Friday, October 25, 2024

चिनियाँ प्रविधी मार्फत तालको संरक्षण

म्याग्दी– म्याग्दी जिल्लाको मालिका गाउँपालिका–५, देवीस्थानको मगर दाङमा रहेको सुन्दर गाईखर्क तालको संरक्षणका लागि स्थानीयले चिनियाँ प्रविधिको प्रयोग गरेका छन् ।
संरक्षण र पूर्वाधार अभावका कारण जीर्ण बन्दै गएको ताललाई चिनियाँ प्रविधि (३३ वटा बोरामा माटोसँगै बाँसको प्रयोग गरी पर्खाल लगाउने विधि) प्रयोग गरी संरक्षण थालिएको हो ।
यस्तो विधिमार्फत तालको क्षेत्रफल र गहिराइ बढाउने, आसपासका क्षेत्रमा तटबन्धन गर्नेलगायत आवश्यक पूर्वाधार निर्माणको काम शुरु गरिएको छ । गाउँपालिका र वडा कार्यालयको सहयोगमा स्थानीय युवा क्लब लगायतका सामाजिक संघसंस्थाको सहयोगमा संरक्षणको काम शुरु गरिएको सूर्यमुखी युवा क्लब घरथोकका सदस्य दीप मगरले जानकारी दिए । ‘पर्यटकीय सम्भावना बोकेको तालको संरक्षणमा स्थानीयले पहल गरे पनि बजेटको अभाव थियो,’ उनले भने । ताल संरक्षणमा गाउँपालिकाले चालू आवमा रु पाँच लाख विनियोजन गरेको छ भने स्थानीयलेसमेत आर्थिक सहयोग र जनश्रमदान गरेका छन् । करीब ४७÷४७ मिटर लम्बाइ, चौडाइ तथा तीन मिटर गहिराइ भएको तालको लम्बाइ चौडाइ बढाएर ५५÷५५ मिटरको बनाउन लागिएको वडाध्यक्ष पिपला बुढाथोकीले बताए ।
गोलो आकारको तालको पृष्ठभूमिमा धौलागिरि गुर्जा, चुरेनलगायतका हिमालको दृष्य अवलोकन गर्न सकिन्छ । हिमालको छायाँ परेको मनमोहक दृष्य अवलोकन गर्न सकिने तालको संरक्षण र प्रवद्र्धन गरी पर्यटकीय गन्तव्यस्थलका रुपमा विकास गर्ने योजना रहेको गाउँपालिका अध्यक्ष श्रीप्रसाद रोकाले जानकारी दिए । रासस

ताजा समाचार

सम्बन्धित समाचार