१३ वैशाख, काठमाडौँ।
नेपाल वातावरण समाजले डा. विनोद बानियाँको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको छ ।
कार्यसमितिको उपाध्यक्षमा क्रमशः सुशील खनाल, योगेश राना मगर र मानस वस्ती चयन भएका छन् । महासचिवमा समीर थापा, सचिवमा डा. जयराम कार्की कोषाध्यक्षमा सुदीपा गौतम चयन भएका छन् ।
त्यसैगरी सदस्यहरूमा डा. अमृतप्रसाद शर्मा, डा. कमलराज गोसाई, राजन घिमिरे उपेन्द्र कुइँकेल लगायत छन् । नव–निर्वाचित अध्यक्ष बानियाँ त्रिभुवन विश्वविद्यालयका उप–प्राध्यापक हुन् । उनी लामो समयदेखि वातावरण संरक्षणमा अभियानमा सक्रिय छन् ।
बानियाँ नेतृत्वका कार्यसमिति पाँचौ हो । समाज नेपालका वातावरण पेशाकर्मीहरूको साझा संस्था हो । आगामी ३ वर्षका लागि नयाँ कार्यसमिति चयन भएको हो ।
समाजका सदस्य एवं वातावरणविद् नवराज पोखरेलका अनुसार वातावरण क्षेत्रमा जोडिएका पेशाकर्मीहरूको सुरक्षा र हकहितका लागि संस्थाले आवाज उठाउँदै आएको छ ।
उनले भने, ‘हामी समग्र वातावरणका विषयलाई सम्बोधन गर्न वातावरण काउन्सिलको स्थापना हुनुपर्ने कुरामा जोड दिँदै आएका छौँ । काउन्सिल स्थापना भयो भने वातावरणका मुद्दा र प्राथमिकता मूल प्रवाहीकरण हुन्छन् भन्ने हाम्रो ठहर छ ।’





