१८ पुस, काठमाडौँ।
नेपालमा सरकारी निकायबाट कीराको संख्या कति छ भनेर खोजी गरिएको छैन । सरकारी र गैरसरकारी निकायसँग कीराको औपचारिक तथ्यांक नभए पनि कीरासम्बन्धी खोजीका क्रममा एक दशकमा नेपालबाट २५ प्रतिशत कीरा हराएका छन् ।
कृषि क्षेत्रका अनुसन्धानकर्ता आरपी लामिछानेले संसारमा ४० प्रतिशत कीराको संख्या नाटकीय रूपमा घटिरहेको जानकारी दिए । नेपालमा पनि २५ प्रतिशतले कीराको संख्यामा कमी आएको उनले उल्लेख गरे । लामो समयदेखि युरोप र अमेरिकामा कीरा कसरी लोप भइरहेका छन् भन्नेबारे अध्ययन भए पनि अफ्रिका, दक्षिण अमेरिका र एसियाका धेरै क्षेत्रमा भने यसबारेमा कमै अध्ययन भएको छ ।
नेपालमा पनि कीरा लोप भएकाबारेमा सरकारीस्तरबाट धेरै खोज हुन सकेको छैन । तर त्यसको असर भने किसानलाई पर्न थालेको लामिछाने बताउँछन् । अनावश्यक रूपमा बालिने कृत्रिम प्रकाशले कीरा फट्याङ्ग्राको जीवनचक्रमै असर पार्न थालेको छ । त्यसको प्रत्यक्ष असर कृषि उत्पादनमा देखिन थालेको यो क्षेत्रका विज्ञहरूले उल्लेख गरेका छन् ।
शरीरमा हुने रसायनिक प्रतिक्रियाले जुनकिरीले शरीरमा बत्ती बाल्छ । यसैको सहयोगमा जुनकिरीले आफ्ना जोडीलाई आकर्षित पनि गर्छ । सिमसिमे जमिन र बुट्यान क्षेत्रको प्राकृतिक प्रकाश भएको समय र अरू रातको समयमा आफ्नो शरीरबाट आउने उज्यालोमा जुनकिरीले समागम गर्दछन् ।
कृत्रिम प्रकाशले जुनकिरीले दिनरात छुट्याउन नसक्दा उनीहरूको संख्या निरन्तर कमी भएको विज्ञहरूले उल्लेख गरेका छन् । आकर्षक देखाउन र आफ्नो सुरक्षाका लागि मानिसले रुखमा बत्ती बाल्ने, रातभर उज्यालो बनाउने बानीले साना जनावर र कीरा फट्याङ्ग्रालाई असर पारेको लामो समयदेखि कृषि र माटोको अध्ययनमा रहेका कृषि प्रचार अधिकृत कृष्ण धिताल बताउँछन् ।
‘हामी राम्रो देखाउन रूखमा झलमल्ल बत्ती बालिरहेका हुन्छौँ । गाडीमा अनावश्यक फोकस लाइट हालेर सडकसँगै वरिपरिको वातावरणलाई नै उज्यालो पारिरहेका छौँ । तर त्यसको प्रत्यक्ष सम्बन्ध रातमा टिमटिम बालेर उड्ने जुनकिरीको जीवनसँग सम्बन्धित हुने कुरा बिर्सिरहेका छौँ’, उनी भन्छन् ।
साँझबिहान जुनकिरीको उज्यालो नहुँदा किसानलाई समस्या पारिरहेको छ । यो सुन्दा अचम्म लाग्छ तर पर्यावरणीय चक्र अनुसार जुनकिरीको संख्या घट्दै जाँदा उसको मुख्य आहारा मानिने शंखेकीराको संख्या बढेर खाद्यान्न तथा तरकारीबालीमा क्षति हुन थालेको धितालले प्रस्ट पारे ।
त्यति ठूलो शंखेकीरा कसरी त्यति सानो जुनकिरीले खाने होला भनेर धेरैले सोचे पनि यो शंखेकीरा जुनकिरीको लार्भा अवस्था हो । जहाँ शंखेकीराको लार्भा नै जुनकिरीको लार्भाको मुख्य आहार हो । विज्ञहरूका अनुसार जुनकिरीको लार्भा अवस्थामा त्यसले शंखेकीरालाई खाने गर्दछ ।
लार्भा भनेको कीराको असाध्यै बढी खाने अवस्था हो । जुनकिरीको लार्भा निक्कै खन्चुवा हुन्छ, जसले शंखेकीराका हजारौँ लार्भालाई खाएर किसानलाई ठूलो गुन लगाइरहेका हुन्छन् । तर जुनकिरीको संख्यामा कमी आएपछि धेरै जिल्लामा शंखेकीराको प्रकोप नै देखिएको छ । प्राकृतिक आवासको नाश, कीटनाशक विषादीको बढ्दो प्रयोग र कृत्रिम प्रकाशले जुनकिरीको संख्यालाई कम गराउँदै छ ।
सिमसार र ओसिलो तथा झारपात भएको क्षेत्र जुनकिरीको प्राकृतिक बासस्थान हो । वरिष्ठ कीट विशेषज्ञसमेत रहेका मैनाली जुनकिरीको पिलपिले बत्तीको उज्यालो मात्र नभई त्योभन्दा धेरै कृषिमा उपयोगिता रहेको बताउँछन् । जुनकिरी मात्रै होइन, नेपालमा धेरै कीराको संख्या घटिरहेको छ । किसानको सबैभन्दा नजिकको साथी माहुरीको संख्यामा कमी आउँदा
त्यसले विभिन्न बालीको परागसेचनमा समस्या देखिएको छ । त्यसले कृषकको खाद्यान्न बाली मात्रै नभएर जंगलमा हुने कतिपय फल नै लोप हुने अवस्थामा पुगेको वैज्ञानिक मैनालीले जानकारी दिए । लामिछाने मानिसको जीवनसँग किराको ठुलो सम्बन्ध रहने भएकाले कीराको संरक्षणमा विश्व समुदाय नै एक हुन आवश्यक रहेको बताउँछन् । जनावर, चरा र माछाको करिब ६० प्रतिशत खाना कीरामै निर्भर हुने उनी बताउँछन् ।
कीरा नभए चरा, चमेरा, भ्यागुता र माछा पनि हराउने भएकाले त्यसमा विशेष ध्यान पु¥याउन ढिला गर्न नहुने उनले उल्लेख गरे । उनका अनुसार जमिनमा बस्ने जीवमध्ये सबैभन्दा ठूलो संख्या कीराले ओगटेको हुन्छ । कीराले मानिससहित अन्य विभिन्न प्रजातिलाई सहयोग गरिरहेका छन् । कीराले चरा र ससाना स्तनधारी प्राणीका लागि आहार प्रदान गर्छन् ।
त्यस्तै विश्वको करिब ७५ प्रतिशत बाली परागसेचन कीराकै माध्यमबाट हुने गर्दछ । ‘विश्वमा ४० प्रतिशत प्रजातिका कीरा नाटकीय दरमा घटिरहेका छन् । त्यसको प्रत्यक्ष असर नेपाललाई समेत परेको छ । किसानका लागि उपयोगी भएका मौरी, कमिला र गोब्रे कीराका प्रजाति घट्ने क्रममा रहेको तर साङ्लो र झिँगाको संख्यामा वृद्धि भएको छ’, लामो समयदेखि माटो तथा कृषिको क्षेत्रमा अध्ययनरत कृषि प्रसार अधिकृत कुलप्रसाद दवाडीले भने ।
खेतीमा भएको कीटनाशक रसायनको प्रयोग र जलवायु परिवर्तनका कारण सामान्य कीराहरूमा निरन्तर कमी आइरहेको उनले जानकारी दिए । त्यसका लागि जैविक खेती प्रणालीलाई अँगाल्नु आवश्यक छ । कीराले माटो भर्ने र कीट व्यवस्थापन गर्ने भएकाले तिनीहरूको संख्यामा कमी आउनु भनेको उत्पादनमै कमी आउनु रहेको दवाडीले उल्लेख गरे । कीरा फट्याङ्ग्राले नै विश्वको ७५ प्रतिशत उब्जनीमा सघाउने उनले दाबी गरे ।
कृषि क्षेत्रमा भएका अभ्यास, सहरीकरण र वन जंगलको विनाशका कारण कीराको बसोबास गर्ने ठाउँ गुम्दै जानु नै हाल सिर्जना भएको अवस्थाको मुख्य कारण रहेको दवाडी बताउँछन् । विश्वमा नै उड्ने जातका कीराको संख्यामा अरू कीराको तुलनामा धेरै कमी आएको उनको भनाइ छ । चरा, स्तनधारी प्राणी र माछा जस्ता जीवका लागि कीरा मुख्य आहार भएकाले त्यस्ता जनावरको समेत अस्तित्व सकिने खतरा रहेको उनले बताए ।
गोरखापत्र दैनिक





