीको अवस्था फरिने देखिएको लामिछानेको भनाइ छ । हिमाली क्षेत्रमा उत्पादन वा बिरूवा नै हुर्कनै नसक्ने ठाउँमा अहिले उत्पादन भएको देखिनु, हिउँसँग सम्बन्धित भएर हुने पशुपालन, याक–चौँरी पालन तापक्रम वृद्धि हुँदै जाँदा लोप हुने अवस्थामा पुग्न सक्ने उनको अनुमान छ ।
मौसमविद् लामिछाने भन्छन्, ‘तापक्रम वृद्धि हुँदै जाँदा कुन–कुन व्यवसाय तथा गाई/भैँसी पालनको विकास गर्न सकिन्छ जलवायु परिवर्तनमैत्री बनाउन सकिन्छ भनेर अध्ययन गरेर लाग्नुपर्छ ।’ कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्रालय गण्डकी प्रदेशका वरिष्ठ पशु विकास अधिकृत शोभा शर्माले याकको संख्या घट्दै जानुमा जलवायु परिवर्तनको प्रभाव र वैकल्पिक रोजगारीप्रति युवाको आकर्षण भएको बताउँछिन् ।
नासोँ गाउँपालिका–८ ताचैका पशु पालक याद घले घाँसको अभावमा याक–चौँरी, भेडा–च्याङ्ग्राले माटो चाटेर बाँच्ने गरेको अनुभव सुनाउँछन् । ‘हिउँ परे पो यहाँको पालुवा पलाउँछ र पशु चौपायलाई घाँस हुन्छ’, उनी भन्छन्, ‘एउटै गोठमा २ सयभन्दा माथि याक–चौँरी र भेडा-च्याङ्ग्रा पालिन्छन् । आफैँले घाँस, दाना खरिद गरेर पाल्न सक्ने अवस्था छैन । करिब पुसदेखि फागुन, चैतसम्म याक–चौँरी र भेडा–च्याङ्ग्रालाई घाँसको समस्या हुन्छ ।’
जौ, करू, उवा, गहुँ, कोलो बोडी, फापरको डाँठ गाई–गोरू, याक–चौँरीलाई भए पनि भेडा–च्याङ्ग्रालाई घाँस पु-याउन नसकिने उनको भनाइ छ । उच्च हिमाली क्षेत्रमा तापक्रम १ दशमलव ५२ डिग्री सेल्सियसले बढेको अध्ययनले देखाएको हिमजलाधार विज्ञ रिजनभक्त कायस्थ बताउँछन् । यसको प्रत्यक्ष प्रभाव खर्क र जलस्रोतमा परेको देखिने बताउँदै उनी भन्छन्, ‘तापक्रम वृद्धिकै कारण हिउँ पग्लिदै गएका छन्, पानीका स्रोत सुक्ने क्रम बढ्दो छ । जसले खर्कका साथै पशुपक्षी तथा मानवलाईसमेत प्रभाव परिरहेको छ ।’
कायस्थ भन्छन्, ‘सिँचाइको अभावले चरन भूमि सुख्खा बन्दै गएका छन् । पहिले हराभरा देखिने चौँरी खर्क अधिक स्थानमा चिरा परेका छन् । कतिपय स्थानमा पानीको अभाव, पहिरोका कारण माटो कटानजस्ता कारणले चरनयोग्य भूमि घटेका छन् ।’ चरन भूमिको अभावले यहाँका किसानले याक–चौँरी पालन कम गर्दै गएका हुनसक्ने उनको ठहर छ ।
हिमाली क्षेत्रमा सुख्खापन बढ्दै गएपछि याक–चौँरीलाई हुने पौष्टिक घाँसपात र औषधीय जडीबुटी हराउँदै गएका छन् । हिमाली क्षेत्रमा नै हिउँ कम पर्दा हिमरेखा पनि माथि सर्दै गएको छ । कात्तिक अन्तिम सातादेखि मंसिरको पहिलो साताभित्र चिसोका कारण खर्कबाट याक–चौँरीलाई तल्लो खर्क (घर नजिक) सार्ने प्रचलन छ ।

घाँसे मैदान प्रशस्त हुँदा याक–चौँरीको मलमूत्रले अझ मौलाएर हरित वृद्धिमा टेवा पु-याउँदै आएकामा अहिले मुख्यतः पानीको मुहान पनि सुक्दा घाँसे मैदान नै मासिँदै गएका छन् । राष्ट्रिय पशुपक्षी स्रोत व्यवस्थापन तथा प्रवद्र्धन कार्यलयका वरिष्ठ पशु विकास अधिकृत आभास पौडेल हिमाली जिल्लामा तापक्रम वृद्धिका कारण याकमा किर्ना, झिंगा बस्ने समस्या बढ्दै गएकाले याक मर्ने थालेको स्थानीयले गुनासो गर्ने गरेको बताउँछन् ।
वन्यजन्तु संरक्षण र पारिस्थितिकीय प्रणालीमा विद्यावारिधि गरेका श्यामकुमार थापाका अनुसार पछिल्लो समय जलवायु परिवर्तनका कारण चिसो मौसममा हिमालमा हिउँ नपर्ने र गर्मीमा खर्कमा पानी अभाव भएर हिमाली भेगका वनस्पती र बुट्यान मर्दै जाने समस्या देखिन थालेको छ । हिमाली क्षेत्रमा चरिचन घट्दै गएपछि त्यस क्षेत्रका स्थानीयले चौँरीपालनको वैकल्पिक व्यवसाय खोज्न थालेका छन् ।
जलवायु परिवर्तनविज्ञ उत्तमबाबु श्रेष्ठका अनुसार जहाँ खर्कहरू छन् त्यहाँ तापक्रम वृद्धिद्धर सरदरभन्दा बढी देखिएको छ । कर्णाली क्षेत्रका हिमाली जिल्लामा लामो समयसम्म खडेरी देखिएकाले घाँस सुक्ने, घाँसको गुणस्तर र मात्रा कम हुने समस्या देखिने उनको भनाइ छ ।
बजारको समस्या
हिमाली क्षेत्रमा प्रतिचौँरी वार्षिक औसत ३ सय लिटर दूध उत्पादन हुने कृषि तथा पशुपक्षी विभागले जानकारी दिएको छ । विभागका अनुसार वार्षिक करिब ४ हजार मेट्रिक टन घ्यू, आठ हजार मेट्रिकटन छुर्पी र पनिर ३ हजार मेट्रिकटन चौँरीको दूधबाट उत्पादन हुँदै आएको छ । एक मध्यम खालको खर्कले प्रतिवर्ष औसतमा ५ देखि १० लाख रूपैयाँसम्म आम्दानी गर्नसक्ने अनुमान गरिएको छ ।
छुर्पी, घ्यू, चौँरीको रौँ र मल बिक्रीबाट हुने आम्दानीले हिमाली गाउँमा आर्थिकस्तर वृद्धि सम्भव बनाएको छ । तर याक–चौँरी पालन कम हुँदै गएपछि उत्पादनमा पनि कमी आएको स्थानीय बताउँछन् । विशेषगरी मनाङका पशुपालक किसान प्रत्यक्ष लाभान्वित हुने गरी बजारको व्यवस्थापन नहुँदा पलायन हुने अवस्था सिर्जना भएको छ ।
नेपाल याक–चौँरी किसान महासंघका केन्द्रीय अध्यक्ष पविहाङ राईका अनुसार बजार अभाव र मूल्य अस्थिरताले किसान निरूत्साहित भएका छन् । आयातित घ्यू, मासुले स्थानीय उत्पादन प्रतिस्पर्धी हुन नसकेको उनी बताउँछन् । आयातित भन्दा स्थानीय उत्पादनलाई प्राथमिकता दिन सके याक–चौँरी पालक किसानलाई प्रोत्साहन मिल्ने राईको भनाइ छ ।
चौँरी खर्कहरू समुद्री सतहबाट ३ हजार मिटरदेखि ५ हजार ५ सय मिटर उचाइसम्म पाइन्छन् । मनाङ, मुस्ताङ, म्याग्दी, बागलुङ, गोर्खा, धादिङ, दोलखा, रसुवा, सिन्धुपाल्चोक, रामेछाप, मुगु, डोल्पा, जुम्ला, हुम्ला, रूकुम पूर्व, कालीकोट, बाजुरा, बझाङ, दार्चुला, सोलुखुम्बु, संखुवासभा, ताप्लेजुङलगायत ३१ जिल्लामा व्यवसायिक चौँरीपालक किसान छन् ।
कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्रालयका वरिष्ठ पशु विकास अधिकृत शोभा शर्माकाअनुसार नेपालभर हाल करिब ३५ हजार खर्क छन् । तीमध्ये झन्डै १० हजार खर्क सक्रिय चौँरी पालनमा छन् । मलेसियन एनिमल हस्बन्डरी जोर्नल (एमएएचजे)ले गरेको अनुसन्धानले सन् २०१७ सम्म याक, नाक चौंरीपालन वृद्धि भएको थियो भने त्यसपछिका वर्षहरूमा विस्तारै घट्दै गएका छन् ।
मनाङमा मात्र करिब १ हजार १ सय ५० खर्क सक्रिय छन् । यस्तै मुस्ताङमा ८ सय ५०, डोल्पामा १ हजार ३ सय र सोलुखुम्बुमा करिब ७ सय ५० खर्क सक्रिय छन् । डोल्पा, मुस्ताङ, मनाङ लगायतका ठाउँमा व्यापक चरन क्षेत्र र चौँरी पालन परम्परागत जीवनशैलीसँग गासिएको हुँदा खर्क बढी छन् । दोलखा, ताप्लेजुङलगायतका जिल्लामा खेतीयोग्य जमिन बढी भएकाले चौँरी पाल्ने खर्कको घनत्व कम छ ।
वैदेशिक रोजगारी, सहरीकरण, जलवायु परिवर्तन र नयाँ पुस्ताको विकर्षणले याक–चौँरी पालन घट्दै गएको छ । सिँचाइको अभावले अधिकांश खर्क संकटमा पर्दै गएको छ । खर्कका नजिकैका ताल–तलैयामा पानीका स्रोत हराउने क्रममा छन् । देशभरका युवा वैदेशिक रोजगारी मोहले पलायन हुने क्रम बढेसँगै यहाँका खेतीयोग्य जमिन बाँझिनुका साथै खेतीपाती र पशुपालन चुनौतीपूर्ण बन्दै गएको छ ।
नार्पाभूमि गाउँपालिका–३ नार गाउँका पशुपालक मिङ्मार छिरिङ लामा भन्छन्, ‘वैदेशिक रोजगारी, विकट क्षेत्रका कारण गोठाला नपाइने मुख्य समस्याले पशुपालन घट्दै गएको छ ।’ उनका अनुसार नार्पा भूमिमा हरेक वर्ष ४/५ परिवारले पशुपालन छाड्दै गएका छन् । केही अन्यत्र पलायन भएका छन् भने केहीले व्यवसाय फेर्ने गरेका लामा बताउँछन् ।
संरक्षणका प्रयास
गण्डकी प्रदेशले लोपोन्मुख याक–चौँरी याक आनुवंशिक स्रोत केन्द्र स्याङबोचे (सोलुखुम्बु) बाट याक वितरण कार्यको पनि सुरूवात गरेको छ । याकलाई लोप हुन नदिन केन्द्रले हाडनाताबाट देखिने समस्या समाधान गर्ने उद्देश्यले २०७९ सालदेखि मनाङमा याक–चौँरीको नश्ल सुधार कार्यक्रम सुरू गरेको छ ।
शुद्ध नश्लमार्फत याक उत्पादन प्रक्रियाको लागि गाँउमै ब्याड याक वितरण हुँदै आएको केन्द्रका सूचना अधिकारी रामललन यादवले बताए । याक–चौँरी पालक व्यवसायी महासंघ गण्डकी प्रदेशका अध्यक्ष सुरेश थकालीका अनुसार सामूहिक याक–चौँरी पालन गर्ने मनाङका किसानलाई नौ र मुस्ताङमा १० वटा ब्याड याक वितरण गरिएको थियो ।
चिसो बढेसँगै ३ हजारदेखि ५ हजार मिटर उचाईका लेकको खर्कमा पु-याइएका याक–चौँरी १ हजार ७ सय मिटर उचाइका बेँसीतर्फ झारिएको छ । हिउँपर्ने वा चिसो बढ्दै जाँदा यहाँका याक–चौँरीलाई घाँस तथा आहारको अभाव हुने गर्दछ । चिसोले यहाँका घाँस सुकेर याक–चौँरीको आहार (सोइ) को अभाव हुने हुँदा आफैँले घाँस संकलन गरेर खुवाउनुुपर्ने किसान बताउँछन् ।
यहाँका पशुपालक किसानले घाँसको अभाव पूरा गर्न जैविक रूपमा दाना (सोइ) बनाएर खुवाउने गरेका छन् । यहाँका किसानले गर्दै आएका खेतीपाती (गहुँ, करू, कोलो बोडी, फापर) लगायत रैथाने बालीका सुकेका डाँठ, दाना, पिठोको मिश्रण बनाइ खुवाउने गरिएको याक–चौंरी पालक किसान महासंघ गण्डकी प्रदेशका अध्यक्ष सुरेश थकाली बताउँछन् ।
घाँस नपुगेर हुनसक्ने याक–चौँरीको दुर्बलतालाई यस प्रकारको दानाले पौष्टिक तथा भिटामिनसमेत पूर्ति गर्ने गरेको किसान बताउँछन् ।
हिमाली भेगमा तालतलैया र मुहान सुक्दै गएपछि वैकल्पिक उपायका रूपमा ‘रिचार्ज पोखरी’ निर्माण गर्न थालेका छन् । वडा नं ६ स्थित पोंकर ताल परिसरमा रिचार्ज पोखरी निर्माण गरिएको नासोँ गाउँपालिकाका अध्यक्ष धनबहादुर गुरूङले जानकारी दिए । उनले भने, ‘मनाङका ताल–तलैया, प्राकृतिक पानीका मुहान अहिले सुक्दै गएका छन् । यसको संरक्षणका लागि हामीले रिचार्ज पोखरी निर्माण गर्ने निर्णय गरेका हौँ ।’
३ वटा रिचार्ज पोखरी निर्माण गरिएको छ । भिमथाङ र तिल्चेमा रिचार्ज पोखरी निर्माण भइरहेका छन् । पोखरीबाट याकलाई पानी खुवाउने व्यवस्था गरिएको गाउँपालिकाका अध्यक्ष गुरूङले बताए । भिमथाङमा ५० लिटरको रिचार्ज पोखरी बनाइएको छ । जलवायु परिवर्तनले पारेको असर र यसको न्यूनीकरणका लागि समुद्री सतहदेखि ४ हजार मिटर उचाईमा रिचार्ज पोखरी निर्माण गरिएको छ ।
गत १० पुसमा राससमार्फत विभिन्न सञ्चार माध्यममा प्रकाशित । यो रिपोर्ट इन्टरन्यूज अर्थ जर्नालिज्म नेटवर्क र नेपाल वातावरण पत्रकार समूहको सहयोगमा तयार गरिएको हो ।





