४ जेठ, काठमाडौँ ।
हिमाल र पर्वतीय क्षेत्रका मुद्दामा अन्तर्राष्ट्रिय हातेमालो औँल्याउँदै ‘सगरमाथा संवाद’ समापन भएको छ ।
जलवायु जोखिममा रहेका देशहरूलाई द्विपक्षीय, बहुपक्षीय र वैकल्पिक स्रोतबाट, वित्तीय संयन्त्र सञ्चालन निकाय, अन्तर्राष्ट्रिय जलवायु वित्तमा समान र सरलीकृत पहुँच सुनिश्चित गर्न, सामूहिक प्रयासलाई प्रोत्साहित गर्न संवादले आह्वान गरेको छ ।
गत शुक्रबार (२ जेठमा) सुरू भएको ३ दिने अन्तर्राष्ट्रिय जमघट २५ बुँदे ‘सगरमाथा कार्य आह्वान’ जारी गर्दै आइतबार (४ जेठमा) सम्पन्न भएको हो । ‘जलवायु परिवर्तन, हिमाल र मानवजातिको भविष्य’ विषयक संवादको पहिलो संस्करण जलवायु परिवर्तन र पर्वतीय मुद्दा केन्द्रित जमघट नेपालले पहिलो पटक आयोजना गरेको हो ।
जलवायुजन्य विपद्हरूलाई सम्बोधन गर्न र हिमनदी, जलस्रोत, वन र कृषि प्रणाली संरक्षणका लागि विज्ञान, प्रविधि र नवप्रवर्तनमा आधारित समाधानहरूलाई प्रवद्र्धन गर्ने लगायतका बुँदा आह्वानमा उल्लेख छ । हिमालदेखि टापु राष्ट्र (हाइल्याण्ड टु आइल्याण्ड) का मुद्दा एउटै जमघटमा आदान प्रदान गर्न, समस्या समाधानका लागि साझा धारणा तय गर्न ३० भन्दा बढी मुलुकका प्रतिनिधि संवादमा सहभागी भए ।
जलवायु परिवर्तनको जोखिम घटाउन पर्वतदेखि टापु राष्ट्रलाई जोड्ने, हरित अर्थतन्त्र प्राथमिकता, जलवायुजन्य हानिनोक्सानीबाट बच्ने, न्यूनीकरण र सम्बोधन गर्ने उपाय खोज्न यो जमघट सफल बनेको परराष्ट्र मन्त्रालयका सचिव अमृतबहादुर राईले बताए । नेपालका मुद्दा अन्तर्राष्ट्रियकरण गर्न, हिमालदेखि टापु राष्ट्रहरूबीच सहकार्य गर्ने वातावरण बनाउन हामी सफल भएका छौँ, संवादपछिको पत्रकार सम्मेलनमा उनले भने, ‘यो विषय हिमाली क्षेत्रको मात्र नभई टापुसम्मका समुदायकोे चासोको विषय भएको छ ।’
संवादले प्राथमिकता तय गरेका विषयहरू संयुक्त राष्ट्र संघको महासभा, यसै महिनाको अन्त्यमा ताजकिस्तानमा हुने हिमनदी संरक्षणसम्बन्धी उच्चस्तरीय अन्तर्राष्ट्रिय सम्मेलन, जलवायु परिवर्तन सम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलन कोप–३० लगायत मञ्चमा उठाइने उनले बताए ।
संवादको पूर्ण सत्रमा १९ देश र निकायका प्रतिनिधिले जलवायु संकट समाधानमा एकता र ऐक्यबद्धताका लागि आह्वान गरे । संवादमा विभिन्न १२ विषयका समानान्तर सत्र भए । संवादको दोस्रो संस्करण २ वर्षपछि (सन् २०२७ मा) हुने बताइएको छ ।