Thursday, June 5, 2025

को–को आउँदैछन् सगरमाथा संवादमा ?

३० वैशाख, काठमाडौँ ।
सगरमाथा संवादमा विभिन्न २३ देशका उच्चस्तरीय पाहुना सहभागी हुने भएका छन् ।

१२ देशबाट मन्त्रीस्तरीय प्रतिनिधिमण्डल नेपाल आउने टुंगो लागेको हो ।

भारतबाट वातावरण, वन तथा जलवायु परिवर्तनमन्त्री भूपेन्द्र यादव नेतृत्वको टोली नेपाल आउने छ भने चीनबाट १४औँ राष्ट्रिय जन कांग्रेस (एनपिसी)का स्थायी कमिटी उपाध्यक्ष सियाओ जीको नेतृत्वमा टोली सहभागी हुनेछ ।

सियाओ चीनका पूर्वस्टेट काउन्सिलर र पूर्वअर्थमन्त्री हुन् । नेपाल सरकारको आयोजनामा आगामी २ देखि ४ जेठसम्म काठमाडौँमा सगरमाथा संवादको पहिलो संस्करणमा हुँदैछ । परराष्ट्र मन्त्रालयले सार्क र बिमस्टेक सहित अन्य राष्ट्रका राष्ट्रध्यक्ष र सरकार प्रमुखहरूलाई संवादका लागि निम्तो पठाए पनि यो जमघटमा कुनै पनि देशका अतिविशिष्ट पाहुना आउने छैनन् ।

संवादमा करिब १ सय ७५ जना विदेशी पाहुनासहित त्यत्तिकै संख्यामा नेपाली प्रतिनिधिमण्डल सहभागी हुने परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले बताइन् । यसबारेमा जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा उनले भनिन्, ‘सरकार र राष्ट्र प्रमुख र सरकार प्रमुखहरू सहभागी नभए पनि हामीले निमन्त्रणा दिएका देशहरूले विषयको महत्व बुझेका मन्त्री र विज्ञहरूलाई नेपाल पठाउँदै छन् ।’

संवाद सचिवालयका अनुसार संवादमा विभिन्न ६१ देशका अन्तर्राष्ट्रिय संघसंस्थाका प्रतिनिधित्व रहने छ । बहराइन र पाकिस्तानबाट मन्त्रीस्तरीय प्रतिनिधिमण्डल आउने खबर पाएको सचिवालयले यी देशबाट आउने पाहुनाको आधिकारिक नाम प्राप्त गरेको छैन ।

अजरबैजानका पर्यावरण तथा प्राकृतिक स्रोतमन्त्री मुख्तार बाबायेभ नेतृत्वको प्रतिनिधिमण्डल नेपाल आउने छ । बाट जलवायु परिवर्तन सम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलन (कोप २९) आयोजक राष्ट्रका नाताले सरकारले सो मुलुकलाई प्राथमिकता दिएर नेपाल बोलाएको हो ।

त्यसैगरी, बंगलादेशबाट समाज कल्याण मन्त्रालय र महिला तथा बालबालिका मन्त्रालयकी सल्लाहकार शर्मिन सोनेया, भुटानबाट ऊर्जा तथा प्राकृतिक स्रोतमन्त्री जेम छेरिङको नेतृत्वमा टोलीले संवादमा सहभागी जनाउनेछ ।

माल्दिभ्सका पर्यटन तथा वातावरणमन्त्री थोरिक इब्राहिम, जापानबाट उप–विदेशमन्त्री इकुइना अकिको, युनाइटेड अरब इमिरेट्सबाट ऊर्जा तथा दिगोपन सहायक विदेशमन्त्री अब्दुल्ला बालाला, बेलायतबाट उप–विदेशमन्त्री ब्यारोनेस सुसान हेमन र कतारबाट विशेषदूत तथा जलवायु परिवतनसम्बन्धी उप–विदेशमन्त्री बहर उमर अल दाफा सगरमाथा संवादमा सहभागी हुनेछन् ।

किर्गिजस्तानबाट पर्वतीय क्षेत्र विकासका लागि आगामी ५ वर्षको कार्ययोजना कार्यान्वयनका लागि राष्ट्रपतिका विशेष प्रतिनिधि दिनारा केमेलोभा, ओमानबाट राजदूत इस्सा बिन सालेह अल शिबानी, ब्राजिलबाट कार्लोस अल्बर्टो, इजिप्टबाट राजदूत नोहा हम्दी अहमद एलगेबाली, सार्कका महासचिव मोहम्मद गोलम सरवर, बिमस्टेकका महासचिव इन्द्रमणि पाण्डे, संयुक्त राष्ट्रसंघ (नेपाल)का तर्फबाट हाना सिंगर हम्दी, विश्व बैंकका दक्षिण एसिया क्षेत्रीय उपाध्यक्ष मार्टिन रायसर र एसियाली विकास बैंक (एडीबी)का क्षेत्रीय उपाध्यक्ष फातिमा यास्मिन पनि संवादमा सहभागी हुने विशिष्ट पाहुनाको सूचीमा छन् ।

ताजा समाचार

सम्बन्धित समाचार