Monday, February 9, 2026

माडीमा सुरू भयो सालक सम्मेलन

२६ माघ, चितवन।

नेपालमा पहिलोपटक सालक सम्मेलन चितवनको माडीमा सुरू भएको छ । वाग्मती प्रदेश सरकारको वन तथा वातावरण मन्त्रालयको आयोजना तथा डिभिजन वन कार्यालयको संयोजनमा सम्मेलन आयोजना गरिएको हो ।

डिभिजन वन कार्यालय प्रमुख विष्णुप्रसाद आचार्यकाअनुसार सम्मेलनमा राष्ट्रिय निकुञ्जका प्रमुख, वाग्मती प्रदेशअन्तर्गतका डिभिजन वन कार्यालयका प्रमुखहरू, वन्यजन्तु संरक्षण विभाग, सामुदायिक वनका प्रतिनिधि, वन्यजन्तु संरक्षणका क्षेत्रमा काम गर्ने विभिन्न संघ/संस्थाका प्रतिनिधि तथा विज्ञसहित २ सय भन्दा बढी सहभागी छन् ।

सम्मेलनमा संरक्षित वन्यजन्तु सालकको वर्तमान अवस्था, संरक्षणको आवश्यकता, चुनौती तथा भावी रणनीतिका विषयमा छलफल गरिने प्रमुख आचार्यले जानकारी दिए । उनले भने, ‘आगामी दिनमा वाग्मती प्रदेशको एक सशक्त संरक्षण प्रतीकका रूपमा सालकलाई अघि बढाउन सम्मेलनले महत्वपूर्ण भूमिका खेल्नेछ ।’

राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन, २०२९ ले सालकलाई संरक्षित वन्यजन्तुको सूचीमा राखेको छ । हाल सालक लोपोन्मुख अवस्थामा पुगेको छ । किसानको साथीका रूपमा परिचित सालकले बालीनालीमा हानिकारक कीराफट्याङ्ग्रा खाने भएकाले यसको संरक्षण अपरिहार्य रहेको आचार्यले बताए ।

प्रदेश सरकारले सालक संरक्षणका लागि नीति तथा कार्यक्रम बनाई कार्यान्वयन अघि बढाएको छ । आउँदो वर्षदेखि नियमित र योजनाबद्ध रूपमा सालक संरक्षणका कार्यक्रम सञ्चालन गर्ने वाग्मती प्रदेश सरकारको योजना रहेको जनाइएको छ ।

सालक एक स्तनधारी जनावर हो । विश्वमा सालकका आठ प्रजाति पाइन्छन् भने नेपालमा कालो (चाइनिज) र तामे (इन्डियन) गरी २ प्रजाति पाइन्छन् । सालक नेपालका ६१ जिल्लामा तथा बागमती प्रदेशका सबै जिल्लामा पाइने गरिएको तथ्यांक छ ।

वन्यजन्तु संरक्षण ऐन, २०२९ अनुसार सालकको चोरी सिकारी तथा अवैध व्यापारमा संलग्न भएमा गम्भीर अपराध मानिनेछ । दोषी ठहर भएमा १० लाख रूपैयाँसम्म जरिवाना तथा १५ वर्षसम्म कैद सजायको व्यवस्था रहेको छ । सालक निर्दोष र पारिस्थितिकीय दृष्टिले महत्वपूर्ण जनावर भएकाले यसको महत्व सबैले बुझ्न आवश्यक रहेको आचार्यले बताए ।


रासस

ताजा समाचार

सम्बन्धित समाचार