३१ वैशाख, भारत ।
भारतको गोरखपुरस्थित ‘शहीद अशफाक उल्लाह खान चिडियाखाना’ मा बर्ड फ्लुले बाघको मृत्यु भएपछि उत्तर प्रदेशका सबै चिडियाखाना बन्द गरिएको छ ।
वयस्क पोथी बाघको मृत्युपछि सो राज्यका सबै चिडियाखाना र सफारी पार्क एक साताका लागि बन्द गरिएको हो । आगामी साता (६ जेठ सम्मका) लागि त्यहाँका चिडियाखाना र सफारी पार्कमा सर्वसाधारणलाई प्रवेशमा रोक लगाइएको छ ।
निकुञ्जले आवश्यक स्वास्थ्य सावधानी अपनाउँदै कर्मचारीको स्वास्थ्य परीक्षण गरिरहेको इटावा लायन सफारी पार्कका निर्देशक अनिलकुमार पटेलले बताएका छन् । ‘हामी सबै सावधानी अपनाइरहेका छौँ । हाम्रो निकुञ्जका कुनै पनि जनावरमा बर्ड फ्लुको लक्षण देखिएको छैन’, उनले भारतीय सञ्चार माध्यमहरूसँग भने ।
उत्तर प्रदेशका वनमन्त्री अरूण सक्सेनाले पनि चिडियाखानामा बर्ड फ्लुको पुष्टि हुने बित्तिकै आफ्नो राज्यका चिडियाखाना हप्ताका लागि बन्द गरिएको बताएका छन् ।