Wednesday, July 9, 2025

हाइल्याण्ड टु आइल्याण्डका मुद्दा केन्द्रित सगरमाथा संवाद आजदेखि

२ जेठ, काठमाडौँ ।
नेपालले भोगिरहेको जलवायुजन्य जोखिम र पर्वतीय मुद्दा केन्द्रित सगरमाथा संवाद आज (२ जेठ)देखि काठमाडौँमा सुरु हुँदै छ ।

३ दिने अन्तर्राष्ट्रिय जमघट जलवायु परिवर्तनले गराएको क्षति, सम्भावित जोखिम रोक्ने र जलवायुजन्य जोखिममा अन्तर्राष्ट्रिय न्याय माग्न संवाद केन्द्रित हुने छ । हिमालदेखि टापु राष्ट्र (हाइल्याण्ड टु आइल्याण्ड) का मुद्दा एउटै जमघटमा आदान प्रदान गर्न २० भन्दा बढी मुलुकका प्रतिनिधि काठमाडौँ आएका छन् ।

१२ देशबाट मन्त्रीस्तरीय प्रतिनिधिमण्डल नेपाल आएका संवाद सचिवालयले जनाएको छ । भारतबाट वातावरण, वन तथा जलवायु परिवर्तनमन्त्री भूपेन्द्र यादव नेतृत्वको टोली बिहीबार नेपाल आएको छ ।

पहिलो संस्करणको यो संवाद ‘जलवायु परिवर्तन, हिमाल र मानवताको भविष्य’ अवधारणामा केन्द्रित छ । जलवायु परिवर्तनको जोखिम घटाउन पर्वतदेखि टापु राष्ट्रलाई जोड्ने, हरित अर्थतन्त्र प्राथमिकता, जलवायुजन्य हानिनोक्सानीबाट बच्ने, न्यूनीकरण र सम्बोधन गर्ने उपाय खोज्न संवाद केन्द्रित हुने छ ।

साथै, जलवायु न्याय तथा मानव भविष्यको लागि आवाज उठाउने, विश्वव्यापी तथा क्षेत्रीय साझेदारी बढाउने संवादका मुख्य मुद्दा छन् । जो जमघटमा सहभागी हुन चिनियाँ राष्ट्रिय जनकंग्रेसका स्थायी समिति उपाध्यक्ष सियाओ जिए, कोप–२९ का अध्यक्ष एवं अजरबैजानका पारिस्थितिकी तथा प्राकृतिक स्रोतमन्त्री मुख्तार बाबायेभ नेपाल आएका छन् ।

जापानबाट संसदीय उपविदेशमन्त्री इकुइना अकिको, भुटानबाट ऊर्जा तथा प्राकृतिक स्रोतमन्त्री जेम छिरिङ, माल्दिभ्सबाट पर्यटन तथा वातावरणमन्त्री थोरिक इब्राहिम र बेलायतबाट उपविदेशमन्त्री ब्यारोनेस सुसान हेमन लगायतका प्रतिनिधि सहभागी हुने परराष्ट्र मन्त्रालयले जनाएको छ ।

ताजा समाचार

सम्बन्धित समाचार