१ पुस, चितवन।
मुलुकमा प्रत्येक ४ वर्षमा गरिने बाघको गणना आज (१ पुस) देखि सुरू भएको छ ।
चितवनको सौराहामा आयोजित औपचारिक कार्यक्रममार्फत बाघ गणना आरम्भ भएको हो । वन तथा वातावरण मन्त्रालयलअन्तर्गतको राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागको नेतृत्व र वन तथा भूसंरक्षण विभागको समन्वयमा गरिने बाघ गणनामा राष्ट्रिय प्रकृति संरक्षण कोष (एनटिएनसी), विश्ववन्यजन्तु कोष (डब्लुडब्लुएफ) नेपाल र जिओलोजीकल सोसाइटी अफ लण्डन (जेडएसएल) नेपालको सहयोग रहेको छ ।
त्यस्तै गणनामा नेपाली सेना, मध्यवर्ती तथा सामुदायिक वन उपभोक्ता समितिलगायत सहयोगीका रुपमा परिचालित हुने गरेका छन् । जम्मा २ ५० जना प्राविधिक कर्मचारी देशभर खटिएर साढे २ देखि ३ महिनाभित्र गणना सम्पन्न गर्ने योजना रहेको निकुञ्ज विभागले जनाएको छ ।
गणनामा १ हजार १ सय अत्याधुनिक क्यामेराको प्रयोग गरिने र बाघको फोटो संकलन गरेर विश्लेषण गरी संख्या एकिन गरिने विभागका महानिर्देशक बुद्धिसागर पौडेलले जानकारी दिए ।
निकुञ्ज विभागका अनुसार गणनामा जनशक्ति परिचालन, मेमोरी कार्ड, टेन्ट, सिल्पिङ ब्यागलगायत लजिस्टिक सामानका लागि करिब ३ करोड रूपैयाँ खर्च लाग्ने बताइएको छ । त्यसैगरी, क्यामेरा भने यसअघिकै खरिद गरिएका सबै १ हजार १ सय क्यामेरा प्रयोग गर्न लागिएको हो ।
जुन प्रतिक्यामेराको मूल्य करिब ३५ हजार रूपैयाँ रहेको छ । नेपालले स्वचालित क्यामेरा ट्रयापबाट प्रणालीबद्ध रूपमा बाघ गणना गर्न थालेको सन् २००९ देखि हो । उक्त गणनाअनुसार नेपालमा १ सय २१ वटा बाघ रहेका थिए ।
त्यसअघि बाघका खुट्टाका छाप तथा पदमार्गको अनुमानका आधारमा गणना गरिन्थ्यो र त्यो पनि राष्ट्रियस्तरमा नभई निकुञ्जमा सीमित हुन्थ्यो । सन् २००९ यता हरेक ४ वर्षमा बाघको सर्वेक्षण हुँदै आएको छ । बाघ संरक्षण कार्ययोजनामा उल्लेख भएअनुसार सन् २०१३, २०१८ र २०२२ मा गणना सम्पन्न भइसकेको छ ।
अहिले सन् २०२६ का लागि गणना हुनलागेको हो । बाघको सर्वेक्षण खासगरी हिउँदको समयमा गरिन्छ । किनभने यो चिसो समयमा बाघ सुक्खा ठाउँमा र झाडी नभएको खुला क्षेत्रमा बढी हिँडडुल गर्ने भएकाले क्यामेरामा ट्रयाप गर्न सहज हुने निकुञ्ज विभागका सूचना अधिकारी वरिष्ठ इकोलोजिष्ट हरिभद्र आचार्यले जानकारी दिए ।
उनका अनुसार गणनाका लागि सो क्षेत्रमा २ वर्गकिलोमिटर क्षेत्रफलमा स्वचालित क्यामेरा राखिन्छ र उक्त क्यामेराले २४सै घण्टा जुनसुकै वस्तु चलायमान हुँदा स्वाचालित रूपमा तस्बिर लिएर रेकर्ड गर्छ ।
पुस ३ गतेदेखि क्यामेरा राखिने
‘गणनाका खटिने टोलीलाई क्यामेरा जडान गर्न र निकाल्न १ साताको समय लाग्छ भने ट्रयापिङका लागि कम्तीमा १५ दिन राखिन्छ । यही पुस १ र २ गते औपचारिक उद्घाट्न तथा ओरियन्टेसन कार्यक्रम रहेको छ । यही ३ पुसदेखि फिल्डमा गएर क्यामेरा ओछ्याउने काम सुरू हुन्छ’, वरिष्ठ इकोलोजिष्ट आचार्यले भने ।
क्यामेरा ओछ्याउन सहजताका लागि बाघ पाइने क्षेत्रलाई सिस्टमेटिक बनाउनलाई ब्लकमा विभाजन गरिएको छ । चितवन–पर्सा, बाँके–बर्दिया र शुक्लाफाँटा–लालझाडी गरी मुख्य ३ ब्लकमा विभाजन गरिएको छ । हरेक ब्लकलाई फेरि क्याम्प–क्याम्पमा बाँडेर प्राविधिक कर्मचारी खटाएर क्यामेरा राख्ने काम गरिन्छ । एउटा पाटे बाघको पाटा अर्काेसँग नमिल्ने र फोटोमा कुनै द्विविधा नहुने भएकाले यस प्रविधिको गणनालाई वैज्ञानिक मानिन्छ ।
क्यामेराबाट तथ्यांक आइसकेपछि निकुञ्ज विभागमै विश्लेषण र जम्मा गरी संख्या यकिन गरिन्छ । अन्तिम परिणाम आगामी जुलाई २९ अर्थात् अन्तर्राष्ट्रिय बाघ दिवसका दिनसम्म प्रतिवेदन सार्वजनिक गर्ने भन्ने योजना रहेको आचार्यले बताए ।
निकुञ्ज विभागले बाघ गणना सम्पन्न भएपछि गैँडाको पनि गणना गर्ने तयारी रहेको जनाएको छ । त्यस्तै सम्बन्धित निकुञ्जले बाघ र गैँडाको जस्तो नियमित र राष्ट्रियस्तरको नभए पनि चितवन र बर्दियामा घडियाल गोही, पर्सा र चितवनमा गौरी गाई र कोशीमा अर्नाको गणना गर्ने गरेका छन् ।
नेपालले धान्न सक्ने बाघको संख्या कति ?
पाटे बाघ विश्वका १३ देशमा पाइन्छन् । यी मुलुकका सरकार तथा राष्ट्र प्रमुखको सन् २०१० मा रूसको सेन्टपिटर्सवर्गमा भएको सम्मेलनले बाघको संख्यालाई सन् २०२२ सम्ममा दोब्बर बनाउने प्रतिबद्धता व्यक्त गरेको थियो । नेपालबाहेक भारत, चीन, भुटान, रूस, बंगलादेश, भियतनाम, म्यान्मा, मलेसिया, इन्डोनेसिया, थाइल्याण्ड र लाओसमा पाटेबाघ पाइन्छन् ।
उक्त सम्मेलनमा नेपालले सन् २००९ को गणनाअनुसार नेपालमा रहेका तत्कालीन बाघको संख्या एक सय २१ लाई बढाएर दोब्बर पुर्याउने प्रतिबद्धता जनाएको थियो । हाल नेपालमा बाघको संख्या बढेर त्यसको झण्डै तेब्बर पुगेको छ ।
नेपालमा बाघको संख्या लक्ष्यभन्दा धेरै वृद्धि भएसँगै यिनको व्यवस्थापन, मानव–बाघ द्वन्द्व, बासस्थानलगायत विविध चुनौतीसमेत देखिएका छन् । मध्यवर्ती क्षेत्रका स्थानीय घाँस दाउरा, निहुरो टिप्न र गाईभैँसी चराउन जाने क्रममा बाघको आक्रमणमा पर्ने गरेका छन् । त्यस्तै कतिपय अवस्थामा बाघको चोरीसिकारी हुने, स्थानीय जनताको आक्रोशको निशानामा पर्ने र ठूला तथा लामा पूर्वाधारमा वारपार गर्ने क्रममा बाघ मर्नेक्रम पनि बढेको छ ।
वर्तमान अवस्थामा नेपालमा बाघको संख्याको आवश्यकताका बारेमा समेत बहस सुरू भएको छ । कतिपयले वातावरणीय क्षमताका हिसाबले नेपालमा बाघको संख्या बढी भएको तर्क गरेका छन् भने कतिपयले बाघको संख्याको ‘धान्ने क्षमता’ (क्यारिङ क्यापासिटी) र आहारा तथा बासस्थानको गुणस्तरका बारेमा समेत गहिरो अध्ययन हुनुपर्नेमा जोड दिएका छन् ।
नेपालमा बाघको संख्या ‘धान्ने क्षमता’का बारेमा हाल मन्त्रालयसँगको समन्वयमा राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभाग, राष्ट्रिय प्रकृति संरक्षण कोष (एनटिएनसी), विश्ववन्यजन्तु कोष (डब्लुडब्लुएफ) नेपाल र जिओलोजीकल सोसाइटी अफ लण्डन (जेडएसएल)लगायत संस्थाले अध्ययन गरिरहेका छन् ।
राष्ट्रिय प्रकृति संरक्षण कोष (एनटिएनसी) का सदस्य–सचिव डा. नरेश सुवेदीले मुलुकको पर्यापर्यटनमा बाघको सबैभन्दा बढी महत्व रहेकोे उल्लेख गर्दै बाघको उचित व्यवस्थापनमा जोड दिए । उनले भने, ‘वन मन्त्रालयसँग मिलेर हामीले बाघ संरक्षणका सवालमा स्थानीय समुदायमा जनचेतना जगाउने र आर्य–आर्जनलगायत सीपमूलक तालिम तथा कार्यक्रम गर्दै आएका छौँं ।’ पर्या–पर्यटन प्रवद्र्धन गर्न र मानवसँगको द्वन्द्व रोकथामका लागि मानव–बाघ सहअस्तित्वका कार्यक्रम सञ्चालन गर्नुपर्नेमा उनले जोड दिए ।
जेडएसएलका राष्ट्रिय प्रतिनिधि डा. भगवानराज दाहालले भने, ‘अहिले नै बाघको संख्या बढी भयो भन्न मिल्दैन, बरू बाघलाई आफ्नो बासस्थानमा अडिनका लागि गुणस्तरीय आहारा वृद्धि गर्न पानीका स्रोत र घाँसेमैदान बढाउनतर्फ लाग्नुपर्छ ।’ पछिल्लो सन् २०२२ को गणनाअनुसार सबैभन्दा बढी बाघ चितवन निकुञ्जमा एक सय २८ वटा र बर्दिया राष्ट्रिय निकुञ्जमा एक सय २५ बाघ रहेका छन् । त्यस्तै बाँकेमा २५, पर्सामा ४१ र शुक्लाफाँटामा ३६ वटा बाघ रहेको मन्त्रालयको तथ्यांक छ ।
नेपालले विसं २०६७ देखि बाघ दिवस मनाउँदै हरेक ४ वर्षमा राष्ट्रियस्तरमा बाघ गणनासमेत गर्दै आएको छ । नेपालमा बाघको संख्या सन् १९९५ मा ९८, सन् २००० मा १ सय ९, सन् २००५ मा १ सय २६, सन् २००९ मा १ सय २१, सन् २०१३ मा १ सय ९८ र सन् २०१८ मा बाघको संख्या बढेर २ सय ३५ पुगेको थियो ।
विश्वजन्तु कोष नेपालका राष्ट्रिय प्रतिनिधि डा. घनश्याम गुरूङले बाघ पर्यापर्यटनको ठूलो धरोहर भएको बताउँदै सबै मिलेर यसको संरक्षणमा लाग्नुपर्ने बताए । मानव–बाघ द्वन्द्व न्यूनीकरणका लागि जंगल वरपरका स्थानीयलाई जंगल नपस्ने गरी जीविकोपार्जनको विकल्प दिनुपर्ने, स्थानीयको वन्यजन्तुप्रति गर्ने आनीबानीमा परिवर्तन गर्नुपर्ने उनको सुझाव छ ।
देशभरका खोरमा १८ समस्याग्रस्त बाघ
बाघको संख्यामा उल्लेख्य वृद्धि भएसँगै राष्ट्रिय निकुञ्ज, संरक्षण क्षेत्र र आसपासका क्षेत्रमा समस्याग्रस्त बाघको समस्या पनि बढ्दो छ । खासगरी मानव बस्तीमा पसेका, मानव तथा घरपालुवा जनावरलाई आक्रमण गरेका र घाइते अवस्थामा भेटिएका बाघलाई उद्धार गरेर खोरमा राख्ने गरिएको छ ।
हाल मुलुकभर यस्ता समस्याग्रस्त बाघको संख्या १८ छ । तीमध्ये ललितपुरको जावलाखेलस्थित सदर चिडियाखानामा ५, चितवन राष्ट्रिय निकुञ्जमा ७, बर्दिया राष्ट्रिय निकुञ्जमा ४, बाँके र पर्सा राष्ट्रिय निकुञ्जमा १–१ बाघ खोरमा राखिएका छन् । यस्ता बाघको दैनिक आहारा, हेरचाह, उपचार र अन्य व्यवस्थापनमा बर्सेनि सरकारको ठूलो रकम खर्च हुँदै आएको छ ।
सन् २०२५ पछिल्लो तथ्यांकअनुसार विश्वमा बाघको संख्या बढेर पाँच हजार ३ सय ५७ पुगेको छ । त्यसमध्ये सबैभन्दा बढी भारतमा ३ हजार १ सय ६७, रूसमा ७ सय ५०, इण्डोनेसियामा ४ सय, नेपालमा ३ सय ५५, थाइल्याण्डमा १ सय ८९, भुटान १ सय ५१, मलेसियामा १ सय ५०, बंगलादेशमा १ सय ४६, म्यान्मामा २२, चीनमा २०, भियतनाममा ५ र लाओसमा २ वटा बाघ छन् ।
भीष्मराज ओझा/ रासस





