१३ पुस, मनाङ।
हिमाली पारिस्थितिकीय प्रणालीको सूचक मानिएको लोपोन्मुख हिउँ चितुवाको तथ्यांक संकलन गर्ने उद्देश्यले यहाँ हिउँ चितुवा सर्वेक्षण जारी छ ।
राष्ट्रिय प्रकृति कोष र अन्नपूर्ण संरक्षण क्षेत्र परियोजना (एक्याप) मार्फत विज्ञसहित क्यामेरा ट्रयापिङबाट हिउँ चितुवाको अवस्था, गणना र वन्यजन्तुको अनुगमन भइरहेको छ । एक्याप क्षेत्रभित्र दुर्लभ तथा संकटग्रस्त वन्यजन्तु हिउँ चितुवाको अवस्था बुझ्न सर्वेक्षण गरिएको एक्याप आयोजना एकाइ प्रमुख ढकबहादुर भुजेलले जानकारी दिए ।
एक्याप अन्तर्गत नारफु, ङिस्याङ, खाङ्सार, तिलिचो, गुम्साङ, भिमथाङ आसपासका उच्च हिमाली भूभागमा गरिएको सर्वेक्षणले मनाङ हिउँ चितुवाको संभावित प्रमुख बासस्थानमध्ये एक रहेको विज्ञले पुष्टि गरेका छन् । हिउँ चितुवा हिमाली पारिस्थितिकीय प्रणालीको सूचक हो । ‘यसको उपस्थिति सुरक्षित छ भने उक्त क्षेत्रको सम्पूर्ण पारिस्थितिकीय प्रणाली सन्तुलन पनि राम्रो अवस्थामा रहेको मानिन्छ’, प्रमुख भुजेलले भने ।
मनाङको ङिस्याङ, नारफू र तिलिचो आसपासका क्षेत्र हिउँ चितुवाको संभावित बासस्थानका रूपमा पहिचान गरिएको उनले बताए । भुलेलका अनुसार क्यामेरा ट्रयाप, पदचिह्न, मल (स्क्याट) संकलन र स्थानीय गोठालाको अनुभवका आधारमा सर्वेक्षणका लागि क्यामेरा जडान गरिएको छ ।
सर्वेक्षणमा संलग्न वन्यजन्तु तथा वातावरण विज्ञका अनुसार हिउँ चितुवाको संरक्षण केवल एउटा वन्यजन्तु जोगाउने विषयमात्र नभई सम्पूर्ण हिमाली पारिस्थितिकीय प्रणाली, स्थानीय जीविकोपार्जन र भविष्यको पर्यटनसँग प्रत्यक्ष जोडिएको विषय हो । समुद्री सतहबाट करिब ३ हजार २ सय मिटरदेखि ५ हजार २ सय मिटरभन्दा बढी उचाइका मनाङ ङिस्याङ उपत्यका, भीमथाङ उपत्यका र नारफु उपत्यकालाई तीन क्षेत्रमा विभाजन गरी अध्ययन गरिरहेको भुजेलले जानकारी दिए ।
यी क्षेत्रमा अल्पाइन घाँसेमैदान, शंकुधारी वन प्याच, सुक्खा नदीक्षेत्र, रिजलाइन र जनावरका बाटो समावेश गरिएका छन् । हिउँ चितुवा र तिनीहरूको सिकारका लागि प्रमुख बासस्थान हुन् । यस क्षेत्रमा कूल १ सय २९ क्यामेरा जडान गरिएको भुजेलले बताए ।
मनाङ ङिस्याङ उपत्यकामा ५७, भीमथाङ उपत्यकामा २९ र नारफु उपत्यकामा ४३ क्यामेरा जडान गरिएको छ ।
क्यामेराले हिमाली ब्वाँसाको अध्ययन गर्ने अन्तर्राष्ट्रिय अनुसन्धानकर्तासँगको सहकार्यात्मक प्रयास पनि समावेश गरी सर्वेक्षण भइरहेको छ । अनुसन्धानकर्ताले २२ क्यामेरा र तथ्यांक आदानप्रदान गरिरहेको एक्यापले जनाएको छ । ‘हिउँ चितुवा सुरक्षित छ भने त्यसको अर्थ नाउर, झारलजस्ता सिकार प्रजाति, घाँसेमैदान र समग्र हिमाली वातावरण पनि सन्तुलित अवस्थामा छ भन्ने बुझिन्छ’, भुजेलले भने ।
गत वर्षको १४ सन् अक्टोबरमा सुरू भएको अनुगमन अध्ययनले विगतमा हिउँ चितुवा विवरण अध्ययनमा पहिचान गरिएका ग्रिड कोषलाई भीमथाङ उपत्यकासहित अन्नपूर्ण–मनास्लु क्षेत्र प्रमुख हिउँ चितुवा समेटेको छ । यस अध्ययनका लागि प्रकृति संरक्षण कोष र एक्यापले मनाङ ब्लकलाई १४ ग्रिड कोषमा विभाजन गरी प्रत्येकको मापन ५×५ वर्ग किलोमिटर रहेको जनाएको छ ।
निष्पक्ष र व्यवस्थित तथ्यांक संकलन सुनिश्चित गर्न प्रत्येक ग्रिडभित्र अनियमित रूपमा क्यामेरा ट्रयापिङका लागि जडान गरिएको छ ।
मानव बस्ती र पूर्वाधारबाट टाढा जनावरका बाटो, रिजलाइन, वन क्षेत्र, पानीका स्रोत र ज्ञात वा संकास्पद सिकारस्थलमा क्यामेरा ट्रयापिङ गरिएको एक्यापले जनाएको छ ।
हिउँ चितुवाको संख्या अनुमान र पारिस्थितिकीय प्रणालीको विश्लेषणलाई समर्थन गर्न प्रत्येक ग्रिड सेलभित्र सिकार प्रजातिको तथ्यांक रेकर्ड गरिरहेका छन् । क्यामेरा, ब्याट्री, मेमोरी कार्ड, पन्जा, सिलिका जेल, स्क्याट संकलन ट्युव र तथ्यांक रेकर्डिङ फारमलगायतका उपकरण जडान गरिएको छ ।
भुजेलले भने, ‘प्रारम्भिक सर्वेक्षणले यस क्षेत्रमा हिउँ चितुवाको संख्या करिब ५० भन्दा बढी अनुमान गरेको छ । सर्वेक्षण जारी रहेकाले अन्तिम तथ्यांक आउन बाँकी छ ।’ हिमाली ब्वाँसो, रातो स्याल, नीलो भेडा, कस्तुरी मृग, पहेँलो घाँटी भएको मार्टेन्स, हिमाली सेरो, घोरल र चितुवा बिरालोजस्ता विविध वन्यजन्तु प्रजातिको जडान गरेको क्यामेराले रेकर्ड गरेको सर्वेक्षणकर्ताले जनाएका उनले जानकारी दिए । जसले स्वस्थ र सन्तुलित पहाडी पारिस्थितिक प्रणालीलाई प्रतिविम्बित गरेको छ ।
क्यामेरा ट्रयापिङ, स्क्याट सर्वेक्षण र सिकार मूल्यांकनमार्फत संकलन गरिएको तथ्यांकले मानव वन्यजन्तु द्वन्द्व हटस्पट पहिचान गर्न महत्वपूर्ण भूमिका रहने अपेक्षा गरिएको छ । यसमा सुधारिएको पशुपालन अभ्यास, सिकार न्यूनीकरण, मौसमी चरन व्यवस्थापन र सहअस्तित्वमा केन्द्रित सामुदायिक जागरूकताजस्ता कार्यक्रमले नागरिकमा सचेतना फैलिएको छ ।
जसले हिउँ चितुवाको संरक्षणमा टेवा पुगेकाले संख्या बढ्न सक्ने सर्वेक्षणकर्ताले अनुमान गरेको एक्यापले जनाएको छ । एनआरसिए, एनटिएनसी एक्याप मनाङका प्रकाश अधिकारी, राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका संरक्षण अधिकृत गोपाल खनाल, एनटिएनसी एक्याप मनाङका ओमबहादुर गुरूङ, ज्ञानबहादुर गुरूङ, यामबहादुर गुरूङ र भक्तसिं गुरूङको सहयोगमा सर्वेक्षण भइरहेको जनाइएको छ ।
रासस





